बैशाख २८,२०७४
-एजेन्सी
टुरिन २८ वैशाख -
युभेन्टसले पछिल्ला तीन सिजनमा दोस्रोपटक युरोपियन च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ । फ्रेन्च क्लब मोनाकोलाई सेमिफाइनलमा समग्रमा ४–१ ले हराउँदै इटालियन महारथी युभेन्टस उपाधिनजिक पुगेको हो । पहिलो लेगमा २–० ले विजयी भएको युभेन्टसले दोस्रो लेगमा २–१ को जित निकाल्दै च्याम्पियन्स लिगको फाइनलमा धेरैपटक स्थान बनाउने कीर्तिमानसँग बराबरी गरेको हो । सन् २०१५ को फाइनलमा बार्सिलोनासँग पराजित भएको युभेन्टसले सन् १९९६ यता च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन ।
पहिलो हाफमै दुई गोल
खेलको ३३औं मिनेटमा मारियो मान्जुकिकको गोलबाट युभेन्टसले अग्रता लियो । लामो क्रसमा मान्जुकिकले गरेको हेडलाई मोनाकोका गोलकिपर डानिजेल सुबासिकले पन्च गरेर पनि क्लियर गर्न सकेनन् । रिबाउन्डमा क्रोएसियाका फरवार्ड मान्जुकिकले जाली चुमाए । पहिलो हाफ सकिन एक मिनेट बाँकी छँदा ब्राजिलियन डिफेन्डर ड्यानी अल्भेसले युभेन्टसको अग्रता दोब्बर पारे । बार्सिलोनाका पूर्वखेलाडी अल्भेसले भली सटमार्फत बललाई गोलपोस्टको दिशा दिए ।
६९औँ मिनेटमा केलियन बाप्पेले जाओ माउटिन्होको क्रममा गोल गर्दै मोनाकोलाई खेलमा फर्कार्उने कोसिस गरे । त्यसपछि लिग वानको उपाधि जित्ने अभियानमा रहेको मोनाकोले उल्लेख्य आक्रमण गर्न सकेन । २१ वर्षअघि अजाक्सलाई पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि जितेको युभेन्टससामु अर्काे मौका आएको छ । सन् २००६ मा म्याच फिक्सिङमा दोषी पाइएपछि दोस्रो डिभिजनमा घटुवा भएको युभेन्टसले पछिल्ला पाँच सिजन सिरी एको उपाधि जितेको छ ।
युभेन्टसको रेकर्ड
मोनाकोलाई हराएर फाइनलमा पुगेसँगै युभेन्टसले च्याम्पियन्स लिगको सर्वाधिक फाइनलमा पुग्ने रेकर्डसँग बराबरी ग¥यो । युभेन्टस छैटौँपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । अर्काे इटालियन क्लब एसी मिलान पनि ६ पटक फाइनलमा पुगेको थियो । युभेन्टसले च्याम्पियन्स लिगको सेमिफाइनलमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि बनायो । मोनाकोविरुद्ध २ गोल गरेसँगै युभेन्टसले च्याम्पियन्स लिगको सेमिफाइनलमा ३० गोल गर्यो । जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब रियल म्याड्रिडले पनि सेमिफाइनलमा ३० गोल नै गरेका छन् । युभेन्टस च्याम्पियन्स लिगका पछिल्ला १२ खेलमा अपराजित छ । १२ मध्ये ९ खेलमा जित निकालेको युभेन्टस ३ खेलमा बराबरीमा रोकिएको थियो । मान्जुकिकले च्याम्पियन्स लिगमा ६ खेलपछि गोल गरेका हुन् । उनले च्याम्पियन्स लिगका ४५ खेल खेल्दै १५ गोल गरिसकेका छन् । बाप्पेले युभेन्टसविरुद्ध गरेको गोल मोनाकाले सिजनमा गरेको १ सय ५०औँ गोल हो । बाप्पे च्याम्पियन्स लिगको सेमिफाइनलमा गोल गर्न कान्छा खेलाडी बने । उनको उमेर १८ वर्ष १ सय ४० दिन हो । सिजनमा सर्वाधिक गोल गर्ने टोली बार्सिलोना (१६० गोल) तथा रियल म्याड्रिड (१५८ गोल) हुन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार