सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्नुको रहस्य

आश्विन १६,२०७५

-

१६ असोज २०७५ काठमाण्डौ l 
 
 
गणेश भगवान् हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश । हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाला भगवान गणेशलाई विघ्नहर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ ।
 
 
ऋद्धि र सिद्धि यीनका श्रीमती हुन् । नेपाल तथा भारतमा धेरै मानिसहरूको नाम गणेश राखिएको हुन्छ। शिवमहापुराणमा गणेशको नामबाट परिचित भगवान गणेशको पुजागर्ने तिथि, मिति ,विधि-विधानमा एकरूपता छ, तर नेपालको सूदुरपश्चिम डोटी क्षेत्रमा भने गणेश भगवानलाई फरक नामले चिन्ने गरिन्छ जस्तै –
 
 
डोटी बोगटानमा धिरगाणी (गणेश) भनिन्छ l 
 
डडेल्धुरामा गन्याप लाटो (बडालको लाटो देवता) भनिन्छ l
 
दार्चुलामा लटिनाथ रलट्बाव (गणेश) भनिन्छ l 
 
गणेश शब्दको उत्पत्ति गण + ईश मिलेर भएको हो जसको अर्थ हुन्छ गण हरूका देवता । शिवगणमा प्रमुख गण नन्दी कहलाईन्छन् । नन्दीसहित सबै गणहरूका देवता चाहीँ गणेश कहलाईन्छन् ।
 
 
गणेशको रूपले के बुझाउछ ? आउनुहोस् जानौं !
 
 
भगवान श्रीगणेशको रूपमा भिन्नता रहेको छ । यो भिन्नताले आ-आफ्नो छुट्टा-छुट्टै महत्व देखाउँछ । भगवान श्री गणेशको पूजा सबै देवताहरूभंदा पहिले हुन्छ । काममा कुनै विध्नबाधा उत्पन्न नहोस् भनेर कुनैपनि काम थालनी गर्नुभन्दा पहिले सबैले भगवान श्रीगणेशको आराधना र स्मरण गर्दछन् । यहाँ भगवान श्री गणेशको रूपले के भन्दैछ ? भन्ने बारेमा टिप्पणी गरिंंदै छ ।
 
शिर
 
भगवान श्रीगणेशको शिर हात्तीको छ । हात्तिलाई संसारको सबैभन्दा ठूलो थलचर प्राणिको रूपमा लिइन्छ । कुनै मान्छेले कुनै काम गर्दा समाजमा आफ्नो शिर ठाडो रहोस् आफुले समाजमा शिर झुकाउनु नपरोस् भन्ने सोच सबैको हुन्छ । भगवान श्री गणेशको शिरले कसैले पनि जो सुकै कामको थालनी गर तर समाजमा शिर झुक्ने काम नहोस् भन्ने बुझाउंंछ ।
 
 
यसैले हामीहरूले कुनैपनि कामको थालनीमा भगवान श्रीगणेशको हात्तिको शिरको स्मरण गरी समाजमा शिर ठाडो रहोस् समाजको अगाडी शिर न झुकोस् भन्ने शिक्षा पाउनुपर्छ । जीव विज्ञानका अनुसार हात्ती ठूलो प्रणी भएपनि यसले अरु सबै चिजहरू आफुभन्दा ठूलो देख्दछ । यसैले गणेश भगवानको हात्तीको शिरले के पनि बुझाउँछ भने संसारमा कुनै पनि प्राणी छ त्यसलाई आफुभन्दा ठूलो मान भन्ने विचार राख्नुपर्दछ ।
 
कान
 
भगवान श्रीगणेशका कानहरू ठुला छन् । मानिसले कुनै पनि कामको थालनी गर्दा सबैको कुरा सुन्नुपर्ने र बुझ्नुपर्ने हुन्छ । सबैको कुराहरू ध्यान दिएर सुन्यो भने त्यो मान्छेलाई कुनै पनि कामको सुरुदेखि अन्तसम्म कुनै विध्न-बाधाहरू पर्दैन । कामको पनि फतेह हुन्छ । अरुसँग न सोधेर अरुको कुरालाई नगनेर आफ्नो मनमर्जी गर्ने मान्छे कहिल्यै पनि सफल हुन सक्दैन ।
 
 
कसैले आफ्नो बारेमा नराम्रो भन्यो भनेपनि त्यो सुन्नको लागि ठूलो कानको आवश्यकता पर्दछ । यसैले हामीले कुनै पनि कामको थालनिमा भगवान श्री गणेशका ठुला कानहरूलाई स्मरण गरी हामी जे  काम गर्न गैरहेका छौँ त्यसमा अरुको राम्रो कुरालाई सुनेर व्यवहारमा ल्याउने । नराम्रो कुराहरू कानले पचाउनुपर्छ भन्ने शिक्षा पाउनुपर्ने हुन्छ ।
 
नाक
 
भगवान श्री गणेशको नाक लामो छ । हाम्रो समाजमा कसैले केही नराम्रो काम गरेमा भनिने गर्छ “यो मानिसले त नाक कटायो” । मान्छेले कुनैपनि काम आफ्नो लाज (इज्जत) बचाएर गर्नुपर्ने हुन्छ । यदि समाजमा इज्जत बचाउने काम गरेन र आफ्नु इज्जत फाल्यो भने सबैले नाक कटुवा भन्नेछन् । यसैले हामीले कुनै पनि कामको थालनीमा भगवान श्रीगणेशको लामो नाकको स्मरण गरेर हामी जुन काम गर्न गैरहेका छौँ त्यसमा हाम्र नाक नकाटियोस् । हाम्रो इज्जत बचोस् भन्ने शिक्षा पाउनु पर्नेहुन्छ ।
 
पेट
 
भगवान श्री गणेशको पेट ठूलो छ । मान्छेले कुनै पनि कामको थालनी गर्दा अरुले रिसपनि गर्न सक्छन्, भए नभएका कुराहरू भन्न सक्छन्, राम्रा नराम्रा कुरा सुन्नु पर्ने हुन्छ । यी सबै कुराहरूलाई पचाउनुपर्ने हुन्छ । राम्रा कुराहरूलाई मन भित्र केन्द्रित गर्नुपर्छ र नराम्रा कुराहरूलाई पचाउनुपर्ने हुन्छ । पचाउनको लागि ठूलो पेट बनाउनु पर्नेहुन्छ । यदि कसैले केही भन्यो भन्दैमा झगडा गर्न लाग्यो भने आफ्नो काममा बाधा उत्पन्न हुन्छ । यसकारण हामीले कुनै पनि कामको थालनी गर्दा भगवान गणेशजीको ठूलो पेटलाई स्मरण गरेर हामीमा कुनै पनि विवादलाई पचाउन सक्नु पर्छ भन्ने शिक्षा पाउनु पर्ने हुन्छ l 
 
हातहरू
 
भगवान श्री गणेशका चारवटा हातहरू छन् l ती हातहरूमा क्रमशः बन्चरो, लड्डु, वरमुद्रा र फूल रहेका छन् । जो दया, दण्ड, कोमलता र मिठासको प्रतिकहरू मानिन्छन् । मान्छेले कुनैपनि कामको थालनी गर्दा उक्त कार्यमा ध्यान दिनु आवश्यक छ ।
 
वाहन
 
भगवान श्री गणेशको वाहन मुसो हो । मुसो सानो भएपनि चलाख प्राणीको रूपमा तुलना गरिन्छ । भनिन्छ मुसाले नै अन्नहरूको बिउ समुद्र पारीवाट ल्याएको हो । हामीहरूले कुनै पनि कामको थालनी गर्दा भगवान श्री गणेशको रूप र वाहन मुसाबाट चलाख या बुद्धिमान छ भने आफुभन्दा सानो प्राणिको पनि सहायता लिएर आफ्नो काम पुरा गर्नुपर्छ भन्ने धारणा राख्नुपर्दछ ।
 
 
भगवान श्रीगणेशको जन्म
 
 
भगवान श्रीगणेशका पिता शंकर र माता पार्वतीलाई मानिएको छ । पौराणिक कालमा पार्वतीले शिवजीको शरीरको मैल (जो खरानी घसेर जम्मा भएको थियो) एकत्र गरिन् । भगवान शिवजी बाहिर गएको बेला माता पार्वतीले त्यही मयलको बालक बनाएर ढोकाम राखि आफु भित्र बसिन् । यो काम उनले भगवान शिवजीलाई छकाउनको लागि गरेकी हुन् ।
 
 
 
तर माता आद्य शक्तिको हातबाट बनेकाले ती बालक जीवित भएर द्वार पालको काम गर्न लागे, बाहिरबाट कोहीपनि आएमा भित्र प्रवेश गर्न नदिने भए । यो थाहा पाएर नन्दिश्वर आदि शिवका गणहरू आएर ती बालकसँग युद्ध गरे तर कसैले पनि जित्न सकेन अंतमा भगवान शिव स्वयं गएर युद्ध गरे, शिवले पनि बडा मुस्किलले आफ्नो त्रिशुले बालको शिर काटेर अलग गरी भित्र प्रवेश गरे l  भित्र गएर माता पार्वती सँग भने “आज तिमीले ढोकामा कसलाई राखेकी थियौ ? त्यसले मलाई भित्र आउन नै दिएन बडो मुस्किलले मारेर आएं" l 
 
 
 
यसो सुनेर माता पार्वती त्यो त मेरो पुत्र हो तपाईँले त्यसलाई मारी दिनु भयो भनि रुन लागिन् । यो देखेर भगवान शिवलाई पनि दु:ख लाग्यो उनले भगवान विष्णुलाई भने “मैले बालकको टाउको काटी दिएं अब त्यो टाउको काम लाग्दैन तपाईंं गएर कुनैपनि प्राणीको टाउको लिएर आउँनुहोस् l बालकलाई जिवित गर्नु पर्छ” l  यो सुनेर भगवान विष्णु बाहिर गई हात्तिको टाउको लिएर आए । त्यो टाउको काटिएको हात्तीलाई पनि गँगटाको रूपमा अर्को प्राणी बनाए । त्यही हात्तीको टाउको लगाएर बालकलाई जीवित गरियो पछिगएर उनको नाम गणेश राखियो l 
 
 
गणेश शब्दसँग सम्बन्धित विषयहरू
 
 
गणेश शब्दले धेरैवटा अर्थ बोकेको हुन्छन् l गणेश लेखनमा सिद्धहस्त मानिएका छन् । त्यसैले कसैले धेरै राम्रोसित र तीब्र गतिमा लेख्न सक्छ भने उसलाई गणेश उपमा दिइन्छ । गणेश शब्दले चाकडी तथा चाप्लुसी भन्ने पनि जनाउँछ । गोबरगणेश भन्नाले चाहिं केहीपनि नजान्ने बुद्धु भन्ने बुझिन्छ । श्रीगणेश शब्दले भने कुनैपनि कुराको शुरूवात भन्ने जनाउँछ ।