पांडवहरुको स्वर्गारोहण, महाभारतको रोचक कथा !

आश्विन २१,२०७५

-माधव प्रसाद गर्तौला

२१ असोज २०७५ काठमाण्डौ l 

 

धर्मराज युधिष्ठिरको शासनकालमा हस्तिनापुरका प्रजा सुखी तथा समृद्ध थिए l कहींपनि कुनै प्रकारको शोक, भय आदि थिएन l केही समयपछि भगवान श्रीकृष्णसंग भेट्नको लागि अर्जुन द्वारिकापुरी गए l जब उनि गएको धेरै समय व्यतीत भयो, तब धर्मराज युधिष्ठिरलाई विशेष चिंता भयो l

 

उनले भीमसंग भने- “हे भीमसेन ! द्वारिकाको समाचार लिएर भाई अर्जुन अहिलेसम्म पनि फर्केका छैनन् l र यता समयको गति हेर कि संपूर्ण भूत (प्राणी) हरुमा उत्पात हुन लाग्यो l नित्य नै अपशगुन भैरहेको छ l आकाशमा उल्कापात पनि शुरु भयो तथा पृथ्वीमा भूकंप हुनथाल्यो l सूर्यको प्रकाश मध्यम भयो र चंद्रमाको आसपास बारंबार मंडल बन्दैछन् l

 

आकाशका नक्षत्र एवं तारा परस्पर एक-आपसमा टकराएर खसीरहेका छन् l पृथ्वीमा बारंबार बिजुली खसिरहेको छ l भयंकर आंधी-बेरी आएर पृथ्वीलाई अंधकारमय बनाईरहेको छ l स्यालहरु सूर्यतिर फर्केर चिल्लाई रहेका छन् l कुकुर, बिरालाहरु बारंबार रोइरहेका छन् l गाईहरु निरंतर आंसू बगाईरहेका छन् l घ्यूमा अग्नि प्रज्वलित गर्ने शक्ति नष्ट भैसकेको छ l सर्वत्र श्रीहीनता प्रतीत हुन्छ l यी सबै अनर्थकारी घटनाहरु देखेर मेरो हृदय कम्पित भैरहेको छ l थाहा छैन यी अपशगुन कुन विपत्तिको सूचना दिरहेका छन् l के भगवान श्रीकृष्णचंद्र यस लोकलाई छोडेर गई सक्नुभयो या अन्य कुनै दुःखदाई घटना हुनेवाला छ” ?

 

त्यसै समय एकदमै व्याकुल अवस्थामा अर्जुन द्वारिकाबाट फर्किएर आए l उनका आँखाबाट अश्रु बगिरहेका थिए, शरीर कांतिहीन थियो र गर्दन झुकेको थियो l उनि आउने बित्तिकै धर्मराज युधिष्ठिरका चरणमा परे l

 

त्यसपछि युधिष्ठिरले आत्तिंदै सोधे- “हे अर्जुन ! द्वारिकापुरीमा हाम्रा संबंधी र बंधु-बांधव सबैजना प्रसन्न त हुनुहुन्छ ? हाम्रा हजुरबुबा शूरसेन तथा सानो मामा वसुदेव त सकुशल हुनुहुन्छ ? हाम्री माइजु देवकी आफ्ना सातै संतान तथा पुत्र-पौत्रादि सहित प्रसन्न त हुनुहुन्छ ? हाम्रा स्वामी भगवान श्रीकृष्णचंद्र, उद्धव आदि आफ्ना सेवक सहित सकुशल त हुनुहुन्छ ? प्रद्युम्न, अनिरुद्ध, साम्ब, ऋषभ आदि त सुखपूर्वक छन् ? हे भाई अर्जुन ! तिम्रो कांति क्षीण किन भैरहेको छ ? र तिमी श्रीहीन किन भैरहेका छौ “?

 

धर्मराज युधिष्ठिरका यी प्रश्नहरुले अर्जुनलाई झनै व्याकुल र शोकाकुल बनायो l उनको रंग फीका भयो, आँखाबाट अविरल अश्रुधारा बग्न थाले, अवरुद्ध कंठले अर्जुनले भने- “हे भ्राता ! हाम्रा प्रियतम भगवान श्रीकृष्णचंद्र हामीहरुलाई एक्लै छाड़ी यस लोकबाट बिदा हुनुभयो” l

जसको कृपाले मेरो पराक्रमको अगाड़ी देवताहरु पनि आफ्ना शिर उठाउँदैनन् थिए, मेरो त्यो पराक्रमलाई पनि आफ्नै साथमा लिएर जानुभयो l प्राणहीन मुर्दा जस्तै मेरो गति भएको छ l म द्वारिकाबाट भगवान श्रीकृष्णचंद्रका पत्निहरुलाई हस्तिनापुर लिएर आइरहेको थिएं, तर मार्गमा केही नगण्य भीलहरुले मलाई एक निर्बलको भांति परास्त गरी उनका सबै पत्निहरुलाई अपहरण गरी लिएर गए l मैले ती अबलाहरुको रक्षा समेत गर्न सकिन l मेरा तीनै हात हुन्, त्यही रथ हो, तीनै घोड़ा हुन्, त्यही गांडीव धनुष हो र त्यही बाण हुन् जसले मैले ठुला-ठुला महारथीहरुका शिर एकै क्षणमा उड़ाईदिएको थिएं l जुन अर्जुनले आफ्नो जीवनमा कहिले पनि पराजयको मुख हेर्नु परेको थिएन, त्यही अर्जुन आज कायरको भांति भीलहरुसंग पराजित भयो l

 

उनका सम्पूर्ण पत्नी तथा धन आदिलाई भीलहरुले लुटर लगे र म किंकर्तव्यविमूढ़ भई हेरीरहें l ती भगवान श्रीकिष्णचंद्र बिना मेरा सम्पूर्ण शक्ति क्षीण भैसके l तपाईंले जुन यादवहरुको कुशल समाचार सोध्नुभएको छ, ती समस्त यादव ब्राह्मणहरुका श्रापका कारण दुर्बुद्धि अवस्थालाई प्राप्त भैसकेका थिए र तिनिहरू अति मदिरा पान गरेर परस्पर एक-अर्कालाई मार्दै स्वयंपनि मृत्युलाई प्राप्त भैसके l यो सबै भगवान श्रीकृष्णकै लीला हो l

 

अर्जुनको मुखबाट श्रीकृष्णको स्वधाम गमन र सम्पूर्ण यदुवंशीहरु नाश भएको समाचार सुनेर युधिष्ठिरले तत्काल आफ्नो कर्त्तव्य निश्चित गरे, र अर्जुनसंग भने- “हे अर्जुन ! भगवान श्रीकृष्णचंद्रले आफ्नो यस लौकिक शरीरले यस पृथ्वीको भार नष्ट गरी उसलाई यस प्रकार त्यागीदिए, जुनप्रकार कसैले कांडाले नै कांडा निकाले पछि ती दुबै कांडाहरुलाई त्यागी दिन्छन् l अब घोर कलियुग पनि आउनेवाला छ l अतः अब शीघ्र नै हामीहरुले पनि स्वर्गारोहण गर्नुपर्छ l   

 

जब माता कुंतीले भगवान श्रीकृष्णचंद्र स्वधाम गमन भएको को समाचार सुनिन् तब उनले श्रीकृष्णचंद्रमा आफ्नो ध्यान केंद्रित गरी आफुपनि शरीर त्याग गर्ने निर्णय गरिन् l धर्मराज युधिष्ठिरले आफ्नो महापराक्रमी पौत्र परीक्षितलाई सम्पूर्ण जम्बुद्वीपको राज्य दिएर हस्तिनापुरमा उसको राज्याभिषेक गरे l तत्पश्चात् परमज्ञानी युधिष्ठिरले प्रजापति नामक यज्ञ गरी आफु श्रीकृष्णमा समर्पित भई संन्यास लिए l उनले मान, अपमान, अहंकार तथा मोहलाई त्यागेर मन तथा वाणीलाई वशमा गरे l सम्पूर्ण विश्वनै उनलाई ब्रह्मरूप दृष्टिगोचर हुन लाग्यो l

उनले आफ्ना कपाल खोलिदिए, राजसी वस्त्राभूषण त्यागेर चीर वस्त्र धारण गरी अन्न-जलको परित्याग गरी मौनव्रत धारण गरे l यति गरिसकेपछि बिना कसैमाथि दृष्टि गरी घरदेखि बाहिर उत्तर दिशातर्फ हिंडे l भीम, अर्जुन, नकुल, सहदेव र द्रौपदीले पनि उनकै अनुसरण गरे l

 

भगवान श्रीकृष्णचंद्रको प्रेममा मग्न भएर सबै उत्तराखंड तर्फ लागे l यता विदुरले पनि प्रभासक्षेत्रमै भगवन्मय भई शरीर त्याग गरिदिए l सबै पांडव मार्गमा श्रीहरिको अष्टोत्तरशत नामको जप गर्दै यात्रा गरिरहेका थिए l त्यस महापथमा क्रमश: द्रौपदी, सहदेव, नकुल, अर्जुन र भीमसेन एक-एक गरी लड्दै गए l अब मात्र युधिष्ठिर नै जीवित बचेका थिए l भनिन्छ कि देवराज इंद्रद्वारा ल्याइएको रथमा आरूढ़ भएर धर्मराज युधिष्ठिर सशरीर स्वर्ग गएका थिए l 

यो पनि पढ्नुहोस्- चारैवेदका संखिप्त परिचय एवं जानकारी !