चीनियाँ अभिनेत्रीमाथि किन लगाइयो १३ करोड डलर जरिवाना
-
१८ असोज २०७५ काठमाण्डौ l
बीबीसी । चीनकी चर्चित अभिनेत्री फेन बिङबिङमाथि ८८३ मिलियन युआन अर्थात झण्डै १३ करोड डलर बराबरको जरिबाना लगाइएको छ । ट्याक्स छली लगाएतका केही आपराधिक घटनामा दोषी प्रमणित भएपछि अभिनेत्री बिङबिङमाथि १२.९ करोड डलर बराबरको जरिबाना लगाइएको हो ।
गत जुलाईबाट सम्पर्कबिहिन भएकी अभिनेत्री बिङबिङ चीनमा सबैभन्दा बढी आम्दानी गर्ने कलाकारमध्येमा पर्छिन । समाचार एजेन्सी सिन्ह्वाका अनुसार उनले तोकिएको समयमै जरिबाना चुक्ता गरे आपराधिक दण्डबाट बच्नेछिन् ।
३७ वर्षीया अभिनेत्री बिङबिङले हलिउडका ‘एक्स–म्यान’ र ‘आइरन–म्यान’ जस्ता फ्रेन्चाइजी फिल्ममा अभिनय गरिसकेकी छिन् । गत जुलाई १ बाट सम्पर्कबिहिन बिङबिङ अहिले कहाँ छिन् भन्ने बारेमा कसैलाई जानकारी नभएको बताइएको छ । तर केही समाचारहरुमा उनलाई कुनै गोप्य स्थानमा नजरबन्दमा राखिएको उल्लेख छ ।
बुधवार अभिनेत्री बिङबिङले आफ्ना लाखौं प्रशंसकहरुका लागि चीनको सामाजिक सञ्जाल ‘भीबो’ मा लेखकी छिन्, ‘‘म अत्यन्तै दुःखमा छु । मैले जे गरे त्यसका लागि म लज्जित छु र सबैसँग माफी माग्न चाहन्छु । छानविन पछि कानुन अनुसार मामाथि जुन जरिबाना लगाइएको छ म त्यसलाई स्वीकार गर्दै आदेशको पालना गर्न तयार छु । म यो नराम्रो अवस्थाबाट उम्किन चाहन्छु । म पैसा जुटाएर छिट्टै जरिबाना चुक्ता गर्नुछु ।’’
अभिनेत्री बिङबिङ चीनकी सबैभन्दा प्रभावशाली सेलेब्रिटी हुन् । गत वर्ष फोब्र्स पत्रिकामा उनी बढी आम्दानी गर्ने चीनियाँ कलाकारको सूचीमा सबैभन्दा अगाडि थिइन् । बिङबिङको आम्दानी ३०० मिलियन युआन थियो ।