‘दर्पण’ बोधकथा !

आश्विन २१,२०७५

-माधव प्रसाद गर्तौला

२१ असोज २०७५ काठमाण्डौ l 

 

पुरानो समयको कुरा हो l एउटा गुरुकुलका आचार्य आफ्नो शिष्यको सेवाभाव एवं श्रद्धाबाट अत्यंत प्रसन्न भए l शिष्यको संपूर्ण शिक्षा पूर्ण भएपछि शिष्यलाई विदागर्ने समय भयो l तब आचार्यले शिष्यलाई आशीर्वादस्वरूप एउटा यस्तो दर्पण (ऐना) दिए, जसमा मानव मस्तिष्कमा रहेका गूढ़ विचार तथा भावनाहरु स्पष्टै हेर्न सकिन्थ्यो l त्यस दर्पणलाई पाएर शिष्य अत्यंत प्रसन्न भयो l शिष्यले परीक्षा लिनका लागि सबैभन्दा पहिले दर्पणको मुख आफ्नै आचार्यतर्फ फर्कायो l

 

शिष्यले दर्पणमा देख्यो कि उसको आचार्यको मनमा अहंकार, काम, क्रोध, लोभ, मोह आदि सबै दुर्गुणहरु विद्यमान छन् l यो देखेर शिष्यलाई धेरै दुःख लाग्यो, किनकि उसले आफ्नो आचार्यलाई सबै दुर्गुणहरुबाट मुक्त भैसकेको ठान्दथ्यो l शिष्य त्यस दर्पणलाई लिई गुरुकुलबाट बिदा भयो l

 

उसले आफ्ना मित्र तथा परिचितहरु सबैको मुख दर्पणमा हेरी परीक्षा लियो l उसले सबैको मनमा कुनै न कुनै दुर्गुण देख्यो l उसले आफ्ना माता-पिताको पनि दर्पणबाट परीक्षा लियो l माता-पिताको मनमा पनि उसले दुर्गुणनै देख्यो l यो देखेर शिष्यलाई धेरै ठुलो आघात भयो l तत्पश्चात् त्यस दर्पणलाई लिएर उ फेरी गुरुकुल तर्फ हिंड्यो l गुरुकुल पुगेर शिष्यले आचार्यलाई भन्यो- “गुरुदेव ! मैले यस दर्पणको सहायताले थाहा पाएं कि सबैका मनमा केही न केही दुर्गुण अवश्य नै हुन्छन् l यस सच्चाईबाट म अत्यंत मर्माहित भएको छु” l तब गुरुले दर्पणको मुख शिष्य तर्फै फर्काइदिए l शिष्यले दर्पणमा हेर्यो कि उसको आफ्नै मनमा पनि अहंकार, क्रोध जस्ता अनेकौं दोषहरु विद्यमान थिए l

 

गुरुले शिष्यलाई संझाउँदै भने- “मैले यो दर्पण तिमीलाई आफ्नो मुख अर्थात् मन हेर्नको लागि दिएको हो ताकि तिमी आफुभित्र रहेका सम्पूर्ण दोषहरुको दर्शन गर्न सकौ, अरुका दोषदर्शन गर्न होइन” l तिमीले जति समय अरुको दोषदर्शन गर्नमा व्यय गर्यौ त्यति समय आफ्नै दोषदर्शन गर्नमा व्यय गरेको भए आज तिमी र तिम्रो व्यक्तित्व परिवर्तन भैसकेको हुन्थ्यो l

 

हाम्रो सबैभन्दा ठुलो र घातक कमजोरी भनेकै यही हो कि हामी अरुको दोषदर्शनमा अभिरुचि राख्दछौं l जबकि स्वयंलाई सुधार्नको लागि कुनै प्रयत्नै गर्दैनौं l हामीले आफ्नै  दुर्गुणहरुलाई खोजेर त्यसलाई सुधार्नुपर्छ l ताकि स्वयंको जीवन सुखी एवं आनंदित होस् l  

 

यो पनि पढ्नुहोस्- ‘असत्य’ बोधकथा !