Trending :
 

भारतीय १६ प्रहरीलाई आजीवन जेल सजाय

कार्तिक १५,२०७५

-

१५ कार्तिक २०७५ काठमाण्डौ l 
 
 
नयाँ दिल्ली । भारतको एउटा अदालतले १६ जना प्रहरी अधिकारीलाई बुधबार आजीवन जेल सजायको फैसला सुनाएको छ । देशको उत्तरी क्षेत्रमा दशकौँ अघि भएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई आजीवन जेल सजायको फैसला सुनाइएको अदालतका अधिकारीहरूले बताएका छन् । 
 
 
सन् १९८७ मा भएको सो घटनामा ४२ जना निर्दोष मुस्लीम धर्मावलम्बी मारिएको अदालतको भनाई छ । हिन्दू र मुस्लीम समुदायबीच भएको झडपमा परी उनीहरू मारिएका थिए । 
 
 
पर्याप्त प्रमाणहरूको अभावमा उत्तर प्रदेशको एउटा स्थानीय अदालतले सन् २०१५ मा प्रहरीहरूलाई दोषी देखाउन सकेको थिएन । 
 
तर दिल्ली उच्च अदालतका दुई जना न्यायाधीशको इजलासले भने ती प्रहरीहरूलाई दोषी ठहर गर्दै यसअघिको फैसलालाई उल्ट्याएका हुन् । 
 
निःशस्त्र र निराश्रयसहितका निर्दोष नागरिकहरूलाई अनाहकमा हत्या गरेको अदालतको ठम्याई छ । 
 
घटनामा ती प्रहरीले विभिन्न कानूनको उलङ्घन गर्दै अपहरण, हत्या जस्ता आपराधीक क्रियाकलाप गरेको प्रमाणहरू भेटिएको अदालतले जनाएको छ । 
 
अदालतद्वारा दोषी ठहर गरिएका सबै प्रहरीलाई यही नोभेम्बर २२ भन्दा अगाडि आत्मसमर्पण गर्न पनि आदेश दिइएको छ । 
 
उत्तर प्रदेशमा ठूलो सङ्ख्यामा रहेका हिन्दू धर्मावलम्बी र अल्पमतमा रहेका मुस्लीम धर्मावलम्बीका बीच विगतमा ठूला हिंसात्मक घटनाहरू हुने गरेका थिए । त्यस्ता घटनामध्ये हसिमपुरा नरसंहार पनि एक थियो । 
 
पटकपटक भएको सो घटनामा परी सयौँको मृत्यु भएको छ भने त्यही घटनामा यी प्रहरीहरूलाई दोषी ठहर गरिएको हो । रासस / एएफपी