नवरात्रिको आठौं दिन माता महागौरीको विशेष अर्चना गरिंदै

भगवती महागौरीको ध्यान,स्मरण,पूजन-आराधन भक्तहरुका लागि सर्वविध कल्याणकारी छ

आश्विन ३१,२०७५

-माधव प्रसाद गर्तौला

३१ असोज २०७५ काठमाण्डौ l 

 

श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचि: l

महागौरी शुभं दद्यान्महादेवप्रमोददा l l

 

नवरात्रिको आठौं दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ । नवरात्रको आठौं दिन महादुर्गास्वरूपा भगवती महागौरीको आराधना गरिन्छ । भगवती दुर्गा आफ्नो आठौं स्वरूपमा महागौरीको नामले प्रसिद्ध हुनुहुन्छ । पौराणिक कथानकअनुसार वहाँको आयु आठ वर्षकी बालिकाको जस्तै छ l वहाँको स्वरूप अत्यन्त मनोहर, सुन्दर तथा दिव्य छ l भगवती महागौरी पूर्णतः गौर वर्णकी हुनुहुन्छ ।

 

पौराणिक कथाअनुसार भगवती महागौरी नाना प्रकारको दिव्य आभूषण धारण गरेकी, चार भुजाहरूले युक्त हुनुहुन्छ l भगवती महागौरीको दाहिने भुजामा त्रिशूल तथा अभय मुद्रा प्रदर्शित गर्नुभएको, बायाँ भुजामा भगवतीले वरदमुद्रा प्रदर्शित गर्नुभएको तथा डमरु धारण गर्नुभएको छ । भगवतीको वाहन वृषभ अर्थात् साँढे हो l त्यसैले भगवती महागौरी वृषभमा सवारी गर्नुहुन्छ । यिनै देवीले देवर्षि नारदद्वारा उपदेश पाउंदा देवाधिदेव महादेवलाई पतिरूपमा प्राप्त गर्नको लागि कठोर तपस्या गर्ने प्रतिज्ञा गर्नुभएको थियो । आफ्नो दुष्कर तपको कारण देवी पार्वतीको शरीर कालो भएको थियो l वहाको जस्तो महान तथा उग्र तप न कसैले आजसम्म गरेको थियो न कसैले गर्न सक्छ यस्तो स्वयं ब्रह्माजीले भगवतीलाई भन्नुभएको थियो । देवीको तपस्याबाट प्रसन्न भएका आशुतोष भगवान शिवले गंगाको पवित्र जलबाट वहाँको शरीरलाई खूब मजाले धुनुभयो l जसको कारण विद्युतको जस्तै प्रभा र गौर वर्णकी हुनुभयो ।

 

भगवती महागौरीको ध्यान, स्मरण, पूजन-आराधना भक्तहरुका लागि सर्वविध कल्याणकारी छ l हामी सबैले यिनको ध्यान गर्नुपर्दछ l यिनको कृपाले अलौकिक सिद्धि प्राप्त हुन्छ l मनलाई अनन्य भावले एकनिष्ठ गरी मनुष्यले सदैव यिनकै पदारविंदमा समर्पित हुनुपर्छ l यिनको उपासनाले भक्तजनहरुको असंभव कार्यपनि संभव हुन्छ l पुराणहरुमा भगवती महागौरीको महिमा प्रचुर मात्रमा आख्यान गरिएको छ l यिनले मनुष्यको वृत्तिहरुलाई सत तर्फ प्रेरित गरेर असतको निवारण गर्छिन l हामीहरुलाई प्रपत्तिभावले सदैव यिनको शरणागत बन्नुपर्दछ l

 

भगवती महागौरीको ध्यान गर्ने मंत्र

 

ॐ अरुणां करुणातरङ्गिताक्षीं,

धृत-पाशांकुश-बाण-चापहस्ताम् l

अणिमादिभिरावृतां मयुखै-

रहमित्येव विभावये भवानीम् l l

 

भगवती महागौरीको स्तुति गर्ने मंत्र

 

वराभीतिकरां त्रिशूल–डमरुधरां महागौरीं भजेहम् ।।

पटाम्बर–परिधानां मुदृहास्यां नानालङ्कारभूषिताम् ।

मञ्जीर–हार–केयूर–किङ्किणी–रत्नकुण्डल–मण्डिताम् ।।

प्रफुल्ल–वदनां पल्लवाधरां कान्तकपोलां त्रैलोक्यमोहनाम् ।

कमनीयलावण्यां मृणाल–चन्दन–गन्धलिप्ताम् ।।

 

भगवती महागौरीको स्तोत्र

 

सर्वसङ्कटहन्त्री त्वं हि धनैश्वर्यप्रदायनी ।

ज्ञानदा चतुर्वेदमयी महागौरीं प्रणमाम्यहम् ।।

सुख–शान्तिदात्रीं धन–धान्य–प्रदायिनीम् ।

डमरुवाद्य–प्रियामाद्यां महागौरीं प्रणमाम्यहम् ।।

त्रैलोक्यमङ्गला त्वं हि महागौरीं प्रणमाम्यहम् ।।

 

यो पनि पढ्नुहोस्- नवरात्रिको सातौं दिन माता कालरात्रिको विशेष आराधना गरिंदै