आज विजयादशमी, देशभरि नै हर्षोल्लासका साथ मनाइंदै

विजयादशमीले असद्वृत्तिहरु त्यागी सद्वृत्ति ग्रहण गर्ने प्रेरणा दिन्छ

कार्तिक ०२,२०७५

-माधव प्रसाद गर्तौला

२ कार्तिक २०७५ काठमाण्डौ l 

 

लक्ष्मीस्तेपकङ्जाक्षी निवसतु भवने भारती कंठदेशे,

वर्धन्तां वन्धुवर्गाः सकलरिपुगणा यान्तु पातालमूले l

देशेदेशे च कीर्तिः प्रसरतु भवतां कुंदपुष्पेन्दुशुभ्रां,

जीव त्वं पुत्रपौत्रैः सकलसुखवृतैः हायनानां शतञ्च l l

 

नवरात्रिको दशौं दिन अर्थात् दशैंको एकदमै महत्वपूर्ण दिन विजयादशमी । नवरात्रिको दशौं दिन हो विजयादशमी अर्थात् नेपालीहरूको महान् पर्वको महान् दिन । नयाँ उत्सव र नयाँ शक्तिको समन्वय गराउने दिन । आज विजया दशमी अर्थात टीका लगाउने दिन । मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी देशभर हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ ।

 

विजया दशमीमा भगवती दुर्गाको प्रसाद टीका-प्रसाद ग्रहण गर्न आज बिहान ९ बजेर ५१ मिनेटको साइत जुरेको छ । तर दशैँ अवधिभर जुनसुकै बेला मान्यजनबाट टीका-प्रसाद र आशीर्वाद लिन साइत आवश्यक नहुने पनि कथन रहेको छ ।

 

नवरात्रिका नौ दिन भगवती दुर्गाको विविध स्वरुपको उपासना गरी शक्तिशाली बनेको मनुष्य विजय प्राप्तिको लागि तत्पर रहन्छ विजयादशमीको दिन । आश्विन शुक्ल दशमीमा तारा उदय हुने समय ‘विजय’ नामक मुहूर्त हुन्छ । यो काल सर्वकार्य सिद्धिदायक हुन्छ । यसकारण पनि यसलाई विजया दशमी भनिएको हो ।

 

आश्विन महिनाको शुक्लपक्षको श्रवण नक्षत्रले युक्त दशमी तिथिलाई विजयादशमी बुझ्नुपर्छ । षोडशोपचारले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा-आराधना गरिन्छ । तामाको थालीमा चन्दनले अष्टदल कमल बनाई त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीनवटा प्रतीक राखी बीचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आह्वान र सोह्र सामग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमराले पूजा गरी आरती र पुष्पाञ्जली गरिन्छ ।

चन्दन, अक्षता, फूल छर्कँदै नजानेर गरेको गल्तीमा माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरिन्छ । यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ ।

 

राष्ट्रिय पर्व समेत मानिने दशैं (नवरात्र) हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म (नवरात्रभर) शक्तिको आराधना गरी दशौं दिन बिहान दशमीका दिन टीका-प्रसाद ग्रहण गर्छन् । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) मा जमरा राखी नवमीसम्म नवरात्र विधिले प्रत्येकदिन फरक-फरक देवीहरूको अर्चना हुन्छ ।

 

प्रतिपदादेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्री, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजा गर्दै सप्तशती (चण्डी) पाठ गरी नव दुर्गा र त्रिशक्ति महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष आराधाना गरिन्छ । विजयादशमीको दिन भगवतिले आसुरी शक्तिमाथी र रामले रावणमाथी विजय प्राप्त गरेको उपलक्ष्य र खुशीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरुप रातो टिका र जमरा लगाउने प्रचलन छ ।

 

आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाना खाने-ख्वाउने, घर-आँगन,  बाटोघाटो, गाँउ-बस्ती सफासुग्घर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ ।

 

आफ्ना नाता, कुटुम्ब, ठुला-बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने गरिन्छ l हिन्दू संस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रगट होस् भन्ने ध्येयले विजयादशमीको उत्सव शुरु भएको हो । विजयादशमीले दश प्रकारका वृत्तिहरु काम, क्रोध, लोभ, मोह, मद, मत्सर, अहङ्कार, आलस्य, हिंसा र चोरी त्याग्ने प्रेरणा दिन्छ ।

 

टिका-प्रसाद ग्रहण गर्दा दिइने आशीर्वादात्मक मंत्र

 

आयु द्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राधवे,

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

सौर्यं शान्तनवे बलं हलधरे सत्यं च कुन्तीसुते,

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

 

अर्थात् द्रोणपुत्र अश्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कीर्ति होस्, मर्यादा पुरुषोत्तम भगवान रामको जस्तो शत्रुत्व हरणको क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस् । शांतनु झैं शौर्य होस्, बलरामको जस्तो बल होस्, कुंतीपुत्र युधिष्ठिरको जस्तो सत्यवान् होस्, विदूरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् ।

 

जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी ।

दुर्गा क्षमा शिवाधात्री स्वाहा स्वधा नमोऽस्तुते । l