तिहारको धार्मिक,सांस्कृतिक एवं मनोवैज्ञानिक महत्व !

हरेक वर्ष आउने तिहारले “वसुधैव कुटुम्बकम्” को महत्वपूर्ण संदेश प्रदान गरिरहेको छ

कार्तिक १८,२०७५

-माधव प्रसाद गर्तौला

१८ कार्तिक २०७५ काठमाण्डौ l 

 

तिहार दशैंको पन्ध्र दिनपछि आउने सबैभन्दा ठूला पर्वहरूमा एउटा हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले शुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाईटीकासम्म (पाँच दिन) मनाइन्छ ।

 

हिन्दू परम्परानुसार नेपालमा वर्षभरी विभिन्न प्रकारका पर्वहरु मनाउने प्रचलन रहेको छ । ती पर्वहरुका आ-आफ्नै विशेषतापनि छन् । हिन्दू परम्परानुसार नेपालमा तीज, जनैपूर्णिमा, शिवरात्रि, रामनवमी, कृष्णजन्माष्टमी, दशैँ र तिहारलगाायत दर्जनौँ पर्वहरु मनाउने गरिन्छ । यसैक्रममा महान् पर्व बडादशैँ भर्खरै सकिएको छ भने तिहार भोली (सोमवार) देखि प्रारंभ हुँदैछ । तिहारले पनि आफ्नै प्रकारका छुट्टा-छुट्टै महत्व बोकेको छ । यो पर्व हिन्दुहरुले मनाउने दोस्रो ठूलो पर्व हो ।

 

तिहारपर्वको धार्मिक एवं सांस्कृतिक महत्व

 

सूर्यपुत्र यमराजले आफ्नी बहिनी यमुनाको निमंत्रण स्वीकार गरी बहिनीका घरमा गई रमाइलो गरी यस सृष्टिको अति महत्वपूर्ण कार्यसम्पादक हुँदा पनि अवकास लिई आफ्ना आत्मीयहरुप्रति देखाएको स्नेहलाई अभिव्यक्त गर्ने यो पर्वलाई यमपञ्चकको नामले पनि चिनिन्छ l यसरी रहँदा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “इच्छित वर माग“ भन्दा बहिनी यमुनाले “हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्” भन्ने वरदान मागिन् l

 

सूर्यपुत्र यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा यश, कीर्तिपनि फैलिने वरप्रदान गरी आफ्नी बहिनी यमुनासंग बिदा भई यमलोक फर्किएको कुरा हिन्दू शास्त्रमा उल्लेख गरिएको छ र यस कथालाई हामी सबैले बुझी तथा जानिराखेका पनि छौं l यसरी प्राचीन कालदेखि अहिलेसम्म पनि अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा हामीले सजिलै देख्न सक्छौं । तिहारले एकातिर मानव तथा पशुपक्षीबीचको प्रगाढ सम्बन्धको चित्रण प्रस्तुत गर्दछ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीयता र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले उजागर गर्दछ । तिहारका पाँचै दिन उत्तिकै महत्त्वपूर्ण हुने भएपनि लक्ष्मीपूजाको दिनदेखि यो पर्व विशेष हर्षोल्लासपूर्वक मनाउने गरिएको छ ।

 

तिहार पर्वको मनोवैज्ञानिक पक्ष

 

तिहार पर्व सांस्कृतिक पर्व हो, तरपनि यसको पृष्ठभूमिमा जे जति सांस्कृतिक महत्व देखिएपनि त्यो भन्दा बढी वैज्ञानिक महत्व नै देखा पर्दछन् । जस्तै चराचुरुंगीहरू भनेका वातावरण सन्तुलनका अभिन्न अंग (प्रतीक) हुन् । बालीनालीमा लाग्ने कीराफट्याङ्ग्राहरु खाई ती चराहरूले कृषिप्रधान मुलुकका कृषकहरूलाई महत्वपूर्ण सहयोग पुर्याउने काम गर्दछन् अप्रत्यक्षरूपमा पनि उनीहरूले मौसम सन्तुलनको दिशामा पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । वर्षको एकदिन कागको पूजा गर्ने प्रसङ्गले मानिसलाई सधैँभरि चराचुरुंगी तथा उनीहरूको जीवनप्रति सदैव मैत्रीपूर्ण भावना हुनुपर्छ भन्ने सन्देश दिन्छ l

 

त्यस्तै कुकुरको स्वामीभक्ति त यसैपनि जगतमा प्रसिद्ध नै छ । आफूलाई संरक्षण दिने सम्पूर्ण वस्तु तथा प्राणीहरुप्रति हामी सबैले कुकुरको स्वामीभक्ति अर्थात् कृतज्ञ हुनुपर्ने महत्वपूर्ण यस कुकुरपूजाको प्रसंगले सजिलै बुझ्न सकिन्छ l यस्तै नै गाईबाट पनि दूधदेखि लिएर मलमूत्र सम्मपनि हाम्रो जीवनमा अत्यन्तै उपयोगी वस्तुहरु उपलब्ध गर्दै आएका छौं l अतः हामीले पनि उनिहरुप्रति कृतज्ञ भई यथाशक्ति उनीहरुको जीवनलाई पनि सहज र स्वस्थ बनाउनतर्फ ध्यानाकर्षण गर्ने काम यस गाईपुजाले उजागर गर्दछ l त्यसैले यतिबेला गरिने गाई, गोरु तथा गोवर्द्धन पर्वतको पूजाको अर्थ पनि उनीहरूप्रति कृतज्ञ हुनुपर्छ भन्ने संदेश दिनु नै हो ।

 

यसैगरी भगवती लक्ष्मीको कृपाप्रसादस्वरूप नै हामीले आफ्नो जीवनमा धनसंपत्ति प्राप्त गर्ने गर्छौं तसर्थ उहाँप्रति पनि कृतज्ञ भई धन्यवादस्वरूप भगवती लक्ष्मीको पूजाअराधना गरिन्छ l धनआर्जनका लागि सकारात्मक ऊर्जाले भरिएको रचनात्मक मस्तिष्क एवं बलिष्ठ र स्वस्थ शरीर हुनुपर्छ भने मस्तिष्क एवं शरीर स्वस्थ रहन सदैव प्रसन्नचित्त रहनसक्ने वातावरण चाहिन्छ।

 

यसर्थ दिदीबहिनीले दाजुभाईको र दाजुभाईले दिदीबहिनीको पूजा गर्दा यसको अर्थ यो हुन आउँछ कि यस जगतमा रहेका हर-एक मनुष्यप्रति मैत्रीपूर्ण, करुणापूर्णहृदय राखी “वसुधैव कुटुम्बकम्” को अत्यंत महत्वपूर्ण संदेश प्रदान गरिरहेको छ l