Trending :
 

प्रियङ्का चोपराले बनाएको नेपाली फिल्म ‘पाहुना’लाई दुईवटा अन्तर्राष्ट्रिय पुरस्कार

आश्विन २५,२०७५

-

२५ असोज २०७५ काठमाडौं l
 
 
बलिउड अभिनेत्री प्रियङ्का चोपड़ाले निर्माण गरेको नेपाली फिल्म ‘पाहुना’ले दुईवटा अन्तर्राष्ट्रिय पुरस्कार जितेको छ।
 
पाहुनाले जर्मनीमा असोज १५ देखि २१ गतेसम्म आयोजित स्कलिङ्गजेल इन्टरनेशनल चिल्ड्रेन फिल्म फेस्टिभलमा दुइवटा सर्वश्रेष्ठ फिल्म (जुरी छनोट) र अन्तर्राष्ट्रिय फिचर फिल्ममा विशेष उल्लेखनीय पुरस्कार जितेको हो।
 
पाखी ए टायरवालाले निर्देशन गरेको पाहुना सिक्किमको फिल्म हो, जसलाई प्रियङ्काको पर्पल पेबल पिक्चर्सले निर्माण गरेको हो। पाहुना तीन नानीहरूको कथामा केन्द्रित फिल्म हो, जो आफ्ना अभिभावकहरूबाट छुट्टिएका हुन्छन्।
 
नेपालमा माओवादी आन्दोलन उत्कर्षमा पुगेको बेला ती नानीहरू भागेर सिक्किम आएको कथामा यो फिल्म आधारित छ।
 
फिल्ममा इशिका गुरुङ, अनमोल लिम्बु र सुजय राई प्रमुख भूमिकामा छन्। संवाद विश्वास तिमसिनाले लेखेका छन्। आधिकारिक रूपमा रिलिज नभए तापनि पाहुना पछिल्लो वर्ष टोरोन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा विश्व प्रिमियरमा सहभागी बनेको थियो।
 
प्रियङ्का चोपड़ाकी आमा मधु शर्माले पाहुनाले अन्तर्राष्ट्रिय मञ्चमा दुइटा पुरस्कार जितेपछि खुशी व्यक्ति गरेकी छन्। पर्पल पेबल पिक्चर्सकी प्रबन्धक निर्देशकसमेत रहेकी उनी यो फिल्मकी सह–निर्माता पनि हुन्।
 
‘हामी सबैका लागि पाहुना एउटा महत्वपूर्ण फिल्म हो। हामीले पाहुनाको यात्रा शुरु गर्दा यति टाढ़ासम्म जान्छ भन्ने सोचेका थिएनौं’, उनले थपिन्, ‘तर भगवान् दयालु छन्। यो फिल्मले भारतमा मात्र होइन विश्वभरिका दर्शकहरूको प्रशंसा पाइरहेको छ।’