Trending :
 

सुडानी विद्रोही नेता शान्ति सम्मेलनमा भाग लिन जुबा फर्किए

कार्तिक १५,२०७५

-

१५ कार्तिक २०७५ काठमाण्डौ l 
 
 
 
दक्षिण सुडानका विद्रोही नेता रिक माचर शान्ति सम्मेलनमा भाग लिन बुधबार दुई वर्षपछि राजधानी जुबा पुगेका छन् । सन् २०१६ को जुलाईमा विदेश पलायन भएयता माचर पहिलोपटक दक्षिण सुडान पुगेका हुन् । माचरलाई राष्ट्रपति साल्भा किरले स्वागत गरेका थिए । कुनै समय सुमधुर रहेको दुई नेताबीचको सम्बन्धमा पछिल्लो समय तिक्तता छ । दुवै नेताले एक कार्यक्रममा सहभागी भएर हालै सम्पन्न शान्ति सम्झौतालाई स्वागत गर्ने कार्यक्रम छ । विद्रोही र सरकारबीच गत सेप्टेम्बरमा इथियोपियाको राजधानी अदिस अबाबामा शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो ।
 
 
विद्रोही नेता कहाँ बस्छन् भन्नेबारेमा अझै स्पष्ट हुन सकेको छैन । उनका सहयोगीले सहरमा सुरक्षा व्यवस्थाका बारेमा चासो प्रकट गरेका छन् । यसअघि माचरका निजी सुरक्षाकर्मी र हातहतियारको विषयमा टुंगो नलाग्दा अन्तिम समयमा भ्रमण स्थगित भएको थियो ।
 
 
दक्षिण सुडानमा डिसेम्बर २०१३ मा गृहयुद्ध भएको थियो । गृहयुद्धमा सामूहिक बलात्कार, सेनामा बालबालिकाको जबर्जस्ती भर्ती तथा नागरिकमाथि आक्रमणहरू भएका थिए । विश्वमै यसलाई सबैभन्दा ठूलो मानवीय संकटका रूपमा लिने गरिएको छ । एजेंसी