Trending :
 

उत्तर कोरियाले ह्याकिङमार्फत १० करोड डलर चोरी गरेको पुष्टि

आश्विन १९,२०७५

-

 १९ असोज २०७५ काठमाण्डौ l 
 
 
एजेन्सी । उत्तर कोरियाले साइबर हमला मार्फत विभिन्न अन्तर्राष्ट्रिय बैंकहरुबाट १ अर्ब डलर भन्दा बढी रकम चोर्ने प्रयास गरेको अनुसन्धानले देखाएको छ । साइबरसुरक्षाले सार्वजानिक गरेको सो रिपोर्टमा उत्तर कोरियाले ११ देशका संस्थाहरुबाट लगातार चोरीको प्रयास गरेको र २०१४ मा १० करोड डलर बराबरको रकम प्राप्त गर्न समेत सफल भएको पत्ता लागेको सीएनएनले जनाएको छ ।
 
यस्तोमा कडा प्रतिबन्धका बावजुद उत्तर कोरियाले आणविक हतियार निर्माणमा लगातार प्रगति गरिरहनुका पछाडि पनि यसले सहयोग पुर्याएको हुन सक्ने बताइएको छ । यसरी पछिल्लो समय उत्तर कोरियाका प्राविधिक विद्हरु यस्तै प्रकारले अवैध रकम जम्मा गर्न क्रिप्टोकरेन्सी एक्सचेन्ज ह्याकिङ र अन्तर–बैंक स्थानान्तरण सम्बन्धि ठगीमा संलग्न भइरहेको देखिएको ‘फाउन्डेसन अफ डिफेन्स अफ डेमोक्रेसी’ ले बताएको हो । 
 
यस्तोमा उत्तर कोरियाले आफ्नो साइबर क्षमतालाई अमेरिकी अर्थतन्त्रमाथि प्रहार गर्न समेत प्रयोग गर्ने खतरा बढेको बताइएको छ । १० वर्ष अघिसम्म उत्तर कोरियाले साइबर हमलामार्फत अमेरिकी अर्थतन्त्रमा हानि पुर्याउँछ भन्ने कसैले सोच्न सक्ने अवस्था पनि थिएन तर अहिले भने प्योङयोङमा विश्वकै उत्कृष्ट साइबर विद्हरु रहेको बताइन्छ । २०१४ मा उत्तर कोरियाले सोनी इन्टरटेनमेन्ट जस्तो ठूलो कम्पनीमा ह्याक गरेको थियो, जसपछि तत्कालीन ओबामा प्रशासनले उनीहरुमाथि थप आर्थिक प्रतिबन्ध जारी गरेको थियो । त्यसैगरी गत वर्ष बेलायतका दशौँ हजार अस्पताल, बैंक लगायत सार्वजानिक स्थानमा भएको वानक्राइ साइबर हमलाका पछाडि पनि उत्तर कोरियाकै हात रहेको पाइएको थियो । सो साइबर अपराध अहिलेसम्मकै भयानक साबित भएको थियो । 
 
त्यस्तै गत फेब्रुअरीमा बांग्लादेशको केन्द्रिय बैंकबाट अवैध रपमा १ करोड भन्दा बढी रकम ट्रान्सफर भएको पाइएको थियो । त्यतिबेला अनुसन्धान गर्दा ह्याकरको सिग्नल फ्रान्स, दक्षिण कोरिया हुँदै ताइवान देखाइरहेपनि अन्तिम समयमा उत्तर कोरियाले आफूतर्फ संकेत गर्दै विशेष प्रमाण छाड्ने गलती गरेपछि उनीहरु दोषी रहेको पाइएको हो । तर अझै पनि सो रकम पूरा फिर्ता नभएको बताइएको छ । त्यसकारण पनि हाल अन्तर्राष्ट्रिय प्रतिबन्धको चपेटामा परिरहेका बेला उत्तर कोरियाले बिटकोइन जस्ता क्रिप्टोकरेन्सी मार्फत कुनैपनि समय पुनः हमला गर्न सक्ने विश्लेषकहरुले चेतावनी दिएका हुन् ।