व्यापार युद्ध अन्त्य गर्न जिनपिङ र ट्रम्पले भेटवार्ता गर्ने
-
२७ असोज २०७५ काठमाण्डौ l
एजेन्सी । हाल जारी व्यापार युद्ध अन्त्य हुने अपेक्षामा ट्रम्प र चिनियाँ राष्ट्रपति जिनपिङबीच आगामी महिना जी–२० सम्मेलनमा भेटवार्ता हुने सहमति भएको संचार एजेन्सी वासिङटन पोस्टले जनाएको छ । यसरी व्यापार युद्ध सुरु भएदेखि ट्रम्प र जिनपिङबीच यो पहिलो प्रत्यक्ष वार्ता हुने बताइएको छ । राष्ट्रपति ट्रम्पले यसअघि नै व्यापार युद्ध जिनपिङ र उनीबीचको प्रत्यक्ष कुराकानीपछि मात्र अन्त्य हुने ठहर गरेका थिए ।
व्यापारिक क्षेत्रमा मात्र नभएर दुवै देशबीचको कूटनीतिक सम्बन्ध समेत संकटमा पर्ने खतरा भएपछि विवाद अन्त्य गर्न दुई प्रमुखहरुले भेट गर्ने तय गरेको बताइएको हो । दुवै पक्षले एकअर्काको माग सम्बोधन नगर्दा विवादले झनै ठूलो रुप लिइरहेको छ । यसै हप्ता ट्रम्पले २०० अर्ब बराबरका चिनियाँ आयातमा शुल्क वृद्धि गरेपछि चीनले पनि ६० अर्बका अमेरिकी वस्तुको मूल्य बढाएको थियो । यससँगै चर्किएको व्यापारिक विवादले विश्व अर्थतन्त्रमा समेत खराब असर पार्नेमा ठूलो चिन्ता व्यक्त गरिएको छ ।
त्यसमा राष्ट्रपति ट्रम्पले चीनलाई आफ्नो अन्यायपूर्ण नीति परिवर्तन नगरे बाँकी २५७ अर्ब बराबरका आयातमा समेत २५ प्रतिशतले शुल्क वृद्धि गर्ने धम्की दिइरहेका छन् । यता चीनले भने आफू अमेरिकाको आक्रामक शैलीसँग नडराउने अडान लिएको छ ।
बुधबार एक टेलिभिजन कार्यक्रममा बोल्दै ट्रम्पले आफ्नो व्यापार नीति चिनियाँ अर्थतन्त्रलाई तल झार्न सफल भइरहेको र आफूले चाहेमा यो भन्दा ठूलो प्रभाव पार्न सक्ने उल्लेख गरेका हुन् । यस्तोमा उक्त सम्मेलनले यस व्यापारयुद्धको क्षतिलाई बढ्नबाट रोक्न सक्नेमा अमेरिकी अधिकारी उत्साहित रहेका छन् । यता अमेरिकी व्यापारका प्रतिनिधि रोबर्ट लाइट्जर र सल्लाहकार पीटर नभरोले चीनसँग धेरै कठोर नीति अपनाउने गरेकाले चिनियाँ अधिकारीहरुले पनि यसपछि ट्रम्प समक्ष व्यक्तिगत अपील राख्ने मौका पाउने बताइएको छ ।
यसअघि चिनियाँ पक्षले अमेरिकाको व्यापारिक घाटा कम गराउन धेरै मात्रामा कृषि तथा औद्योगिक उत्पादनहरु खरिद गर्ने प्रस्ताव राखेको थियो तर ट्रम्पले यसलाई अस्वीकार गर्दै चीनले आफ्नो व्यापारिक नीतिमा प्रभावकारी परिवर्तन गर्नुपर्ने माग राखेका हुन् । यसमा धेरै अमेरिकी व्यापारीहरुले ट्रम्पको सोचाइसँग सहमति जनाएपनि शुल्क वृद्धिको उनको तरिकाप्रति भने असमर्थन जनाइरहेका छन् ।