भूकम्पपछि सुनामी : इन्डोनेसियाको सुलावेसीमा मानवीय संकट
-
१६ असोज २०७५ काठमाण्डौ l
इन्डोनेसियाको सुलावेसी टापुमा गएको प्रलयकारी भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या सोमबारसम्म ८ सय ३२ पुगेको छ । इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन विभागका प्रवक्ता पुर्वो नुगरोहोले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् ।
शुक्रबार ७ दशमलव ५ म्याग्निच्युडको भूकम्प र त्यसपछि गएको सुनामीका कारण पूर्वी सुलावेसी टापुमा विध्वंस मच्चिएको थियो । ग्रामीण क्षेत्रमा सम्पर्क हुन नसकेका कारण मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको हो । उद्धारकर्मीहरूले जीवित रहेका तथा भवनहरूमा पुरिएकाहरूलाई बचाउने प्रयास गरिरहेका छन् ।
पालुमा ठूलो विध्वंस
भूकम्प र सुनामीको सबैभन्दा ठूलो प्रभाव पालु नगरमा परेको छ । पालुस्थित एक रिसोर्टमा मात्रै दर्जर्नौं व्यक्ति पुरिएको बताइएको छ । ‘सञ्चारको माध्यम सीमित छ । उद्धारका लागि आवश्यक स्रोत–साधनको कमी छ । धेरै भवन ढलेका छन्,’ विपद् व्यवस्थापन विभागका प्रवक्ता नुगरोहोले भनेका छन् । खाद्यान्न, पानी र इन्धनको अभावमा जनजीवन अस्तव्यस्त भएको छ । जसका कारण कालोबजारी र डकैती बढेको स्थानीयले बताएका छन् । रोकथामका लागि प्रहरीले निरन्तर अनुगमन गरिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । जीवित रहेकाहरू आफ्नो परिवारसँगै खुला स्थानमा टेन्टमुनि आश्रय लिएर बसिरहेका छन् ।
मृतकको सामूहिक अन्त्येष्टि
पालुस्थित पहाडमा उद्धारकर्मीहरूले शवको सामूहिक अन्त्येष्टि गरेका छन् । कालो, पहेँलो र सुन्तला रंगको झोलामा प्याक गरेर ती शव ल्याइएका थिए । धेरै मानिस अझै पनि भूकम्पमा गुमाएका आफ्नो प्रियजन फर्कने आसमा छन् । सुनामी आउनुअघिको समय पालुस्थित समुद्री किनारमा आफ्नी श्रीमतीसँग अँगालो हालेर बसिरहेका अदीले यस घटनापछि आफ्नी श्रीमती छालसँगै बगेको प्रतिक्रिया दिए । ‘जब छाल आयो, त्यसपछि उनी हराइन्,’ रुँदै उनले भने, ‘म पनि ५० मिटर टाढासम्म बगेको थिएँ ।’
मामबोरो स्वास्थ्यचौकीबाहिर एक पाँच वर्षीय बालिका आफ्नो भाँचिएको खुट्टाको उपचार गराउन स्ट्रेचरमा लडिरहेकी थिइन् । उपचारमा संलग्न डाक्टर सासोनोका अनुसार उनको परिवारका विषयमा केही जानकारी मिलेको छैन । ‘उनको परिवार कहाँ छ भन्ने कसैलाई थाहा छैन । उनी बताउन सक्ने अवस्थामा पनि छैनन्,’ सासोनोले भनिन्, ‘हामीसँग उपचारका लागि औषधिको खाँचो छ ।’
अस्पतालमा घाइतेको भिड
डा. सासोनोका अनुसार पालु नगरका धेरै स्थानीय स्वास्थ्यचौकीको अवस्था यस्तै छ । भवन भत्किएका कारण खुला आकाशमुनि टेन्ट राखेर उनीहरूले सेवा दिइरहेका छन् । प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वयंसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका काम पनि गरिरहेका छन् । भूकम्प र सुनामीले बस्ने घर, विद्यालय, मस्जिद, होटेल, पसललगायतका अधिकांश भौतिक संरचनामा क्षति पु(याएको छ । सरकारी अधिकारीले अझै पनि शक्तिशाली परकम्प आउने क्रम जारी रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय सहयोगका लागि राष्ट्रपतिको अपिल
विपद्पछि हजारौँ व्यक्ति बेपत्ता छन् । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडो आइतबार प्रभावित क्षेत्रको अनुमगनका लागि पुगेका थिए । त्यस क्रममा उनले भग्नावशेषमा पुरिएका तथा बेपत्ता भएकाहरूलाई बचाउनका लागि दिनरात खट्न सुरक्षाकर्मीलाई निर्देशन दिए । उनले पीडितको सहयोगका लागि अन्तर्राष्ट्रिय संघसंस्थासँग अपिल गरेका छन् ।
अष्ट्रेलीयाका प्रधानमन्त्री स्कट मोरिर्सनले विपद्को घडीमा आफ्नो देश इन्डोनेसियाको साथमा रहेको बताएका छन् । उनले आवश्यक सहयोगका लागि अष्ट्रेलीया तयार अवस्थामा रहेको जनाएका छन् । इन्डोनेसिया भूकम्प र सुनामीका लागि जोखिमयुक्त क्षेत्र हो ।
यसै वर्ष लोम्बोकमा गएको शक्तिशाली भूकम्पमा परी ५ सय ५० भन्दा बढीको मृत्यु भएको थियो । त्यस्तै, डिसेम्बर २००४ मा सुमात्रालाई केन्द्रबिन्दु बनाएर गएको ९.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प र सुनामीका कारण इन्डोनेसियासहित विभिन्न ९ देशमा प्रभाव परेको थियो । त्यतिवेला इन्डोनेसियामा एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो । एजेंसी (नयाँ पत्रिका)