नवरात्रको प्रथम दिन भगवती शैलपुत्रीको विशेष आराधना गरिंदै

म भगवती शैलपुत्री दुर्गालाई अभिवंदना गर्दछु

आश्विन २४,२०७५

-माधव प्रसाद गर्तौला

२४ असोज २०७५ काठमाण्डौ l 

 

वन्दे वांछित लाभाय चन्द्रार्धकृतशेखराम् ।

वृषारूढ़ां शूलधरां शैलपुत्री यशिस्वनीम् ।।

 

अर्थात् म मनोवांछित लाभका लागि मस्तकमा अर्धचंद्र धारण गर्नेवाली, वृषभ (सांढे) माथि आरूढ़ हुनेवाली, शूलधारिणी यशस्विनी भगवती शैलपुत्री दुर्गालाई अभिवंदना गर्दछु l

 

श्रीदुर्गा उपासनाको दुई अवसर पुनीत मानिएका छन्- शारदीय नवरात्र र वासंतिक नवरात्र l यानी वर्षमा कुल अट्ठार यस्ता दैवीय रात्रीहरु हुन्छन् l पहिलो चैत्र शुक्लपक्षको प्रतिपदादेखि चैत्र शुक्ल नवमीसम्म मनाइने नवरात्रलाई वासंतिक नवरात्र तथा आश्विन शुक्लपक्षको प्रतिपदादेखि आश्विन शुक्ल नवमीसम्म शारदीय नवरात्र भनिन्छ l

 

नवरात्रका यी नौ दिनमा जगत जननी महाशक्ति दुर्गाका नौ रूप शैलपुत्री, ब्रह्मचारिणी चंद्रघंटा, कूष्मांडा, स्कंदमाता, कात्यायनी, कालरात्रि, महागौरी, र सिद्धिदात्रीको विधिवत पूजा-अर्चना, आराधना तथा श्री दुर्गा सप्तशती एवं श्रीमद्देवीभागवत पाठको विधान छ l

 

यो नवरात्र व्रत सार्ववर्णिक (सबै वर्णका लागि) हो l नवरात्र व्रत पूरै बस्न असमर्थ भए सामर्थ्यअनुसार सप्तरात्र, पंचरात्र, त्रिरात्र, युग्मरात्र (दुईदिन), एकरात्र भए पनि अवश्य नै गर्नुपर्दछ l प्रतिपदादेखि सप्तमी पर्यंत अनुष्ठान (व्रत) गर्नाले सप्तरात्र व्रत पूरा हुन्छ l

 

आजदेखि नेपालीहरुको महान पर्व बडादशैं सुरु भएको छ । विजयादशमीको पहिलो दिन आज घर-घरमा घटस्थापना (कलश स्थापना) गरिंदैछ । आश्विन शुक्लपक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र प्रारंभ हुनेगर्छ । यस दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने गरिन्छ l

 

नवरात्रको पहिलो दिन आज भगवती दुर्गाको पहिलो स्वरूप शैलपुत्रीको पूजा-आराधना गरिन्छ l पर्वतराज हिमालयको घरमा पुत्रीरूपमा उत्पन्न भएको कारणले यिनको नाम शैलपुत्री राखिएको हो l भगवतीको वाहन वृषभ, दाहिने हातमा त्रिशूल र बायाँ हातमा कमल सुशोभित छ l आफ्नो पूर्व जन्ममा यिनी प्रजापति दक्षको कन्या भई जन्मेकी थिइन l तब यिनको नाम सती थियो l यिनको विवाह भगवान शंकरसंग भएको थियो l एक पटक उनि आफ्ना पिताको घरमा भैरहेको यज्ञमा गएकी थिइन् तर त्यहाँ आफ्नै पति भगवान शंकरको अपमान सहन नसकि त्यही यज्ञकुंडमा हामफाली योगाग्निद्वारा स्वयंलाई भस्म गरेकी थिइन् l अघिल्लो जन्ममा शैलराज हिमालयकी पुत्रीको रूपमा जन्म लिई शैलपुत्री नामले विख्यात भईन् l यस जन्ममा पनि शैलपुत्री देवी भगवान शंकरकै अर्धांगिनी बनिन् l

 

नव दुर्गाहरुमा प्रथम शैलपुत्रीको महत्व र शक्तिहरु अनंत छन् l नवरात्रको प्रथम दिन यिनै शैलपुत्रीको पूजन एवं विशेष आराधना गर्ने गरिन्छ l यस दिनको उपासनमा योगीहरुले आफ्नो मनलाई मूलाधार चक्रमा स्थिर गर्छन् l यहींबाट उनिहरुको योगसाधना प्रारंभ हुन्छ l भगवती शैलपुत्रीको यसै दिन पूजन गरिन्छ l आवाहन, स्थापन र विसर्जन यी तीनै कृत्य आज प्रातःकाल नै संपन्न हुन्छ l कुनै एकांत एवं पवित्र स्थानमा मृत्तिकाले वेदी बनाएर उसमा जौ, गहूँ आदि छरी त्यसै माथि कलश स्थापित गरिन्छ l कलशमा भगवतीको प्रतिमा पनि स्थापित गरिन्छ l प्रतिमा कुनैपनि धातु या मृत्तिकाको हुनसक्छ l कलशको पछाड़ी स्वस्तिक र उसको युग्म पार्श्वमा त्रिशूल बनाइन्छ l भगवती शैलपुत्रीको पूजन गर्नाले मूलाधार चक्र सक्रिय हुन्छ l जसले अनेक प्रकारका आत्मिक उपलब्धीहरु प्राप्त हुन्छन् l

 

भगवती शैलपुत्रीको ध्यान गर्ने मंत्र

 

वन्दे वांछितलाभाय चन्द्रार्धकृतशेखराम् ।

वृषारूढ़ां शूलधरां शैलपुत्रीं यशस्वनीम् ॥

पूर्णेन्दुनिभां गौरी मूलाधारस्थितां प्रथम दुर्गां त्रिनेत्राम् ॥

पटाम्बरपरिधानां रत्नकिरीटानामालंकारभूषिता ॥

प्रफुल्लवंदनां पल्लवधरां कातंकपोलां तुंगकुचाम् ।

कमनीयां लावण्यां स्नेहमुखीं क्षीणमध्यां नितम्बिनीम् ॥

 

भगवती शैलपुत्रीको आराधना गर्ने मंत्र

 

प्रथम दुर्गा त्वं हि भवसागर: तारणीम् ।

धनऐश्वर्यप्रदायिनीं शैलपुत्रीं प्रणमाम्यहम् ॥

त्रिलोकजननी त्वं हि परमानंदप्रदीयताम् ।

सौभाग्यारोग्यदायनीं शैलपुत्रीं प्रणमाम्यहम् ॥

चराचरेश्वरी त्वं हि महामोहविनाशिनि ।

भुक्तिमुक्तिप्रदायनीं शैलपुत्रीं प्रणमाम्यहम् ॥

 

यो पनि पढ्नुहोस- घटस्थापना विधि सहित यसको महत्व एवं परिचय