बैशाख २९,२०७४
-
वैशाख २९ -
तीन वर्षदेखि हुन नसकेको एकदिवसीय राष्ट्रिय प्रतियोगिता जेठ दोस्रो साताबाट हुने भएको छ । प्रधानमन्त्री कपको नाममा खेलाइने प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ९ जेठबाट आयोजना गर्न लागेको हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जेठ ९ गतेदेखि सुरु भई २४ गतेसम्म चल्ने प्रतियोगितामा पाँच विकास क्षेत्र र तीन विभागीय टोलीको सहभागिता रहनेछ । टोलीलाई दुई समूहमा विभाजन गरिने प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ । प्रतियोगितामा १५ खेल हुनेछन् ।
‘प्रदेशका सबै संरचना नबनिसकेको अवस्थामा हामी विकास क्षेत्रलाई आधार मानेर प्रतियोगिता गर्दै छौ, आगामी संस्करणको प्रतियोगितामा प्रदेशका टोलीहरूले भाग लिनेछन्,’ राखेप सदस्यसचिव केशवकुमार विष्टले भने । क्षेत्रीय टोलीले जिल्लाका खेलाडी बोलाएर छनोट गरिरहेको विष्टले बताए । छनोट तथा तयारीका लागि रोखपले प्रत्येक क्षेत्रलाई ५०–५० हजार उपलब्ध गराएको छ ।
प्रतियोगिता नेपालमा आयोजना हुने क्रिकेट प्रतियोगितामध्यै सबैभन्दा बढी पुरस्कार राशिको हो । विजेताले २० लाख नगद रुपैयाँ पाउनेछ भने उपविजेतालाई १० लाख दिइनेछ । यसअघि धनगढी प्रिमियर लिगको विजेताले १५ लाख तथा उपविजेताले ७ लाख पाएका थिए । १ करोड १० लाख बजेट रहेको प्रतियोगिताको पुरस्कारमा मात्र ३७ लाख खर्च हुनेछ । सेमिफाइनलमा पराजित हुने टोलीलाई ५० हजार दिइनेछ भने लिग म्याच जित्ने १२ टोलीले २५ हजार पाउँछन् । म्यान अफ दी सिरिजलाई १ लाख, उत्कृष्ट बलर र ब्याट्सम्यानलाई ५०–५० हजार तथा इमर्जिङ प्लेयरलाई २५ हजार प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ दी सिरिजले ५ हजार पाउँछन् ।
राष्ट्रिय खेलकुद परिषदको आयोजना र काठमाडौं ट्रेनिङ सेन्टरको व्यवस्थापनमा हुने प्रतियोगितामा सहभागी सबै खेलाडीको अनलाइन रजिस्ट्रेशन हुनेछ ।
यो प्रतियोगितालाई विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँग हुने खेलका लागि नेपाली टोली छनौटको आधारसमेत हुने ज्ञानेन्द्र मल्लले बताए ।
प्रमुख समाचार
सम्वन्धित समाचार