नवरात्रिको नवौं दिन माता सिद्धिदात्रीको विशेष आराधना गरिंदै

भगवती सिद्धिदात्रीको साधना गर्नाले लोक-परलोक दुबै मंगलदायी हुने विश्वास

कार्तिक ०१,२०७५

-माधव प्रसाद गर्तौला

१ कार्तिक २०७५ काठमाण्डौ l 

 

सिद्धगंधर्वयक्षाद्यैरसुरैरमरैरपि ।

सेव्यमाना यदा भूयात् सिद्धिदा सिद्धिदायनी ॥

 

आज नवरात्रिको नवौं दिन l आज भगवती दुर्गाको नवौं शक्ति स्वरुपा भगवती सिद्धिदात्रीको विशेष पूजा, उपासना गरी मनाइंदै छ l आजको दिन शक्तिस्वरुपा भगवती सिद्धिदात्रीको अर्चना गर्नाले सम्पूर्ण जगतनै जित्नसक्ने क्षमता प्राप्त हुने र जगतमा केही कुरापनि अगम्य नहुने मान्यता छ रहेको छ । श्रीमद्देवीभागवतमा उल्लेख भएअनुसार यिनै भगवतीको असीम करुणाका कारण देवाधिदेव महादेव स्वंयले पनि सिद्धि प्राप्त गरेका हुन् ।

 

सिंहको वाहनमा वीराजमान यी भगवतीको अति प्रिय वस्तु कमलको फूल हो । भगवती सिद्धिदात्रीको साधना गर्नाले यस लोक र परलोक दुबै मंगलदायी हुने विश्वास छ l तथा शक्तिस्वरुपा भगवती सिद्धिधात्री प्रसन्न भएमा भक्तजनहरुको कुनैपनि इच्छा बाँकी नहुने भनि मार्कण्डेयपुराणमा उल्लेख गरिएको छ । मार्कण्डेय पुराणका अनुसार अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व अनि वशित्व भनेर आठवटा सिद्धिहरुको चर्चा गरिएको छ-

 

अणिमा महिमा चैव लघिमा गरिमा तथा l

प्राप्तिः प्राकाम्यमीशित्वं वशित्वं चाष्ट सिद्धयः l l

 

आजकै दिन बिहान कलपूर्जा,  हातहथियारहरू तथा सवारीका साधन आदिलाई बलि दिई विश्वकर्माको पूजा समेत सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दस वर्षसम्मका नवकन्याहरूको पनि पूजाआजा गरिन्छ । बलिको अर्थ त्याग हो l बलि दिनु अर्थात् त्यागिदिनु । काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईर्ष्या, द्वेष, छल, कपट यी दस प्रकारका विकारहरू हुन्छन् । विकारबाट ग्रस्त मानिस वासनाले युक्त क्रोधी, लोभी, मोहमत्त, मद र मात्सर्यले चुर भएको हुन्छ । भगवती नवदुर्गाको प्रसादले यी अवगुणहरू हटून्, सुख, शान्ति तथा समृद्धि प्राप्त होस् भन्ने भाव दशैंको हो । कामको प्रतीक बोको, क्रोधको प्रतीक राँगो, लोभको प्रतीक भेडो, मद-मात्सर्यको प्रतीक कुखुरो र हाँसलाई मानिन्छ । यी प्रतिनिधि पात्रहरूको प्रवृत्तिस्वरूप मानवमा कामुकता, क्रोधीपन, लोभीपन, मोह र अहङ्काररूपी दुर्भावनाहरु उत्पन्न हुन्छन् । त्यस्ता दुर्भावनाहरूलाई नवदुर्गाको मन्दिरमा लगेर चढाउँ अर्थात् त्यागौं भन्ने शास्त्रीय मान्यता हो ।

 

नवमी कृत्य नित्यपूजा एवं हवनादि

 

घटस्थापनादेखि अर्चना गरिएकी भगवती दुर्गा भवानीको नित्यपूजा, महाष्टमीको दिन स्थापित नवदुर्गा भगवतीको पूजा, बलिदान, संकल्पित जप-पाठादि पूर्ण गरी हवन गर्नुपर्दछ । हवन गर्दा अग्नि स्थापना गरी पूर्वाङ्गसम्म हवनको विधि पुर्याएर संकल्प गरेको जप-पाठअनुसार दशांश हवन गर्नुपर्छ । जस्तै १०००० जप भए १००० हवन १०० तर्पण १० मार्जन र १ ब्राह्मणभोजन जप, पाठ, हवन, तर्पण, मार्जन, ब्राह्मण भोजन र यथाशक्ति दान आदि गर्नुपर्छ ।

 

हवन गर्दा यस महानवमीमा भगवती दुर्गाभवानीको प्रधानता भएकाले भव्य पूजापाठ विशेष नभए पनि भगवती दुर्गाको बीजमंत्र “ॐ ऐं ह्रीं क्लीं चामुण्डायै विच्चे” यस मन्त्रले १००८ पटक अथवा १०८ पटक हवन गर्नुपर्छ । त्यसपछि स्थापित देवताको उत्तराङ्ग पूजा गर्नुपर्छ । अग्निस्थापनाबाट पूर्वाङ्ग हवन गरी संकल्प अनुसारको विशेष हवन गरेपछि उत्तराङ्ग हवन गर्नुपर्छ । त्यसपछि तर्पण, मार्जन, पूर्णपात्र आरती आदि शास्त्रोक्त विधिअनुसार गर्नुपर्छ । अन्त्यमा कन्यालार्इ पूजन तथा भोजन र ब्राह्मण भोजनसमेत गरेपछि आफूले पनि बन्धुवर्गसहित भोजन गर्नुपर्छ ।

 

भगवती सिद्धिदात्रीको ध्यान गर्ने मंत्र

 

ॐ बंधूककाञ्चननिभं रुचिराक्षमालां,

पाशाङ्कुशौ च वरदां निजबाहुदण्डैः l

बिभ्राणमिन्दुशकलाभरणं त्रिनेत्र-

मर्धाम्बिकेशमनिशं वपुराश्रयामि l l

 

भगवती सिद्धिदात्रीको स्तुति गर्ने मंत्र

 

उत्तप्तहेमरुचिरां रवि-चंद्र-वह्नि-

नेत्रां धनुश्शरयुताङ्कुशपाशशूलम् l

रम्यैर्भुजैश्च दधतीं शिवशक्तिरूपा,

कामेश्वरीं हृदि भजामि धृतेन्दुलेखाम् l l 

 

यो पनि पढ्नुहोस्- नवरात्रिको आठौं दिन माता महागौरीको विशेष अर्चना गरिंदै