‘मनको धुलो’ बोधकथा !

कार्तिक १२,२०७५

-माधव प्रसाद गर्तौला

१२ कार्तिक २०७५ काठमाण्डौ l 

 

एक जना शिष्य आफ्नो गुरुसंग वर्षोंसम्म साथै बसे तर गुरुले कहिलेपनि उसलाई केही भनेनन् l पटक-पटक शिष्यले भन्ने गर्थ्यो कि मलाई केही उपदेश, आदेश दिनु, म के गरौं ? हर बार गुरुले भन्ने गर्थ्ये ‘मलाई हेर’ l म जे गर्छु तिमी पनि त्यही गर l म जे गर्दिन तिमीपनि नगर, यसैबाट बुझ l तर उस (शिष्य) ले भन्यो यसले त म केहीपनि बुझ्न सक्दिन, तपाईं मलाई कहीं अंतै पठाईदिनुहोस् l

 

शिष्यको यस्तो कुरा सुनेर गुरुले भने तिमी जाऊ, नजिकै एउटा धर्मशाला छ त्यहीं गएर चौबीस घंटा बस्नु र धर्मशालाको मालिकले तिमीलाई धेरै बोध (ज्ञान) दिनेछ l

 

शिष्य गयो l उ धेरै आश्चर्यचकित पनि भयो l यति ठुलो गुरुसंग बस्दा त बोध (ज्ञान) भएन र धर्मशालाको मालिकबाट मलाई बोध हुन्छ ! धर्मशालाको रखवाला ! बेमनले गयो l तर त्यहाँ पुगेर त उ झन् आश्चर्यचकित भयो किनकि धर्मशालाको मालिक त एकदमै पुरानो र दुर्गंधित वस्त्र लगाएको र त्यसमाथी कुरुप पनि थियो l तर गुरुले भनेका थिए चौबीस घंटा त्यहीं बस्नु शायद उसले केही भन्दैन तर तिमी भने उसलाई हेरिरहनु, ध्यानपूर्वक जांच गरिरहनुl

 

धर्मशालाको मालिकले दिनभरी धुलो नै झारीरह्यो, त्यो धर्मशालाको मालिक; कोई यात्री गयो, कोई आयो, नयाँ कोठा, पुरानो कोठा सबैको धुलो-कसिंगर नै सफा गरिरह्यो l सांझ भएपछि दीनभरी जम्मा भएका भांडा-कुंडा माझ्न थाल्यो l राती बार्ह बजेसम्म पनि धर्मशालाको मालिकले भांडा नै मांझीरहेको थियो l त्यसपछि उ सुत्यो l

 

अर्को दिन बिहान पांच बजे उठ्ने बित्तिकै अति व्यग्रताको साथ धर्मशालाको मालिकलाई हेर्नको लागि दौडिदै गयो l तर मालिक अझैपनि भांडा नै मांझीरहेको थियो l राती मांझेर राखेका भांडा बिहान फेरीपनि माझ्दै थियो l यो देखेर शिष्य अतिनै चकित भयो र उसले सोध्यो-

 

महाशय ! अरु सबै त ठीक छ, तपाईंबाट यो भन्दा ज्यादा ज्ञानको अपेक्षा मलाई छैन l तर यति चाहीं मलाई बताइदिनु कि हिजै राती मांझिएका भांडा अब फेरी किन मांझी रहनुभएको छ ?

 

धर्मशालाको मालिकले भन्यो- रातभरी पनि भांडा-कुंडा तेत्तिकै राखीरहियो भने धुलो अवश्य नै जम्दछ l उपयोग गर्नाले नै धुलो जम्दैन, राखीरहनाले पनि धुलो जम्ने गर्छ l

 

धर्मशालाको मालिकको यस्तो जवाफ सुनेर शिष्य आफ्नै गुरुकहाँ फर्कियो, र गुरुसंग भन्यो, त्यहाँ सिक्नको लागि के राखिएको छ ? त्यो मान्छे त पागल छ l उ त भांडा नै मांझी रहन्छ, राती बार्ह बजेसम्म पनि मांझीरह्यो, फेरी बिहान पांच बजेदेखि मांझेर राखीसकेको भांडालाई माझ्न थाल्यो l

 

उसको गुरुले भने- यही तिमीपनि गर, यसैको लागि तिमीलाई त्यहाँ पठाको हो l रातीपनि मांझ, माझ्दा माझ्दै सुत, र फेरी बिहान उठ्ने बित्तिकै मांझ किनकि रातभरी पनि सपनाका कारण मनमा धुलो जम्ने गर्छ l विचार र स्वप्न हामी भित्र रहेको मनको धुलो हो l त्यसैले यसलाई भांडा माझे जस्तै प्रतिदिन ध्यानद्वारा माझ्ने गर्नुपर्छ l

 

यो पनि पढ्नुहोस्- 'मृत्यु' बोधकथा !