यमपंचकको दोस्रो दिन,आज कुकुरतिहार मनाइँदै

मृत्युपश्चात् यमद्वारबाट मार्गप्रशस्त गरी स्वर्ग जाने बाटो देखाइदिने जनविश्वास

कार्तिक २०,२०७५

-माधव प्रसाद गर्तौला

२० कार्तिक २०७५ काठमाण्डौ l 

 

यमपञ्चकको दोस्रो दिन आज कुकुरतिहार। आजको दिन नेपालीहरुले आ–आफ्नो घरआँगनमा कुकुरलाई डाकेर विभिन्न परिकारको भोजन उपलब्ध गराएर पूजा गर्दैछन्। हिन्दू परंपरामा मनाइने दोस्रो ठूलो पर्व तिहार हो। कार्तिक महिनाको कृष्णपक्षको त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया (पाँच दिन) सम्म यो पर्व मनाइन्छ। यो पाँच दिनको अवधिलाई ‘यमपञ्चक’ पनि भनिन्छ।

 

यमपञ्चक प्रारंभ भएपछि भगवान् सूर्यका पुत्र एवं मृत्युका अधिदेवता यमराज यमलोकबाट आफ्नी भगिनी यमुनाको घर मर्त्यलोक (पृथ्वी) मा आएर यमपञ्चकभरि विराजमान भई भगिनीको हातबाट टिका लगाएपछि यमलोक फर्कन्छन् भन्ने पौराणिक आख्यान रहेको पाइन्छ। यमपञ्चकको प्रारंभकालमा आफू पृथ्वीमा अर्थात् भगिनी यमुनाको घर आउन लागेको संकेत प्रदान गर्न मृत्युदेव यमराजले पाहिले नै आफ्ना दूत कागलाई पठाउने गर्दछन्।

 

यमपञ्चकको पहिलो दिन यमराजको दूत कागको पूजा-आराधना गरी विभिन्न परिकारहरुद्वारा उनको सत्कार गरिन्छ भने दोस्रो दिन अर्थात् कार्तिक कृष्णपक्षको चतुर्दशीमा कुकुरलाई विधिवत् पूजा-अर्चना गरी विभिन्न प्रकारका स्वादिष्ट भोजन प्रदान गरिन्छ। पौराणिक आख्यानअनुसार यमलोकमा यमराजको द्वारपालका रूपमा रहने श्याम र सबल नामक कुकुर नै हुन्l आजको दिन कुकुरलाई यसरी सम्मान दिनाले मृत्युपश्चात् यमद्वारबाट मार्गप्रशस्त गरी स्वर्ग जाने बाटो देखाइदिने विश्वास समेत गरिन्छ। द्वापरयुगको अन्त्यमा पञ्चपाण्डव एवं उनकी पत्नी द्रौपदी स्वर्ग जाने क्रममा चार भाई (भीम, अर्जुन, नकुल, सहदेव) र द्रौपदीको यात्रापथमै देहावसान भएको र धर्मराज युधिष्ठिरलाई कुकुरले स्वर्गको द्वारसम्म पुर्याएको सन्दर्भ इतिहास एवं पुराणहरुमा उल्लेख रहेको पाइन्छ।

 

यस जगतको सामान्य मानवीय व्यवहारमा पनि मनुष्यको आज्ञापालक, सहयोगी र संरक्षकका रूपमा कुकुरलाई लिने गरिन्छ। घरको रेखदेख, सुरक्षादेखि अपराध निवारण र अपराधीहरूलाई नियन्त्रण गर्ने विशेष अनुसन्धानसम्मका कार्यमा मनुष्यलाई सहयोग पुर्याउने कुकुरलाई सम्मान गर्ने पर्वको रूपमा कुकुरतिहारलाई लिन सकिन्छ। मनुष्यप्रति संधै बफादार रहने, कुनै खतरा आइपरे संकेत गराउने, शत्रुबाट जोगाउने जस्ता अनेक गुण कुकुरमा विद्यमान छन्। उच्च सुँघ्नसक्ने क्षमताका कारण आजकल सुरक्षा निकायले गम्भीर प्रकृतिका अनुसन्धानमा कुकुर प्रयोग गर्छ। अपराधी पहिचान गर्नदेखि मनुष्यले गर्न नसक्ने जोखिमयुक्त कामका लागि समेत कुकुर प्रयोग हुँदै आएको छ।

 

कार्तिक कृष्णपक्षको चतुर्दशी तिथिलाई नर्क (नरक) चतुर्दशी पनि भनिन्छ। यसै दिन नर्कबाट मुक्ति पाउनका लागी प्रातःकाल तैलाभ्यङ्ग (तेल लगाएर) स्नान गर्ने विधान रहेको छ। यस दिन तिलमा भगवती लक्ष्मी र जलमा परम पावन माता गंगाको वास हुने भएकाले तिलको तेल पूरा शरीरमा लगाएर स्नान गर्दा सम्पूर्ण पापहरू नष्ट हुन्छन् र नरकको दर्शन गर्नुपर्दैन भन्ने मान्यता रहेको छl स्नान गर्नुअघि अपामार्ग (दतिउन) का पातलाई पानीमा डुबाएर शिरमा घुमाउनुपर्दछ।

 

अपामार्गको पातलाई शिरमा घुमाउंदा भनिने मंत्र यसप्रकार रहेको छ-

 

सीतालोष्टसमायुक्तः सकण्टकदलान्वितः।

हर पापमपामार्ग भ्राम्यमाणः पुनः पुनः।।

 

यसरी स्नान गरिसकेपछि यमराजलाई तर्पण पनि दिनुपर्छ। दक्षिण दिशातर्फ फर्किएर सव्य भई देवतीर्थद्वारा तीन–तीन अञ्जुली तिलयुक्त जलले तर्पण गर्नाले वर्षदिनसम्म गरिएका पापहरूबाट मुक्ति मिल्दछ भनी शास्त्रवचन रहेको छl

 

श्रीमद्भागवतमहापुराण अनुसार द्वापरयुगमा नरकासुर नामक दैत्यले सोर्ह हजार कन्याहरूलाई हरण गरी आफ्नो नियंत्रणमा राखेको थियोl अंततः भगवान् श्रीकृष्णले नरकासुरको वध गरी सोर्ह हजार कन्याहरूलाई समेत मुक्त गरेl  त्यसपछि ती कन्याहरूलाई सम्मानपूर्वक रहने व्यवस्था मिलाउन उनीहरु सबैसँग विवाह समेत गरेका थिए। यसरी नरकासुरको अंत्य गरी कन्याहरूलाई बन्धनमुक्त गरेको उपलक्ष्यमा उक्त दिनलाई नर्क चतुर्दशी भनी दीपदान गर्ने परम्परा शुरु भएको मान्यता रहेको छl

 

यो पनि पढ्नुहोस्- यमपंचक प्रारंभ,आज हर्षोल्लासपूर्वक कागतिहार मनाइँदै