बैशाख २९,२०७४
-
काठमाडौं, वैशाख २९ –
५० वर्ष पुरानो कथामा बनेको चलचित्र 'पंचायत'लाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ ।
सेन्सर बोर्डका अनुसार १६ वर्षभन्दा कम उमेरका दर्शकले यो चलचित्र हेर्नका लागि अभिभावकसाथमा लानु पर्ने भएको छ। बोर्डले पिजी सर्टिफिकेट दिँदै चलचित्रमा समावेश गरिएको विरेन्द्रको तस्विर तथा तत्कालिन राष्ट्रियगान श्रीमान गम्भिर.. पनि हटाउन लगाएको छ ।
केही दिन अगाडि चलचित्रले केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट पिजी सर्टिफिकेट पाएको छ । सेन्सर बोर्डले चलचित्रलाई पिजी सर्टिफिकेट दिएकोमा चलचित्र युनिट आक्रोसित बनेका छन् ।
पुरानो कथामा बनेको यस चलचित्रले युनिभर्सल सर्टिफिकेट पाउनु पर्ने भन्दै सेन्सरले त्यतिकै पिजी सर्टिफिकेट दिएको निर्माता रवि अधिकारीले जनाएका छन् । त्यस्तै, निर्माण पक्षले सेन्सरको यो निर्णय अमान्य भएको पनि जनाएका छन् ।
यस्तै, विदेशका फेष्टिवलदेखि अस्कारसम्मको हिसावले चलचित्र निर्माण गरेको बताउने निर्देशक अधिकारीले चलचित्रको सेन्सरले यो यात्रामा रोक लगाउने काम गरेको बताए ।
सेन्सरको यस्तो निर्णयमाथि चलचित्रका नायक सरोज खनालले पनि आक्रोश सहित फेसबुकमा लेखेका छन्। 'के अब नेपालका ऐतिहासिक बिषयबस्तुमाथी चलचित्र बनाउन नपाईने ? हैन भने स्वर्गीय राजा बिरेन्द्रका केही झलक र तत्कालिन राष्ट्रियगान 'श्रीमान् गम्भीर नेपाली.... लाई नेपाली चलचित्रमा देखाउन किन रोक लगाउछन् यी गणतान्त्रिक नेपालको सेन्सर बोर्डका नाईकेहरु ? के अब हामीले विदेशी इतिहासमात्र हेर्नु पर्ने ?’
फागुन १८ गतेदेखि देशभर प्रर्दशनमा आउने यस चलचित्रमा सञ्चारकर्मी रवि अधिकारी कार्यकारी निर्माता छन् भने यस चलचित्रलाई गणेश गिरीको प्रस्तुतिमा निर्माण गरिएको हो ।
प्रमुख समाचार