सूर्यपुत्र दानवीर कर्ण, महाभारतको रोचक कथा !

कार्तिक १५,२०७५

-

 १५ कार्तिक २०७५ काठमाण्डौ  l
 
 
 
दानवीर कर्णको जन्म दैवीय र रहस्यमय छ । उनी सूर्यका छोरा थिए । उनी जन्मदै कवच–कुन्डल सहित जन्मेका थिए । उनी कुन्तीका प्रथम सन्तान थिए, तर उनी जन्मँदा कुन्तीको बिहे भएको थिएन । दुर्वासा ऋषिले कुन्तीलाई इच्छित पुत्र प्राप्तिको वरदान दिएका थिए । त्यस वरदानको परीक्षाको वय–सुलभ प्रयासमा कुन्ती माता हुन पुगेकी थिइन् l 
 
 
कुमारी कुन्तीले भय र लज्जाका कारण नवजात शिशु कर्णलाई एउटा टोकरिमा राखी नजिकैको खोलामा बगाइन् । त्यो टोकरी सूत अधिरथ र उनकी पत्नी राधाले प्राप्त गरे l तीनै दम्पतीले नवजात कर्णलाई पुत्रवत स्नेहपूर्वक पालन–पोषण गरे । यसैकारण कर्णलाई ‘सूतपुत्र’ र ‘राधेय’ नामले पनि चिनिन्छ l यसको अतिरिक्त कर्णलाई ‘वसुषेणु तथा ‘वैकर्तन’ नामले पनि जानिन्छ l कवच–कुन्डलका साथ जन्मिएका कर्ण हेर्दै तेजिला थिए । कर्णलाई पालन–पोषण गर्ने माता–पिताले क्षत्रियोचित पाराले उनको नामकरण संस्कार गरे ।
 
 
न्वारानको नाम ‘वसुषेण’ राखियो । शिक्षा–दीक्षा पनि त्यस्तै भयो । महाभारतकारले कर्णको व्यक्तिगत गुण–सम्पदाको बखानमा उदारता देखाएका छन् । प्रथमत: कर्ण आदिपर्वमा प्रगट हुन्छन् । त्यस प्रकाट्यको वर्णनमा महर्षि व्यास लेख्छन्– ‘सूर्येन्दुज्वलनोयमः’ कर्ण । त्यतिले नपुगेर थप्छन्– ‘असंख्येयगुणः श्रीमान्’ कर्ण ।
 
 
भगवान् परशुरामबाट धनुर्विद्या प्राप्त गरेपछि कर्णले बालुवाको कणलाई पनि निशाना बनाउन सक्ने सामर्थ्य प्राप्त गरेका थिए । उनी उडिसाको कोणार्कमा सूर्य भगवानको तपस्या गरेर कैयौं दिनसम्म ध्यानमा बसे । केही हप्ता साधनामा बसेपछि उनको भोक एकदमै बढ्यो । उनले बल्लबल्ल काँक्रो भेटे र खाए तर त्यसले त झन् उनको भोक जगायो । उनले यताउता हेर्दा झाडीपछाडि एउटा जनावर चल्मलाएको जस्तो देखे । हरिण होला भनेर उनले धनुष र वाण निकाले र आँखा चिम्लेर बाण प्रहार गरे । जनावरको मासु खाएर भोक मेट्ने कल्पना उनले गरे ।
 
 
तर झाडीमा पुगेपछि पो उनले थाहा पाए, त्यो त गाई रहेछ । गाईलाई मार्नु सनातन धर्ममा गम्भीर पाप ठहर्थ्यो । कर्ण एकदमै डराए । उनले गाईलाई हेरे । गाईले उनीतिर कोमल नेत्रले हेरिन् र सधैंका लागि आँखा बन्द गरिन् ।
 
 
कर्ण के गर्ने होला भनी अलमल्ल परे । त्यतिखेरै एकजना ब्राह्मण त्यहाँ आइपुगे र मरेको गाईलाई हेरेर विलाप गर्न थाले । ब्राह्मणले भने, ‘तिमीले मेरो गाई मारिदियौ । म तिमीलाई श्राप दिन्छु । तिमी योद्धा जस्ता देखिन्छौ त्यसैले म श्राप दिन्छु, तिमी रणभूमिमा अप्ठ्यारो अवस्थामा रहँदा तिम्रो रथ भुइँमा गाडिनेछ । तिमी रथलाई निकाल्ने कोशिश गर्दा असहाय हुनेछौ र त्यतिखेरै मारिनेछौ । तिमीले असहाय गाईलाई मारेकाले यो श्राप लाग्नेछ" ।
 
 
पछि महाभारतको युद्ध हुँदा अर्जुनसँग लड्ने क्रममा कर्णको रथ भासियो । उनले रथको चक्का निकाल्ने प्रयत्न गर्दागर्दै अर्जुनले श्रीकृष्णको इशारामा वाण चलाएर कर्णको वध गरे ।
 
यो पनि पढ्नुहोस्- राजकुमारी सुकन्या एवं महर्षि च्यवन, पौराणिक कथा !