राजा मान्धाताको विचित्र पौराणिक कथा !

कार्तिक १४,२०७५

-

१४ कारिक २०७५ काठमाण्डौ l 

 

महाराजा युवनाश्व इक्ष्वाकुवंशमा उत्पन्न भएका थिए । उनले एक सहस्र अश्वमेध यज्ञ गरेर प्रत्येक यज्ञमा ठूलो धनराशि दक्षिणास्वरूप ब्राह्मणहरूलाई दानमा दिएका थिए । आफ्ना मन्त्रीहरूलाई आफ्नो राज्यको दायित्व सुम्पेर ती मनस्वी राजाले मनोनिग्रह गरेर सधैंको लागि वानप्रस्थ आश्रमलाई अंगीकार गरे । एकपटक महर्षि भृगुका पुत्रले उनीद्वारा पुत्रप्राप्तिको लागि ‘पुत्रकामेष्टि’ यज्ञ गराए । रात्रिको समयमा दिनभरिको उपवासबाट तिर्खा लागेर उनको गला सुक्यो ।

 

उनी आश्रमभित्र गई पिउने पानी मागे तर सबैजना रात्रि जागरणले थाकेर गहिरो निद्रामा सुतेका कारण कसैले पनि उनको आवाज सुन्न सकेनन् । यज्ञ गराउने महर्षिले एउटा घैंटोमा मन्त्रपूत (मंत्रले पवित्र गरिएको) जल राखेका थिए । अँध्यारोमा अन्वेषण गर्दा राजाले त्यो मन्त्रपूत जल भेट्टाए । उनले तत्कालै सो जल पिएर तृप्त भई आफ्नो ओछ्यानमा गई सुते ।

 

केही बेरमा तपोधन भृगुपुत्रसहित संपूर्ण ऋषिहरु ब्युंझेर हेर्दा मन्त्रपूत जलको भाँडो रित्तिएको पाए । ती सबैजना एकआपसमा सोध्न थाले– “यो कसको काम हो” ? यो प्रश्न सुनेर राजा युवनाश्वले साँचो कुरा भनिदिए– “यो काम मैले गरेको हुँ” । उनको यस्तो जवाफ सुनी भृगुपुत्रले भने– “राजन् ! यो त राम्रो भएन । तपाईंलाई एउटा महान्,  बलवान् तथा पराक्रमी पुत्र पाउनुहोस् यसै उद्देश्यले मैले त्यो जल अभिमन्त्रित गरेर राखेको थिएँ । अब जे हुनु भयो,  त्यसलाई फर्काउन सकिंदैन । अवश्य नै जे भयो,  त्यो दैवको प्रेरणाले नै भयो । तिर्खाको कारण तपाईंले त्यो मन्त्रपूत जल पिएकोले अब तपाईंले नै एउटा पुत्रको प्रसव गर्नुपर्नेछ” l

 

महाराजा युवनाश्वलाई यति भनी महर्षि आफ्नो स्थानमा फर्किए । त्यसपछि एक सय वर्षसम्मको लामो गर्भ धारणपश्चात महाराजा युवनाश्वको देब्रे कोखाबाट सूर्यको समान अत्यंत तेजस्वी एउटा बालक उत्पन्न भयो । त्यस बालकलाई हेर्न भनी स्वयं देवराज इन्द्र त्यहाँ आइपुगे । उनीसित देवताहरूले सोधे– “बालकले के पिउनेछ” ? यो सुनेर इन्द्रले आफ्नो कान्छी औंला त्यस बालकको मुखमा हालेर भने– “मेरो कान्छी औंला पिउनेछ” । त्यसै कारणले देवताहरूले त्यस बालकको नाम “मान्धाता” राखिदिए । अनि त्यस बालकले ध्यान गर्ने बित्तिकै धनुर्वेदका साथै सम्पूर्ण वेद र दिव्य अस्त्रहरू त्यहाँ आइपुगे । साथै आजगाव नामक धनुष,  सिङबाट बनेको बाण र अभेद्य कवच पनि त्यहाँ आइपुगे । यसपश्चात् स्वयम् देवराज इन्द्रले त्यस बालकलाई राजसिंहासनमाथि बसालेर अभिषेक गरिदिए ।

 

एक पौराणिक कथानुसार मान्धाता सम्पूर्ण पृथ्वीलाई नै हस्तगत गर्न चाहन्थे l देवराज इंद्रसहित समस्त देवताहरु यो कुरा थाहा पाई धेरै भयभीत भए l उनिहरुले मान्धातालाई आधा देवराज्य दिन चाहे, तर उनी मानेनन् l उनी सम्पूर्णै अमरावती नै चाहन्थे l देवराज इंद्रले भने- “अहिले त सम्पूर्ण पृथ्वी नै तिम्रो अधीन छैन, लवणासुरले पनि तिमीले भनेको मान्दैन” l मान्धाता लज्जित भएर पृथ्वीमा फर्किएर आए l

 

मान्धाताको विवाह यादव नरेश शशबिन्दुकी कन्या बिन्दुमती (जसलाई ‘चैत्ररथी’ पनि भनिन्छ) संग भयो l जसद्वारा मुचुकुंद, अम्बरीश र पुरुकुत्स नामक तीन पुत्र र पचास कन्या उत्पन्न भएका थिए l कन्याहरुको विवाह सौभरि ऋषिसंग भएको थियो l

यो पनि पढ्नुहोस्- अट्ठारह अंकको विचित्र संयोग, महाभारतको रोचक कथा !