महाराजा जनकको महलमा प्रज्ञावान् अष्टावक्रको प्रवेश

जीवनमा दुईप्रकारका दृष्टि हुने गर्छन् एक चर्मदृष्टि अर्को आत्मदृष्टि

कार्तिक १३,२०७५

-माधव प्रसाद गर्तौला

१३ कार्तिक २०७५ काठमाण्डौ l 

 

ऋषि उद्दालकका कहोड़ नामले प्रसिद्ध एकजना शिष्य थिए । उनले आफ्नो गुरुदेवको अत्यंत श्रद्धाका साथ लामो समयसम्म सेवा गरे । उनको सेवाबाट अत्यन्त प्रसन्न भई गुरुले उनलाई सम्पूर्ण वैदिक वाङ्मयको ज्ञाता बनाई आफ्नै सुजाता नाम गरेकी पुत्रीसंग विवाह पनि गरिदिए । केही समय पश्चात् उनकी पत्नी सुजाता गर्भवती भइन् ।

 

नियमानुसार ब्राह्मण कहोड़ प्रतिदिन वेदपारायण गर्ने गर्थे l तर एक दिन कहोड वेदपारायण गरिरहेकै थिए कि यत्तिकैमा गर्भस्थ शिशुले गर्भबाटै भने– “पिताजी ! तपाईं प्रतिदिन वेदपारायण गर्नुहुन्छ के जीवनभर वेदपारायण मात्रै गरिरहने ? यो सब बकवास हो, ज्ञान यसमा केहीपनि छैन- केवल शब्दसंग्रह मात्रै छ l शास्त्रमा ज्ञान कसरी हुनसक्छ ? ज्ञान त स्वयंमा हुन्छ, शब्दराशिमा सत्य हुँदैन, सत्य त स्वयंमै हुन्छ l शिष्यहरूकै बीच आफ्नै गर्भस्थ शिशुको कटाक्ष सुनी स्वाभावतः पिता क्रोधित भए l गर्भस्थ शिशुको यस्तो कटाक्षको कारण पिताको अहंकारले भयंकर चोट खायो l क्रोधकै कारण आफ्नै पुत्रलाई अभिशाप दिँदै भने-“तँ आमाकै गर्भमा भएर पनि मलाई यस प्रकारको कटाक्ष गर्छस् ? जा तेरो आठ अंग विकृत (बांगो) हुनेछ l 

 

नभन्दै बालक जन्मिदा आठ अंगबाट विकृत अर्थात् बांगो-टिंगो भई जन्मे l यसै कारण यस बालकको नाम ‘अष्टावक्र’ रहन गएको हो l जब उनि बार्ह वर्षका मात्र भएका थिए, त्यतिबेलै मिथिलाका महाराजा जनकले आफ्नो दरबारमा पंडितहरु बोलाई विशाल शास्त्रार्थ गराउने निर्णय गरे l महाराजा जनकले एकहजार गाई राजमहलको द्वारमा खड़ा गरिदिए, प्रत्येक गाईका सिंग सुनले मढ़िदिए साथै बहुमूल्य हीरा-जवाहरातहरुले पनि मंडित गर्दै भने- “जो कोई विजेता हुनेछ उसले यी गाईहरुलाई लैजानेछ” l

 

धेरै ठुलो विवाद (शास्त्रार्थ) भयो !  अष्टावक्रको पिता कहोड़ पनि त्यस विवादमा गए l खबर आयो सांझ हुंदाहुँदै कि पिता पराजित हुँदै छन् l अरु सबै पंडितहरुसंग त जीती सकेका थिए, वंदिन नाम गरेका पंडितसंग भने हार्दै छन् l यो खबर सुनी अष्टावक्र पनि राजमहल पुगे l सभा सजिएको थियो l विवाद आफ्नो चरम अवस्थामा थियो l निर्णायक घडी नजिकै थियो l पिताको हार्ने स्थिति एकदमै निश्चित भैसकेको थियो l ‘अब हारे तब हारे’ को स्थिति थियो l

 

अष्टावक्र राजमहलभित्र प्रवेश गरे l पंडितहरुले उनलाई हेरे l महापंडित एकत्रित थिए ! उनका आठ अंगबाट बांगो-टिंगो शरीर ! उनि हिँड्दाखेरी पनि मानिसरुलाई हाँसो आउंथ्यो l उनको हिँडाई पनि हास्यास्पद थियो l पूरा सभा नै हाँस्न लाग्यो l अष्टावक्र पनि खिलखिलाएर हाँस्यो ! महाराजा जनकले सोधे- “अरु सबै हाँसीरहेका छन्, यो त मैले बुझें कि किन हाँस्दै छन्, तर पुत्र ! तिमी किन हाँस्दै छौ” ?

 

अष्टावक्रले भने- “म यसैले हाँसीरहेको छु कि यी चमार (सार्कि) हरुको सभामा सत्यको निर्णय भैरहेको छ ! यी चमारहरु यहाँ के गर्दैछन्” ?

 

स्तब्ध भए सबै....! चमार....!! जनकले सोधे- “तिम्रो मतलब” ? अष्टावक्रले भने- “सीधा नै छ कुरा l यिनीहरुलाई छाला नै देखिन्छ, म देखिन्न” l “म भन्दा सीधा मान्छे खोज्न मुश्किल छ, यो त यिनीहरुलाई देखिंदैन; यिनलाई बांगो-टिंगो शरीर मात्रै देखिन्छ l यी चमार हुन् ! यी छालाका पारखी हुन् l राजन ! मंदिर बांगो-टिंगो हुनाले कहीं आकाश बांगो-टिंगो हुन्छ ? घैंटो फुटेको हुनाले कहीं आकाश फुट्छ ? आकाश त निर्विकार छ l मेरो शरीर बांगो-टिंगो छ, तर म त छुइन l यो जुन मभित्र विराजमान भएको छ यसतर्फ त हेर ! तिमीले योभन्दा सीधा-साधा अरु केही खोज्न सक्दैनौ” l

 

यो धेरै आश्चर्यचकित गर्नेवाला घोषणा थियो l महाराजा जनक प्रभावित भए, झटका खाए l निश्चित नै कहाँ चमारहरुको भीड़ एकत्रित गरी बसेको ! स्वयंलाई पनि पश्चात्ताप भयो, अपराध बोध भयो कि म पनि हाँसे l त्यस दिन त केहीपनि भन्न सकेनन्, तर अर्को दिन बिहानै जब महाराजा जनक घुम्न निस्केका थिए त्यसै बखत बाटैमा अष्टावक्र पनि देखिए l ओर्ले घोड़ाबाट, नतमस्तक भए चरणमा l सबैको अगाड़ी त हिम्मत जुटाउन सकेनन् एक दिन अगाड़ी l एक दिन पहिले त भनेका थिए- “पुत्र ! तिमी किन हाँसेको” ? बार्ह वर्षको बालक थियो l उमेर आँकेको थियो l आज उमेर आँकेनन् l आज घोड़ाबाट ओर्लिए, चरणमा परे- साष्टांग दंडवत !

 

र भने- “पधारिबक्सियोस् राजमहल, मेरा जिज्ञासाहरुको समाधान गरिबक्सियोस् ! हे प्रभु ! आइबक्सियोस् मेरो घर ! कुरा मैले बुझीसकें ! रातभर म सुत्न सकिन l ठीक नै भनिबक्सियो- शरीरलाई नै जसले जान्दछ उनिहरुको गहिरो पहिचान कहाँ ! आत्माको संबंधमा विवाद गरिरहेका छौं, र अहिलेपनि शरीरमै रस र विरस उत्पन्न हुन्छ, घृणा, आकर्षण उत्पन्न हुन्छ ! मर्त्यलाई हेरीरहेका छौं,अमृतको चर्चा गर्छौं !धन्यभाग मेरो कि हजुर आइबक्सियो र मलाई चकित बनाइबक्सियो !

 

राजमहलमा उनले अद्भुत तरिकाले सजावट गरेका थिए l स्वर्ण-सिंहासनमा विराजमान गराएका थिए यी बार्ह वर्षको बलक अष्टावक्रलाई l त्यसपछि आफ्नो जिज्ञासा राखेका थिए l यही महाराजा जनकको जिज्ञासाको फलस्वरूप नै ‘अष्टावक्र संहिता’ नामक महान ग्रंथ आजपनि हामीबीच उपलब्ध रहेको छ l

 

जीवनमा दुईप्रकारका दृष्टि हुने गर्छन् एक चर्मदृष्टि अर्को आत्मदृष्टि l चमार अर्थात् अज्ञानीहरुले मात्र शरीरलाई नै सबैथोक मान्दछन् भने आत्मदृष्टि अर्थात् प्रज्ञावानले आत्मालाई देखी, जानी, बुझी उसलाई नै सबैथोक मान्ने गर्छन् l

 

यो पनि पढ्नुहोस्आफ्नै सुखका निम्ति सबै वस्तु प्रीतिकर भएका हुन् : यथार्थ सत्य