नवरात्रिको छैठौंं दिन माता कात्यायनीको विशेष आराधना गरिंंदै

भगवती कात्यायनी माता हामी सबैका लागि शुभदायी हऊन्

आश्विन २९,२०७५

-माधव प्रसाद गर्तौला

२९ असोज २०७५ काठमाण्डौ l 

 

 

चन्द्रहासोज्वलकरा शार्दूलवरवाहना ।

कात्यायनी शुभं दद्यादेवी दानवघातिनी ॥

 

अर्थात् चंद्रहाससमान देदीप्यमान, शार्दूल अर्थात् सिंहमाथि विराजमान र दानवहरुको विनाशिनी भगवती कात्यायनी माता हामी सबैका लागि शुभदायी हऊन् l

 

बडा दशैंअन्तर्गत नवरात्रको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ । आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।

 

पौराणिक आख्यान अनुसार 'कत' नामक एक प्रसिद्द महर्षि हुनुहुन्थ्यो l  वहाँकै पुत्र 'कात्य' भए l त्यहि कात्यको गोत्रमा सुप्रसिद्ध ऋषि कात्यायन उत्पन्न हुनुभयो । वहाँले भगवती दुर्गालाई पुत्रीको रूपमा पाउन कठिन तपस्या गर्नुभयो र ऋषि कात्यायनकै इच्छानुसार भगवती दुर्गा कात्यायन ऋषिको पुत्रीको रूपमा जन्म लिनुभयो र कात्यायनी नामले प्रसिद्ध हुनुभयो । मस्तकमा अर्धचन्द्र धारण गरेकी भगवती कात्यायनी नाना प्रकारको अलंकार या आभूषणबाट सुशोभित हुनुहुन्छ l  चार भुजाले युक्त आफ्नो दाहिने हातले भगवती कात्यायनीले वर तथा अभय मुद्रा प्रदर्शित गरिरहनु भएको तथा बायाँ हातमा कमल तथा तरवारले सुशोभित हुनुहुन्छ । भगवती कात्यायनीको वाहन सिंह हो l

 

भगवती कात्यायनीको स्वरूप अत्यन्त दिव्य छ l  भारतको मथुरास्थित व्रजमण्डलकी अधिष्ठात्री देवी भगवती कात्यायनी नै हुनुहुन्छ l व्रजका गोपिनीहरूले भगवान श्रीकृष्णलाई नै पतिरूपमा प्राप्त गर्नका निम्ति भगवती कात्यायनीको आराधना गरेका थिए । नवरात्रको छैटौं दिन अर्थात् षष्ठी तिथि यिनै कात्यायनीलाई समर्पित छ । भगवती कात्यायनीको श्रद्धा एवं भक्तिले गरेको उपासनाको प्रभावले अविवाहिताहरूको यथाशीघ्र विवाह हुने तथा सरलतापूर्वक धर्म, अर्थ, काम तथा मोक्षलाई प्राप्त गर्न सकिने शास्त्रकथन रहेको छ ।

 

एक अन्य आख्यानअनुसार पौराणिक कालमा महिषासुर नामक दैत्यले देवताहरूलाई आक्रमण गरी अमरावती (स्वर्ग) बाट निष्काशित गरेको गरी तीनै लोकमा आतंक मच्चाएको थियो l ब्रह्माजीको कठोर तपस्या गरेर दैत्य राजाले वरदान प्राप्त गरेको थियो कि उसको मृत्यु कुनै स्त्रीको हातबाट मात्र हुन सकोस् । ब्रह्मा,  विष्णु,  शंकर,  ईन्द्र,  यम,  वरुणआदि समस्त देवताहरूले आफ्नो-आफ्नो तेजको अंशबाट एक शक्तिलाई उत्पन्न गराए l यिनै शक्तिलाई आ-आफ्ना नाना प्रकारका अस्त्र-शस्त्रयुक्त शक्तिहरू प्रदान गर्नुभयो । महर्षि कात्यायनले नै सर्वप्रथम यिनै भगवतीको अर्चना गर्नुभएको थियो l  परिणामस्वरूप वहाँको नाम कात्यायनी रहन गएको थियो l अंततः महिषासुरलाई वध गरेकै कारण भगवतीको नाम महिषासुरमर्दिनी दुर्गा प्रसिद्ध भएको हो ।

 

ध्यान गर्ने  मंत्र

 

चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना ।

कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी ।।

 

जप गर्ने मंत्र

 

या देवी सर्वभूतेषु शक्ति रूपेण संस्थिता ।

नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नम: ॥

 

विवाहको लागि मंत्र

 

ॐ कात्यायनी महामाये महायोगिन्यधीश्वरि ।

नंदगोपसुतम् देवि पतिम् मे कुरुते नम: l l

 

यो पनि पढ्नुहोस- नवरात्रिको पांचौं दिन स्कंदमाताको विशेष उपासना गरिंंदै