राजकुमारी सुकन्या एवं महर्षि च्यवन, पौराणिक कथा !

कार्तिक १४,२०७५

-आस्था न्यूज

१४ कार्तिक २०७५ काठमाण्डौ l 

 

महर्षि भृगुका च्यवन नामक एक अत्यंत तेजस्वी पुत्र थिए । उनी तपस्या गर्न भनी वनमा गए । ती ऋषिकुमार तपस्या गर्ने उद्देश्यले वृक्षको समान निश्चल भएर एउटै स्थानमा बसिरहे । बिस्तारै धेरै समय बितिसकेपछि उनको शरीरलाई घाँस-पात तथा लहराहरूले छोप्यो । त्यसमाथि कमिलाहरूले पनि आफ्नो वासस्थान बनाए । त्यहाँ ऋषिको ढाकिएको शरीर माटोको ढिस्कोजस्तै देखिन थालेको थियो ।

 

यसैप्रकार धेरै समय व्यतीत भैसकेपछि एक दिन राजा शर्याती वनमा क्रीडा गर्न आए । उनका चार हजार सुन्दरी रानीहरू पनि साथै आएका थिए । उनकी एउटी सुन्दर भृकुटी भएकी कन्या पनि थिइन् । उनको नाम सुकन्या थियो । उनी दिव्य वस्त्राभूषणहरूले सुसज्जित आफ्ना सखीहरूका साथ वनमा विचरण गर्दै महर्षि च्यवनले तपस्या गरिरहेको ठाउँमा आइपुगिन् ।

 

उनले माटोको ढिस्कोको प्वालमा टल्किँदै गरेको दुईवटा विचित्र वस्तु देखिन् । यसले उनलाई ठूलो कौतुहल भयो,  अनि अल्लारे बुद्धि भएको कारणले उनले तीखो काँडाले टल्किरहेका ती वस्तुलाई घोचीदिइन् । तर त्यो वस्तु फुटेको कारणले रगत बग्न थाल्यो । यो देखेर भयभीत हुँदै सुकन्या त्यहाँबाट भागेर आमाबुवा भएको ठाउँमा गइन् । सुकन्याले आफ्नो कृत्यबारे कसैलाई पनि केही बताइनन् ।

बिनाकारणै आफ्नो दुबै आँखा फुटेको देखेर महर्षि च्यवन अत्यन्तै क्रोधित भए तथा तत्कालै आफ्नो तपस्याको प्रभावले राजाका सम्पूर्ण सेनाहरुको मलमूत्र अवरुद्ध गरीदिए । मलमूत्र रोकिएपछि सेनालाई धेरै नै कठिनाई भयो । आफ्ना सबै सेनाको यो अवस्था देखेर राजाले सोधे–

 

“यहाँ निरन्तर तपस्यामा लीन वयोवृद्ध महर्षि च्यवन बस्दछन् । जानी-जानी वा अन्जानमा कसैले उनको अपकार त गरेको छैन ? जसले यस्तो गरेको हो,  त्यसले अहिलेनै भनिदेओस्” l

 

सुकन्याले आफ्नो पिताको यस्तो कुरा सुनेपछि भनिन्– “म भ्रमण गर्दागर्दै माटोको एउटा ढिस्कोसम्म पुगेकी थिएँ । त्यस ढिस्कोको प्वालमा मैले टल्किरहेको जुनकीरी जस्तै एउटा विचित्र जीव देखेर तीखो काँडाले घोचिदिएँ” l छोरीको यस प्रकारको कुरा सुनेर राजा तत्काल त्यस ढिस्कोको छेउमा गए । त्यहाँ उनलाई महर्षि च्यवन देखा परे । उनले हात जोडेर सेनालाई क्लेशमुक्त गर्ने प्रार्थना गर्दै भने–

 

“भगवन् ! अज्ञानवश यस बालिकाले यो अपराध गरिछ,  उसलाई क्षमा गर्ने कृपा गर्नुहोस्” l राजाको कुरा सुनेर महर्षि च्यवनले राजासित भने– “यस गर्विली कन्याले मेरो अपमान गर्नलाई नै यस प्रकार मेरा दुबै आँखा फुटाली दिई । अब भने मैले उसलाई पाए भने मात्र क्षमा गर्न सक्नेछु” l

 

महर्षि च्यवनको कुरा सुनेर राजा शर्यातिले मनमा कुनै पनि प्रकारको विचार नगरी आफ्नी पुत्री सुकन्या उनलाई दान गरिदिए । त्यस सुन्दरी कन्यालाई पाएर महर्षि च्यवन अत्यन्त प्रसन्न भए l त्यसपछि महर्षि च्यवनले राजा शर्यातिका सबै सेनाहरुलाई कष्टमुक्त गरीदिए l कष्टमुक्त भैसकेपछि राजा सेनासहित आफ्नै राजधानीमा फर्किए । सती सुकन्या पनि आफ्नो तप र नियमहरूको पालना गर्दै प्रेमपूर्वक आफ्ना तपस्वी पतिको परिचर्या गर्न थालिन् ।

 

एकदिन अकस्मात् सुकन्या स्नान गरेर आफ्नो आश्रममा बसीरहेकी थिइन् । त्यसै बेला उनीमाथि अश्विनीकुमारहरूको दृष्टि पर्‍यो । उनी देवराज इन्द्रकी कन्याजस्तै  मनोहर एवं रूपवती थिइन् । अश्विनीकुमारहरू उनको नजिकै गई भने– “हे सुन्दरी ! तिमी कसकी पुत्री तथा कसकी भार्या हौ ? तथा यस वनमा के गरिरहेकी छौ” ? यस्तो प्रश्न सुनेर सुकन्याले भनिन्– “म राजा शर्यातिकी कन्या तथा महर्षि च्यवनकी भार्या हुँ” ।

 

अश्विनीकुमारले भने– “हामीहरू देवलोकको  वैद्य हौं । हामीहरू तिम्रो पतिलाई युवा र रूपवान बनाउन समर्थ छौं l हाम्रो यो कुरा तिमी आफ्नो पतिलाई भन” । अश्विनीकुमारको कुरा सुनेर सुकन्याले आफ्नो पतिलाई सबै कुरा सुनाइन् । मुनिले उनलाई स्वीकृति प्रदान गरे । सुकन्याले अश्विनीकुमारलाई पतिको स्वीकृतिबारे सुनाइन् तथा पतिलाई युवा र रूपवान बनाइदिन प्रार्थना गरिन् ।

 

अश्विनीकुमारले भने– “महर्षि यस पोखरीमा प्रवेश गरून्” । महर्षि च्यवन रूपवान तथा युवा हुन उत्सुक थिए । उनी तत्काल नै पोखरीभित्र प्रवेश गरे । उनका साथै अश्विनीकुमार पनि पोखरीमा प्रवेश गरे । एकै छिनपछि तीनैजना पोखरीबाट बाहिर निस्किए । उनीहरू तीनै जना दिव्य रूपधारी,  युवा तथा समान आकृतिका थिए । ती तीनैजनाले भने–

 

“सुन्दरी,  तिमी हामीमध्ये कुनै एकजनालाई आफ्नो पतिको रूपमा वरण गर” । तीनैजना एकै रूपका युवक  थिए । सुकन्या एक छिनको लागि त झस्किइन् । तर उनले मन र बुद्धिले निश्चय गरेर आफ्नो पतिलाई चिनिन् । यस प्रकार आफ्नी पत्नी र आफूले चाहेको जस्तो रूप, यौवन पाएर च्यवन ऋषि अत्यन्त प्रसन्न भएर अश्विनीकुमारहसंग भने–

 

“म वृद्ध थिएँ,  तपाईंहरूले मलाई रूप र यौवन दिनुभयो । त्यसैले म तपाईंहरूलाई सोमपानको अधिकार दिलाउनेछु” । यो सुनेर अश्विनीकुमार अत्यंत प्रसन्न भई स्वर्गलोक गए तथा महर्षि च्यवन र सुकन्या त्यस आश्रममा विहार गर्न थाले ।

 

महर्षि च्यवन युवा भएको खबर सुनी राजा शर्याति अत्यन्त प्रसन्न भए तथा आफ्नो सेनासहित उनलाई भेट्नको लागि आश्रममा आए । महर्षि च्यवनलाई युवा देखेर राजा र रानी दुवैजना अत्यन्त हर्षित भए ।औपचारिक कुशलक्षेमपछि महर्षि च्यवनले भने–

 

“राजन् ! म तपाईंबाट यज्ञ गराउनेछु तपाईं यज्ञ सामग्री एकत्रित गर्नुहोस्” । राजाले प्रसन्नतापूर्वक यो प्रस्ताव स्वीकार गरेर यज्ञको तयारी गर्न थाले । महर्षि च्यवनले यज्ञानुष्ठानको आयोजन गरे । यज्ञ हुँदै जाँदा यज्ञभाग विभिन्न देवताहरूलाई वितरण गर्ने बेला महर्षि च्यवनले अश्विनीकुमारलाई पनि यज्ञभाग दिए । देवराज इन्द्रले यसको विरोध गर्दै भने–

 

“अश्विनीकुमार चिकित्सा कार्य गर्छन् तथा आफूखुशी रूप धारण गरेर मर्त्यलोकमा विचरण गर्छन् । यिनीहरूलाई यज्ञभाग पाउने अधिकार छैन” ।

 

महर्षि च्यवनले इन्द्रको उपेक्षा गर्दै अश्विनीकुमारलाई यज्ञभागको रूपमा सोमरस दिन लागेको बेला इन्द्र अत्यन्तै क्रोधित हुँदै भने– “हाम्रो लागि छुट्याइएको सोमरस अश्विनीकुमारहलाई दियौ भने म आफ्नो भयंकर वज्र प्रहार गर्नेछु” । महर्षि च्यवनले देवराज इन्द्रको भय नमानी अश्विनीकुमारलाई सोमरस प्रदान गर्न लागे । देवराज इन्द्र अत्यंत कुपित हुँदै आफ्नो आमोघ अस्त्र वज्र प्रहार गर्न लागेको देखेर महर्षि च्यवनले उनको हातलाई मन्त्रबलद्वारा स्तम्भित गरी आफ्नै तपोबलले यज्ञको अग्निकुण्डबाट ‘मद’ नामक अत्यन्त भयंकर असुरलाई उत्पन्न गरे ।

 

त्यस असुरले भयंकर गर्जना गर्दै देवराज इन्द्रलाई निल्न भनेर उनीतर्फ लम्कियो । यसबाट देवराज इन्द्रलाई ठूलो त्रास र व्यथा भयो । उनी कराउन थाले– “महर्षे ! आजदेखि अश्विनीकुमार पनि सोमपानका अधिकारी भए । तपाईं ममाथि कृपा गर्नुहोस्,  तपाईंले जे भन्नुहुन्छ म त्यही गर्छु” । देवराज इन्द्रको यस्तो कातर प्रार्थना सुनेपछि महर्षि च्यवनको क्रोध शान्त भयो र उनले देवराज इन्द्रलाई क्षमा गरिदिए l

यो पनि पढ्नुहोस्- राजा मान्धाताको विचित्र पौराणिक कथा !