Trending :
 

अत्तरिया कप महिला क्रिकेट

राइजिङ क्रिकेट वुमनले जित्यो अत्तरिया कप महिला क्रिकेटको उपाधि

एपीएफसंग जित निकाल्दै राइजिङले २ लाख र ट्रफी हात पर्यो

बैशाख २७,२०७४

-

वैशाख २७ –

राइजिङ क्रिकेट वुमन काठमाडौंले मंगलबार सर्वाधिक धनराशिको रुस्लान अत्तरिया कप महिला क्रिकेटमा विभागीय टिम एपीएफ क्लबलाई १६ रनले पराजित गर्दै उपाधि जितेको छ ।

अत्तरिया स्थित एपीएफको खेल मैदानमा राइजिङले दिएको १५३ रनको लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन मात्रै बनाउन सफल भयो । एपीएफका लागि पुजा पाण्डेले ४८ रन बनाएपनि आफ्नो टिमलाई जित भने दिलाउन सकिनन् । एपीएफकी करुणा भण्डारीले २४ र सरिता मगरले २१ रन बनाए । सबै खेलमा उत्कृष्ट प्रदर्शन गरेका एपीएफका अन्य खेलाडीले फाइनलमा भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

टस जितेको राइजिङले २० ओभरमा ५ विकेट गुमाई १ सय ५२ रन बनाएको थियो । राइजिङका अलराउन्डर विदेशी खेलाडी पूजा निमाभाटले ३८ बल खेल्दै ४ चौका मद्दतमा ३७ रन बनाइन् । बंगलादेशी खेलाडी सहनाज प्रवीण २५, भारतीय शान्ता मुखर्जीले २३, शान्ति खतिवडाले २१, नेरी थापा र कप्तान आरती बिँडारीले १३/१३ रन जोडेका थिए । एपीएफबाट सरिता मगरले ३ तथा करणा भण्डारीले २ विकेट हात पारिन् ।

यसरी एपीएफसंग जित निकाल्दै राइजिङले २ लाख र ट्रफी हात पारेको छ । एपीएफले १ लाखमै चित्त बुझायो ।

राइजिङकी पूजा निमाभाट उत्कृष्ट खेलाडी घोषित हुँदै २५ हजार रुपैयाँ जित्न सफल भइन् ।

राइजिङकै साम्पा मुखर्जी उत्कृष्ट विकेटकिपर भइन् । एपीएफका ज्योति पाण्डे र सरिता मगर उत्कृष्ट ब्याट्सवुमन र बलर घोषित भए । दुवैले समान १० हजार पुरस्कार पाए ।