अमेरिकाले थोरै दिएर धेरैको माग गरिरहेको उत्तर कोरियाको आरोप
-
१७ असोज २०७५ काठमाण्डौ l
एजेन्सी । उत्तर कोरियाले ट्रम्प प्रशासनमाथि थोरै दिएर धेरै ठूलो माग राखिरहेको आरोप लगाएको छ । निशस्त्रीकरणको विषयमा अमेरिकाले उत्तर कोरियाबाट एकलौटी अपेक्षा गर्नु कुनैपनि ढङ्गमा उचित नभएको भन्दै प्योङयोङले गम्भीर असन्तुष्टि व्यक्त गरेको न्यूयोर्क टाइम्सले जनाएको छ l
पछिल्लो समय उत्तर कोरियाले अमेरिकालाई कोरियाली युद्ध अन्त्यको घोषणा गर्न जोड दिइरहेको छ । निशस्त्रीकरण अगाडि अमेरिकाले उक्त कदम उठाए मात्र उत्तर कोरियाको विश्वास जित्न सक्ने र आफूहरुलाई त्यस प्रक्रियामा अघि बढ्न सहज हुने उनीहरुले बताएका हुन् ।
कोरियाली युद्ध १९५३ मै अन्त्य भइसकेपनि अहिलेसम्म आधिकारिक सम्झौता गरिएको छैन । तर अर्कोतर्फ अमेरिकाले भने सिंगापूर सम्मेलनको वचन अनुरुप उत्तर कोरियाले पहिले निशस्त्रीकरणतर्फ प्रभावकारी कदम उठाए मात्र युद्ध अन्त्यको औपचारिक घोषणा सम्भव हुने अडान लिएको छ ।
गत अप्रिलमा भएको सो बैठकमा नेता किमले कोरियाली प्रायद्विपमा पूर्ण निशस्त्रीकरणको प्रतिबद्धता जनाएका थिए । यस्तोमा अमेरिकी अधिकारी र अन्य विश्लेशकहरुले सो प्रक्रिया सुरु गर्नकै लागि उत्तर कोरियासँग बारम्बार आणविक कार्यक्रमको पूरा विवरण माग गरिरहेका छन् । तर मंगलबार उत्तर कोरियाको राष्ट्रिय संचार केसीएनएले भने सो मागलाई ‘बकवास’ ठहर गर्दै कोरियाली युद्ध अन्त्यको घोषणाले उत्तर कोरियालाई कहिल्यै हतियारमुक्त हुन बाध्य नगराउने उल्लेख गरेको हो । यस्तोमा अमेरिकाले दुई कोरियाबीचको युद्ध अन्त्य भएको हेर्न चाहाँदैन भने उत्तर कोरियाले पनि त्यसको अपेक्षा नगर्ने जनाएको छ ।
यसरी अमेरिकी राज्य सचिव माइक पोम्पेओको प्योङयोङ भ्रमण पूर्व उत्तर कोरियाले आफ्नो नीति स्पष्ट पार्दै ट्रम्प प्रशासनमाथि थप दबाब दिएको हो ।
उनी ट्रम्प र किमबीच अर्को सम्मेलनको तयारी गर्न र यसअघिको विवाद सुल्झाउन उत्तर कोरिया जाने भएका हुन् । उता उत्तर कोरियाका विदेश मन्त्री रि योङले पनि संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय सभामा, उत्तर कोरिया आर्थिक विकासमा केन्द्रित रहन अझै पनि पूर्ण निशस्त्रीकरणका लागि तयार रहेको तर यसमाथि प्रश्न उठाउनु भने उचित नभएको ठहर गरेका हुन् ।
तरपनि आफूहरुले एकलौटी रुपमा अमेरिकाको माग अनुरुप कहिल्यै आफ्नो अस्त्र त्याग गर्न नसक्ने उनको भनाइ छ । यसका लागि अमेरिकाले प्योङयोङको विश्वास जित्न त्यसै अनुरुपको ठूलो कदम उठाउनुपर्ने उनले बताए ।
तर वासिङटनले अझै पनि उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध जारी गराइरहनुले भने उत्तर कोरियाप्रति अमेरिकाले अझै शत्रुगत नीति अपनाइरहेको प्रष्ट रहेको उनले बताएका छन् । यसरी अमेरिकाले उत्तर कोरियालाई प्रोत्साहन गर्न एकदम थोरै निर्णय लिइरहेको बताउँदै उनले असन्तुष्टि जनाएका हुन् ।