आफ्नै सुखका निम्ति सबै वस्तु प्रीतिकर भएका हुन् : यथार्थ सत्य

हामी सबैले अरुलाई केवल आफ्नो सुखको निम्ति साधन बनाएका हौं

आश्विन २३,२०७५

-माधव प्रसाद गर्तौला

२३ असोज २०७५ काठमाण्डौ l 

 

बृहदारण्यक उपनिषद् मा अति नै मार्मिक र कटुसत्यलाई उजागर गर्ने एउटा प्रसंग छ l ऋषि याज्ञवल्क्य त्यस समयका लब्धप्रतिष्ठित एवं धनाढ्य व्यक्तिहरुमध्ये एक हुन् l उनका दुईवटी पत्नी थिइन् l एउटी गार्गी र अर्की मैत्रेयी l अनेक वर्ष गार्हस्थ्य जीवनको सुख, धन-संपत्ति, यश, वैभव आदिको उपभोग गरिरहंदा पनि जीवनमा संतोष र आनंद उपलब्ध नभएपछि एक दिन उनले गार्हस्थ्य जीवनबाट संन्यास लिने निर्णय गरी आफ्नो धन-संपत्ति आफ्नी दुबै पत्नीहरुलाई समान मात्रामा बांडिदिने इच्छा व्यक्त गरे-

 

“मैले अब संन्यास धारण गरी वन जाने निश्चय गरेको छु l अतः अब तिमिहरुको र मेरोबीच रहेको संबंध यहीं समाप्त हुंदैछ l तिमिहरुको भर्ता अर्थात् पति भएको नाताले मेरो कर्त्तव्य हुन आउँछ कि मैले तिमीहरुको भरण-पोषणको निमित्त व्यवस्था गरौं, त्यसैले मैले आफ्नो संपत्ति तिमी दुबैबीच समान मात्रामा विभक्त गर्ने निर्णय गरेको छु" l

 

पति याज्ञवल्क्यको यस्तो कुरा सुनी कांछी पत्नी मैत्रेयीले भनिन्- “म मेरो भागमा आउने संपत्ति पनि दिदी गार्गीलाई नै दिन चाहन्छु तथा म पनि तपाईसंगै जान्छु l किनकि तपाईं जस्तो ज्ञानी व्यक्तिले जब यति धेरै धन-संपत्ति, यश, मान, संमान, कीर्ति, वैभव आदि सबै तृणवत मानी संन्यास धारण गर्दै हुनुहुन्छ तब अवश्य नै संन्यासरूपी धन यी धनहरुभन्दा श्रेष्ठ हुनुपर्छ l यसैले त तपाईं जांदै हुनुहुन्छ l त्यसैले मलाई पनि त्यही संन्यासरूपी धन नै चाहिन्छ l अतः मलाई संन्यास मार्गको उपदेश दिनुहोस् l

 

मैत्रेयीको यस्तो कुरा सुनी याज्ञवल्क्यले अत्यंत प्रसन्न हुंदै भने- “हे मैत्रेयी ! पतिको कामनाका लागि पति प्रिय हुँदैन, आफ्नै आत्माको कामनाको लागि पति प्रिय हुन्छ” l पत्निको कामनाको लागि होइन आफ्नै कामनाको लागि पत्नी प्रिय हुन्छिन्, पुत्रको कामनाको लागि होइन, आफ्नै आत्माको कामनाको लागि पुत्र प्रिय हुन्छ” l

 

याज्ञवल्क्यले भन्न खोजेको कुरा के हो भने हामीहरुले जुनसुकै चीज चाहेपनि त्यो वस्तुतः किन चाहन्छौं ? के चाहको कारण वस्तुमा छ ? या चाहको कारण हामिभित्रै छ ? हामी पत्नीलाई चाहन्छौं- यो हामी पत्निको लागि चाहन्छौं ? या पत्निलाई पनि आफ्नै आत्माको लागि चाहन्छौं ? यी पत्निले सुख दिन्छिन्, आफुले भनेको मान्छिन्, आफ्नो सत्कार गर्छिन् त्यसैले पत्नी प्रिय हुन्छिन् l आफ्नै आनंदका लागि पत्नी प्रिय भएकी हुन् l आफ्नै सुखका लागि सबै वस्तु प्रीतिकर भएका हुन् l

 

अन्यथा दुबैबीच साना-साना कुरा एवं अत्यंत तुच्छ वैचारिक मतभेदले पनि उनिहरुबीच भएको प्रेम कसरी नष्ट गर्न सक्थ्यो ? म तिमीबिना एकपल पनि एक्लै बस्न सक्दिन भन्ने व्यक्ति कसरी उसको मुख पनि हेर्न चाहंदैन ? के हामीले यस्ता यथार्थ प्रतिदिन सामना गरिरहेका छैनौं ?

 

यस जगतमा हामीले जुनसुकै चीज चाहेका छौं, कामना गरेका छौं ती सबै आफ्नै लागि चाहेका र कामना गरेका हौं l हामीले जतिसुकै भनौं कि मैले तिम्रै लागी चाहेको हो, हामीले पनि जान्दछौं सुन्नेवालाले पनि जान्दछ कि यो “मधुर असत्य” हो, झूठो हो l तर कहिले काहीं झूठो कुरा सुंन्दा पनि राम्रो लाग्ने गर्छ l

 

यदि दुई प्रेमीबीचको कुराकानी सुनियो भने थाहा हुनेछ कि मधुर असत्यको के अर्थ हो l दुबै झूठ बोलिरहेका छन् l यो आवश्यक छैन कि जानेर नै झूठो बोलिरहेका हुन् l धोखा दिइरहेका छन्, यस्तो पनि होइन l स्वयं धोखामा हुन सक्छन् l उनिहरुले भन्ने गर्छन् कि “तिमीभन्दा सुंदर र रूपवती केटीहरु यस संसारमै छैनन् l तिमीबिना म एकक्षण पनि बाँच्न सक्दिन” l तर के यी सबै कुरा वास्तविक हुन् त ? याकि सिर्फ एक-अर्कालाई प्रभावित पार्न गरिएका कुरामात्र हुन् ? ताकि उसलाई पाउन सकियोस् l आफ्नो बनाउन सकियोस् l उसको उपभोग गर्न सकियोस् l के यही वास्तविकता होइन र?

 

यदि वास्तवमा विचार गर्ने हो भने सारा प्रेम, सारा राग, आसक्ति, चाह, वासना आफ्नै सुखको लागि हो l हामी सबैले अरुलाई केवल आफ्नो सुखको निम्ति साधन बनाएका हौं l  

यो पनि पढ्नुहोस्- 'मृत्यु' बोधकथा !