इन्टरपोल प्रमुख हाम्रो नियन्त्रणमा : चीन
-
२२ असोज २०७५ काठमाण्डौ l
बेइजिङ । चीनको सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले अन्तर्राष्ट्रिय प्रहरी संगठनका प्रमुख मेङ्ग होङवेईलाई कानुन उल्लंघनको आशंकामा नियन्त्रणमा लिएर छानबिन भइरहेको जनाएको छ । आइतबार अबेर सो पार्टीको भ्रष्टाचार मामिला हेर्ने निकायले सो कुरा जनाएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
मेङ्ग यसअघि चीनको जनसुरक्षा उपमन्त्री समेत रहेका थिए भने सन् २०१६ देखि इन्टरपोलको प्रमुख भएका थिए । फ्रान्सस्थित इन्टरपोलको मुख्यालयबाट २५ सेप्टेम्बरमा चीन गएका उनी परिवारको सम्पर्कमा नरहेपछि आशंका उत्पन्न भएको थियो ।
आइतबार अबेर चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष्टाचार हेर्ने निकाय अनुशासन निरीक्षणका लागि केन्द्रीय आयोग (सीसीडीआइ) को अनलाइनमा मेङ्गलाई हिरासतमा लिइएको कुरा सार्वजनिक भएको थियो ।
यसलगत्तै इन्टरपोलले मेङ्गले तत्कालबाट लागु हुनेगरी राजीनामा दिएको पत्र प्राप्त गरेको जनाएको थियो । यसअघि गत शनिबारमात्रै इन्टरपोलले मेङ्गको बारेमा जवाफ दिन चीन सरकारलाई आग्रह गरेको थियो । ६४ वर्षिय मेङ्गको चीनमा गिरफ्तारीले अन्तर्राष्ट्रिय रुपमा तरङ्ग उत्पन्न भएको छ । कतिपयले चीनको पछिल्लो कदमले उसले विश्वमामिलामा खेलिरहेको भूमिकामाथि नै प्रश्न उठ्न सक्ने समेत औंल्याएका छन् ।
दक्षिण कोरियाका किम जोङ याङलाई इन्टरपोलको कायममुकायम अध्यक्षमा नियुक्त गरिएको इन्टरपोलले जनाएको छ । एजेंसी