सद्व्यवहारको चमत्कार, लघुकथा !

असल सद्व्यवहारले कठिनभन्दा कठिन कार्यलाई पनि सरल बनाउने सामर्थ्य राख्दछ

कार्तिक १६,२०७५

-माधव प्रसाद गर्तौला

१६ कार्तिक २०७५ काठमाण्डौ l 

 

प्राचीन समयको कुरा हो l एकजना राजाले एउटा सपना देखे l सपनामा एकजना साधुले उसलाई भने कि भोली राती तिमीलाई एउटा भयंकर विषधर सर्पले टोक्नेछ र उसको टोकाइले तिम्रो मृत्यु हुनेछ l त्यो सर्प अमुक वृक्षको फेदमा बस्दछ l उसले तिमीसंग पूर्वजन्मको शत्रुताको प्रतिशोध लिन चाहन्छ l बिहान राजा सुतेर उठे, राती देखिएको सपनाको सम्बन्धमा विचार गर्न लागे कि उसलाई आफ्नो आत्मरक्षाको लागी कुन उपाय अपनाउनु पर्ला ? आखिरमा उनी यस निर्णयमा पुगे कि मधुर व्यवहारभन्दा ज्यादा शत्रुलाई जित्नेवाला हतियार यस पृथ्वीमा अरु कुनै छैन l

 

शायंकाल हुनेबित्तिकै राजाले त्यस वृक्षको जरादेखि लिएर आफ्नो शयनकक्षको शय्यासम्म नै विभिन्न प्रकारका सुगन्धित फूलहरुको बिछौना बिछ्याउन लगाए, सुगन्धित जलसेचन पनि गर्न लगाए, मधुर दूधको कचौरा पनि ठाउं-ठाउंमा राख्न लगाए, र आफ्ना सेवकहरुलाई पनि सर्पलाई कुनैपनि प्रकारले हानी नपुर्याउन आदेश जारी गरे l

 

रात परेपछि सर्प राजाको महलतर्फ हिंड्यो l ऊ जसरी-जसरी अगाडी बढ्दै गयो, आफ्नो लागी गरिएको स्वागत व्यवस्थालाई हेरेर आनंदित हुँदैगयो l कोमल बिछ्यौनामा लड़ीबड़ी गर्दै मनभावन सुगंधको रसास्वादन लिंदै, ठाउं-ठाउंमा राखिएको मधुर दुग्धपान गर्दै अगाडी बढिरहेको थियो l यसप्रकार क्रोधको स्थानमा संतोष र प्रसन्नताको भाव उसमा बढ्न थाल्यो l क्रोध र प्रतिशोधको भावना कम हुँदैगयो l प्रवेशद्वारमा प्रहरीहरुले पनि केही भनेनन् l

 

यो असाधारण लाग्नेवाला दृश्य देखेर सर्पको हृदयमा स्नेहको भाव आंदोलित हुनलाग्यो l सद्व्यवहार, नम्रता, मधुरताको जादूले उसलाई मंत्रमुग्ध बनायो l अब उसलाई आफ्नो काम (राजाको हत्या) गर्न असंभव जस्तै प्रतीत हुनलाग्यो l हानि पुर्याउनका लागी आएको शत्रुको साथ जसको यस्तो मधुर व्यवहार छ, उस धर्मात्मा राजालाई डसौं त कसरी डसौं ? ऊ दुविधामा पर्यो l राजाको पलंगसम्म जाँदैमा उसको निश्चय पूरै परिवर्तित भैसकेको थियो l राजाको नजिकै गएर सर्पले भन्यो-

 

“राजन ! म तिमीलाई डसेर पूर्वजन्मको प्रतिशोध लिन आएको थिएँ l तर तिम्रो सद्व्यवहारले मलाई पराजित गर्यो l अब म तिम्रो शत्रु होइन, मित्र हूँ l मित्रताको उपहारस्वरूप म तिमीलाई आफ्नो बहुमूल्य मणि दिन चाहन्छु” l मणि राजाको नजिकै राखेर सर्प त्यहाँबाट गयो l

 

हाम्रो जीवनमा पनि प्राय: यस्तै हुनेगर्छ l असल सद्व्यवहारले कठिनभन्दा कठिन कार्यलाई पनि सरल बनाउने सामर्थ्य राख्दछ l व्यवहारकुशल व्यक्तिको जीवनमा जतिसुकै कठिन परिस्थिति भएपनि ऊ संधै नै सफल हुन्छ l

 

यो पनि पढ्नुहोस्- ‘मनको धुलो’ बोधकथा !