आइसीसी विश्व ट्वान्टी–२० एसिया छनोटमा नेपाल आज म्यानमारसँग भिड्दैै
-
असोज १७, २०७५ काठमाडौँ ।
क्षेत्रीय छनोटको विजेता बन्दै दोस्रो चरण प्रवेश गर्ने लक्ष्यका साथ मलेसिया भ्रमणमा निस्किएको नेपालले बुधबार म्यानमारविरुद्ध खेल्ने छ । यस खेलबाट नेपालले आईसीसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ यात्राको सुरुआत गर्दै छ।
नेपाल र म्यानमारबीचको खेल नेपाली समय अनुसार मध्याह्न सवा १२ बजेदेखि सुरु हुने छ । मलेसिया भ्रमणमा निस्कनुअघि कप्तान पारस खड्काले आफूहरू समूह विजेताकै हैसियतमा अघिल्लो चरण प्रवेश गर्ने बताएका थिए ।
प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को छनोटमा नेपाल, आयोजक मलेसिया, थाइल्यान्ड, भुटान, चीन, म्यानमार र सिंगापुर छन् । नेपालले भने दोस्रो खेल अक्टोबर ६ मा मलेसियासँग खेल्नेछ । त्यस्तै नेपालले अक्टोबर ७ मा थाइल्यान्ड, अक्टोबर ९ मा भुटान, अक्टोबर १० मा चीन र अक्टोबर १२ मा सिंगापुरसँग खेल्नेछ।
समूहका शीर्ष तीन स्थानमा रहने टोलीले क्षेत्रीय छनोटको अन्तिम चरणमा स्थान पक्का गर्नेछन् । युएई र कतारले यसअघि नै अन्तिम चरणको क्षेत्रीय छनोटमा स्थान पक्का गरिसकेका छन् । अन्तिम चरणको छनोटमा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन्।