हत्या योजना असफल पार्न प्रधानमन्त्रीको बर्खासी : राष्ट्रपति मैत्रीपाला
-
१२ कार्तिक २०७५ काठमाण्डौ l
कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले अघिल्लो सरकारका एक क्याबिनेट मन्त्रीले आफ्नो हत्या गर्न खोजेकोले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गर्नुपरेको बताएका छन् ।
आइतबार टेलिभिजनमार्फत् राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । समाचार एजेन्सीहरुका अनुसार अनुसन्धान अधिकारीले एक मन्त्री आफू र पूर्व रक्षा सचिवको हत्याको योजनामा रहेको जनाएका छन् ।
त्यसैले विक्रमासिंघेलाई बर्खास्त गर्नुको अर्को विकल्प आफूसँग नभएको राष्ट्रपतिले जनाएका छन् । प्रधानमन्त्री विक्रमासिंघेलाई बर्खास्त गरेपछि उनले पूर्व राष्ट्रपति महिन्द्रा राजापक्षेलाई प्रधानमन्त्री पदको शपथ खुवाएका थिए । आइतबार सोही विषयमा भएको तनावमा एक जना निवर्तमान मन्त्रीका सुरक्षागार्डले गोली चलाउँदा राष्ट्रपति पक्षका व्यक्तिको मृत्यु भइसकेको छ ।
सिरिसेनाले आफ्नो हत्याको प्रयास सम्बन्धी सूचना आफूलाई भएपनि जनतासम्म नलगिएको जनाउँदै अनुसन्धान गर्नेले क्याबिनेट मन्त्री नै योजनामा रहेको खुलाएको जनाएका छन् । उनले मन्त्रीको नाम भने खुलाएका छैनन् । बर्खास्त गरिएका प्रधानमन्त्री विक्रमासिंघेले संसदमा आफ्नो बहुमत सिद्ध गर्ने प्रयास गरेपनि राष्ट्रपतिले नोभेम्बर १६ सम्म संसद अधिवेशन नै स्थगित गरिदिएका छन् । उता संसदका सभामुखले चाहिँ विक्रमासिंघेको अधिकारको पनि सम्मान गर्नुपर्ने जनाएका छन् । सोमबार पनि विक्रमासिंघेका समर्थक सरकारी निवास टेम्पल ट्री बाहिर प्रदर्शन गरिरहेका छन् ।