यमपंचक प्रारंभ,आज हर्षोल्लासपूर्वक कागतिहार मनाइँदै

हे महामते यमदूत काग! हामीले प्रदान गरेको खानेकुरा ग्रहण गरी प्रसन्न होऊ

कार्तिक १९,२०७५

-माधव प्रसाद गर्तौला

१९ कार्तिक २०७५ काठमाण्डौ l 

 

यमपञ्चकको पहिलो दिन आज कागतिहार। आजको दिन नेपालीहरुले आ–आफ्नो घरआँगनमा कागलाई डाकेर विभिन्न परिकारको भोजन उपलब्ध गराएर पूजा गर्दैछन्। हिन्दू परंपरामा मनाइने दोस्रो ठूलो पर्व तिहार हो। कार्तिक महिनाको कृष्णपक्षको त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया (पाँच दिन) सम्म यो पर्व मनाइन्छ। यो पाँच दिनको अवधिलाई ‘यमपञ्चक’ पनि भनिन्छ। यमपञ्चक प्रारंभ भएपछि भगवान् सूर्यका पुत्र एवं मृत्युका अधिदेवता यमराज यमलोकबाट आफ्नी भगिनी यमुनाको घर मर्त्यलोक (पृथ्वी) मा आएर यमपञ्चकभरि विराजमान भई भगिनीको हातबाट टिका लगाएपछि यमलोक फर्कन्छन् भन्ने पौराणिक आख्यान रहेको पाइन्छ। यमपञ्चकको प्रारंभकालमा आफू पृथ्वीमा अर्थात् भगिनी यमुनाको घर आउन लागेको संकेत प्रदान गर्न यमराजले पहिले नै आफ्ना दूत कागलाई पठाउने गर्दछन्।

 

यमराजका ज्येष्ठभ्राता शनिदेवको वाहन समेत भएकाले कागलाई यमराजको विशेष दूत मानिन्छ। यसर्थ यमदूतका रूपमा बिहानै कागको स्वागत स्वरूप उनको विशेष पूजा-आराधना गरी विभिन्न परिकारसमेत प्रदान गरिन्छ। जीवनभरि मनुष्यसमुदाय वरिपरि घुमिरहने कागलाई यस दिन परैबाट अथवा प्रतीकात्मक रूपमा भएपनि पूजा-आराधना गरी कागलाई मन पर्ने खाद्यान्न या अन्य मीठा परिकार (काकबलि) प्रदान गरेर हे महामते यमदूत काग! हामीले प्रदान गरेको खानेकुरा ग्रहण गरी प्रसन्न होऊ र यमदण्डरूपी विपत्तिबाट मुक्ति दिलाऊ भनी प्रार्थना गर्ने प्रचलन रहेको छ।

 

काकबलि (भोजन) प्रदान गर्दा भनिने मंत्र यस प्रकार रहेको छ-

 

काकोऽसि यमदूतोऽसि वायसोऽसि महामते।

इमं बलिं गृहाण त्वं त्रायस्व यमसङ्कटात्।।

 

यसरी यमदूत कागको विशेष पूजा-आराधना तथा काकबलिद्वारा कागलाई प्रसन्न गरिने दिन भएकोले नै तिहारको प्रारंभिक दिनलाई 'कागतिहार' भन्ने गरिएको हो। कागतिहारमा कागको पूजा गरी विभिन्न प्रकारका खानेकुरा दिनाले मृत्युपछि यमलोक जानुपर्दैन भन्ने पारंपरिक जनविश्वास पनि रहेको देखिन्छ।

 

कागतिहार अर्थात् कार्तिक कृष्णपक्ष त्रयोदशीकै सायंकाल मृत्युदेव यमराजको आगमन हुने हुँदा दीप प्रज्वलित गरी यमराजको स्वागत-सत्कारस्वरूप 'दीपदान' गर्ने गरिन्छ। उक्त विधिलाई सामान्य व्यवहारिक शब्दमा ‘यमदीपदान’ पनि भन्ने प्रचलन रहेको छl स्कन्दपुराणअनुसार कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिमा रात पर्न लागेपछि घरको मूल ढोकामा यमराजलाई दीपदान गर्नुपर्दछ।

 

यसरी यमराजलाई दीपदान गरेर उनलाई आफ्नो घरभित्र नपस्न र परिवारका कुनैपनि सदस्यलाई दुःखकष्ट नदिन समेत अनुरोध गर्ने गरिन्छ। यसैक्रममा मेरो परिवारमा सबैको दीर्घायु,आरोग्य,ऐश्वर्य एवं सुखसमृद्धिको उपलब्धि होस् भनेर यमराजको आराधना पनि गरिन्छl त्यस्तै जीवनमा आइपर्ने दुर्घटना,अकालमृत्यु रोग-व्याधि जस्ता विपत्तिनिवारण होस् भन्ने कामना सिद्ध गर्ने उद्देश्यले यमराजलाई दीपदान गर्ने प्रचलन रहेको होl

 

यमराजलाई दीपदान गर्दा निम्नलिखित मंत्रोच्चार गर्ने गरिन्छ-यमाय पाशहस्ताय महिषारूढाय कृष्णवर्णाय नमः’l यसरी दीपदान गरिसकेपछि यमराजको प्रसन्नताका लागी प्रार्थना पनि गर्नुपर्दछl प्रार्थना गर्दा निम्नलिखित मंत्रोच्चार गर्नुपर्दछ-

 

मृत्युः पाशधरः कृष्णः कालो दण्डधरो महान्।

तुष्टोऽस्तु दीपदानेन त्रयोदश्यां स धर्मराट्।।

मृत्युना पाशदण्डाभ्यां कालेन ह्यामयेन च।

त्रयोदश्यां दीपदानात् सूर्यजः प्रीतये मम।।

धर्मराज नमस्तुभ्यं भवान्नुद्धरणक्षमः।

अज्ञानाज्ज्ञानदोषान् मे क्षमस्व त्वं कृपाकरः।।

 

यो पनि पढ्नुहोस्- तिहारको धार्मिक,सांस्कृतिक एवं मनोवैज्ञानिक महत्व