यमपंचकको तेस्रो दिन,आज हर्षोल्लासपूर्वक लक्ष्मीपूजा गरिँदै

लक्ष्मीपूजा एवं दीपावलीको अर्थ "तमसोमा ज्योतिर्गमय" अर्थात् अन्धकारबाट प्रकाशतर्फ उन्मुख हुनु हो

कार्तिक २१,२०७५

-माधव प्रसाद गर्तौला

२१ कार्तिक २०७५ काठमाण्डौl  

 

ॐ हिरण्यवर्णां हरिणीं सुवर्णरजतस्रजां।

चंद्रां हिरण्यमणीं लक्ष्मीं जातवेदो म आ वहl l

 

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीपूजा। हिन्दू परंपरामा मनाइने दोस्रो ठूलो पर्व तिहार हो। कार्तिक महिनाको कृष्णपक्षको त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया (पाँच दिन) सम्म यो पर्व मनाइन्छ। यो पाँच दिनको अवधिलाई ‘यमपञ्चक’ पनि भनिन्छ।

 

यमपञ्चक प्रारंभ भएपछि भगवान् सूर्यका पुत्र एवं मृत्युका अधिदेवता यमराज यमलोकबाट आफ्नी भगिनी यमुनाको घर मर्त्यलोक (पृथ्वी) मा आएर यमपञ्चकभरि विराजमान भई भगिनीको हातबाट टिका लगाएपछि यमलोक फर्कन्छन् भन्ने पौराणिक आख्यान रहेको पाइन्छ। हिन्दू धर्म–संस्कृति अनुसार देवी–देवताहरुमा भगवती माता लक्ष्मीलाई धनधान्य एवं मंगलकारी देवीकोरूपमा पूजा गरिन्छ । यो पर्व कार्तिक अमावास्याको रातमा मनाइन्छ । यसलाई दीपोत्सव (दीपावली) पनि भनिन्छ ।

 

लक्ष्मीपूजा नेपालका प्रमुख पर्वहरूमध्ये एक हो। तिथिअनुसार कार्तिक कृष्ण अमावस्याका दिन यो पर्व मनाइन्छ। नेपालमा यो पर्व भगवती लक्ष्मीको पूजा-अराधना गरी घरभरि दियो बाली मनाइन्छ। वर्षका चार महत्वपूर्ण रातहरूमध्ये लक्ष्मीपूजाको रातलाई ‘सुखरात्रि’ पनि भनिन्छ। यस दिन स्त्री जाति विशेष गरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने प्रचलन पनि रहेको छ। यसैदिन सबैको घरघरमा गाईलाई लक्ष्मीस्वरूप मानी पूजा-अर्चना गरी विभिन्न परिकार समेत खुवाइन्छl

 

लक्ष्मी शब्दको सर्वप्रथम उल्लेख ऋग्वेदको पुरूषसूक्तमा गरिएको छ- “श्रीश्च ते लक्ष्मीश्च ऊषाण”l हे परमेश्वर! अनन्त शोभायुक्त श्री र शुभलक्षणा भगवती लक्ष्मी दुबै हजुरका पत्नी हुन्l भगवान विष्णु र भगवती लक्ष्मी एक-आपसमा अभिन्न छन्। केवल लौकिकरूपमा भिन्न देखिन्छन्। सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ। भगवती लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ। कार्तिक कृष्ण अमावस्याको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ। यो भयंकर अन्धकारलाई प्रकाशले आलोकित बनाउनका लागी घर-घरमा बत्ती बालिन्छl

 

त्रेतायुगमा मर्यादापुरुषोत्तम भगवान् श्रीरामचन्द्रले लोककल्याणको भावनाले अत्याचारी दशानन रावणआदि दैत्यहरूको नाश गर्नुभएको थियोl  यसै कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण समेत गरेको खुशियालीस्वरूप अयोध्यावासीले दीपोत्सव गरेको प्रसङ्ग पुराणहरुमा उल्लेख गरिएको छl लक्ष्मीपूजा एवं दीपावलीको वास्तविक अर्थ "तमसोमा ज्योतिर्गमय" अर्थात् अन्धकारबाट प्रकाशतर्फ उन्मुख भई आफू एवं समस्त जागतिक प्राणीहरुप्रति सद्भावना राख्नु होl

 

माता लक्ष्मीलाई प्रार्थना गर्ने मंत्र यसप्रकार रहेको छ-

 

ॐ कमला चपला लक्ष्मीश्चलमूर्तिर्हरिप्रिया।

पद्मा पद्मालया सम्पदुच्चैः श्रीः पद्मधारिणी।।

नमस्ते सर्वदेवानां वरदासि हरिप्रिये।

या गतिस्त्वत्प्रपन्नानां सा मे भूयात्वदर्चनात्।।

 

शारदेन्दुकलाकान्तिः स्निग्धनेत्रा चतुर्भुजा।

पद्मयुग्मा चाभयदा करव्यग्रकराम्बुजा।।

विष्णोर्वक्षसि पद्मे च शङ्खे चक्रे गदाधरे।

लक्ष्मिदेवि यथाऽसि त्वं मयि नित्यं तथा भव।।

 

यो पनि पढ्नुहोस्- यमपंचकको दोस्रो दिन,आज कुकुरतिहार मनाइँदै