नवरात्रिको दोस्रो दिन भगवती ब्रह्मचारिणीको आराधना गरिंदै

परब्रह्म परमात्मासँग साक्षात् गराउने ब्रह्मचारिणी देवीले सबैको रक्षा गरुन्

आश्विन २५,२०७५

-माधव प्रसाद गर्तौला

२५ असोज २०७५ काठमाण्डौ l

 

तपश्चारिणी त्वंहि तापत्रय निवारणीम् ।

ब्रह्मरूपधरा ब्रह्मचारिणी प्रणमाम्यहम् ॥

 

नवरात्रको दोस्रो दिन भगवती दुर्गाको नौ रूपमध्ये दोस्रो रूप ब्रह्मचारिणीको विशेष आराधना गरी मनाइंदै छ l भगवती दुर्गा आफ्नो द्वितीय स्वरूपमा ब्रह्मचारिणीको नामले प्रसिद्ध हुनुहुन्छ । यस स्वरूपमा देवी कठोर तप गर्ने, ब्रह्मको आचरण अर्थात् कठोर ताप सहन सक्ने बताइएको छ । भगवती ब्रह्मचारिणीले शिरमा अर्धचन्द्र र नाना प्रकारको आभूषण धारण गर्नुभएको छ । भगवती ब्रह्मचारिणीले आफ्नो दाहिने हातमा जपमाला एवं बायाँ हातमा कमंडलु धारण गर्नुभएको छ । ब्रह्मचारिणी देवीको स्वरूप पूर्ण ज्योतिर्मय एवं अत्यन्त भव्य छ । परब्रह्म परमात्मासँग साक्षात् गराउने ब्रह्मचारिणी देवी तीन नेत्रले युक्त हुनुहुन्छ ।

 

पर्वतराज हिमालयको पुत्रीको रूपमा उत्पन्न भई भगवती ब्रह्मचारिणीले भगवान शिवलाई पतिको रूपमा पाउने दृढ़ तथा घोर निश्चय गर्नुभएको थियो । आफ्नो दृढ़ निश्चयअनुसार भगवती ब्रह्मचारिणीले प्रतिदिन आशुतोष भगवान शंकरजीको अर्चना आरम्भ गर्नुभयो l  तर त्यो अर्चनाले आशुतोष भगवान शंकर प्रभावित गर्नसकेन l भगवान शंकर ध्यानस्थ नै भैरहनुभयो l देवताहरूले कामदेवलाई भगवान शंकरजीको ध्यानभंग गर्न समेत पठाए, तर कामबाणको प्रयोगले समेत भगवान शंकर अप्रभावित हुनुभएकोले भगवती ब्रह्मचारिणी भयभीत हुनुभयो l

 

आशुतोष भगवान शंकरजीको अर्चना त्यागी भगवती ब्रह्मचारिणी घोर विलाप गर्न लाग्नुभयो । अन्तत: देवर्षि नारदजीको उपदेशअनुसार भगवती ब्रह्मचारिणीले आशुतोष भगवान शंकरजीलाई पतिको रूपमा प्राप्त गर्नका लागि कठोर तप प्रारम्भ गर्नुभयो र आफ्नो घोर र दुष्कर तपस्याको कारणले नै देवीको ब्रह्मचारिणी नाम रहन गएको हो । भगवती ब्रह्मचारिणीले तीन हजार वर्षसम्मको कठोर, निराहार र निर्जला रहेर तपस्या गर्नु लाग्नुभयो । पहिलो वर्ष देवीले फलाहार मात्र गर्नुभयो l त्यसपछि दोस्रो वर्ष केवल पातको मात्र आहार प्रारंभ गर्नुभयो l तेस्रो वर्षबाट पातको पनि सेवन त्याग गरिदिनुभयो l पात या पर्ण भक्षण गर्न छोडेको हुनाले नै भगवती ब्रह्मचारिणीको नाम 'अपर्णा' पनि रहेको हो ।भगवतीको कठिन तपस्याको कारण तीनै लोकमा हाहाकार मच्चियो, यहाँसम्म कि स्वयं ब्रह्माजीले देवीको अभिवादन गरेर आकाशवाणी गर्नुभएको थियो l

 

माता सतीको देह त्याग पश्चात् आशुतोष भगवान शंकरजी पूर्णतः विरक्त भएर हिमालय पर्वतमा गई ध्यानमा लीन हुन थाल्नुभएको थियो l आफ्नो कठोर तपस्याबाट यिनै भगवती ब्रह्मचारिणीले भगवान शंकरजीको  ध्यान आकर्षित गरी अंततः शंकरजीलाई विवाहको लागी तयार गराइन् ।

 

भगवती ब्रह्मचारिणीको ध्यानगर्ने मन्त्र

 

ॐ बालरविद्युतिमिन्दुकिरिटां तुङ्गकुचां नयनत्रययुक्ताम् ।

स्मेरमुखीं वरदाङ्कुशपाशाभीतिकरां प्रभजे भुवनेशीम् ।।

 

भगवती ब्रह्मचारिणीको स्तुति गर्ने मंत्र

 

तपश्चारिणी त्वंहि तापत्रय निवारणीम् ।

ब्रह्मरूपधरा ब्रह्मचारिणी प्रणमाम्यहम् ॥

शंकरप्रिया त्वंहि भुक्तिमुक्तिप्रदायिनी ।

शान्तिदा ज्ञानदा ब्रह्मचारिणीप्रणमाम्यहम् ॥

 

यो पनि पढ्नुहोस्- नवरात्रको प्रथम दिन भगवती शैलपुत्रीको विशेष आराधना गरिंदै