इन्डोनेसियामा जहाज दुर्घटना, शरीरका टुक्रा परीक्षणका लागि अस्पताल लगिँदै
-
१३ कार्तिक २०७५ काठमाण्डौ l
जकार्ता । इन्डोनेसियाको लायन एयरको बोइङ ७३७ यात्रुबाहक बिमान सोमबार बिहान उडेलगत्तै दुर्घटनाग्रस्त भएकोमा कूल १ सय ८८ यात्रु मध्ये २४ जनाको शरीरका भागहरु भेटिएका छन् ।
परीक्षणका लागि शरीरका ती भागहरुलाई अस्पतालमा लगिएको इन्डोनेसियाका अधिकारीहरुले जनाएका छन । उक्त जहाज सोमबार बिहान उडेको १३ मिनेटमै टावरसँग सम्पर्क बिच्छेद भएर समुद्रमा खसेको थियो ।
भिडियो फुटेजमा समुद्रको पानीमाथि हवाईजहाजबाट चुहिएको तेल देखिएको थियो । उडान नं जेटी–६१० को उक्त हवाईजहाजमा १७८ जना वयस्क, एकजना शिशु, दुई बालबालिका, दुईजना पाइलट र पाँचजना चालक दलका सहयोगी रहेको इन्डोनेसियाली अधिकारीहरुले बताएका छन् ।
जहाज राजधानी जकार्ताबाट पाङ्काल पिनाङ द्वीपका लागि उडेको थियो ।
इन्डोनेसियाको खोज तथा उद्धार एजेन्सीका प्रवक्ता युसुफ लतिफले दुर्घटनाग्रस्त बिमानमा सवार यात्रु एवं बिमानको अवशेषको खोजी भइरहेको बताए । उनले राडारसँगको सम्पर्क टुट्नुअघि बिमान जकार्ता नै फर्कनका लागि अनुरोध गरेको समेत जानकारी दिएका छन् । तर जहाज फर्कन नपाउँदै जाभा टापू नजिकै समुद्रमा खसेको बताइएको छ ।
इन्डोनेसियामा हाल सञ्चालनमा रहेको लायन एयर सस्तो बजेट एयरलाइन्स हो । यो बिमान कम्पनीका जहाजहरु पटकपटक दुर्घटनामा परेको पाइएको छ ।
सन् २०१६ को मे महिनामा दुईवटा लायन एयरका बिमानहरु जकार्ताको सुकार्नो–हाट्टा विमानस्थलमा एकअर्कासँग ठक्कर खाएका थिए । सन् २०१३ मा एउटा लायन एयर जेट बालीको समुद्रमा खसेर दुर्घटनाहुँदा बिमान नै दुईटुक्रा भएको थियो । यो दुर्घटनामा कसैको मृत्यु नभएपनि धेरै यात्रु घाइते भएका थिए । एजेंसी