यमपंचकको चौथो दिन,आज गोवर्धनपूजा गरी मनाइँदै

प्राकृतिक संपदाप्रति हामी सबैको दायित्व एवं कर्तव्यप्रति ध्यानाकर्षण गर्नेगर्दछ

कार्तिक २२,२०७५

-माधव प्रसाद गर्तौला

२२ कार्तिक २०७५ काठमाण्डौ l 

 

यमपञ्चकको चौथो दिन आज गोवर्धनपूजा। हिन्दू परंपरामा मनाइने दोस्रो ठूलो पर्व तिहार हो। कार्तिक महिनाको कृष्णपक्षको त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया (पाँच दिन) सम्म यो पर्व मनाइन्छ। यो पाँच दिनको अवधिलाई ‘यमपञ्चक’ पनि भनिन्छ। यमपञ्चक प्रारंभ भएपछि भगवान् सूर्यका पुत्र एवं मृत्युका अधिदेवता यमराज यमलोकबाट आफ्नी भगिनी यमुनाको घर मर्त्यलोक (पृथ्वी) मा आएर यमपञ्चकभरि विराजमान भई भगिनीको हातबाट टिका लगाएपछि यमलोक फर्कन्छन् भन्ने पौराणिक आख्यान रहेको पाइन्छ।

 

यमपंचकको चौथो दिन अर्थात् कार्तिक शुक्लपक्ष प्रतिपदाको दिन सम्पूर्ण नेपालीहरुको घरघरमा गाईको गोबरले गोवर्धन पर्वतको प्रतिमा निर्मित गरी गाई, गोरुको समेत पूजा-अर्चना गरी बहुगुणकारी गाईप्रति श्रद्धा प्रकट गर्ने हेतु गोवर्धन पूजा गरी मनाइन्छl

 

भगवान श्रीकृष्णले अमरावती स्वर्गका देवराज इन्द्रको क्रोध गोकुलस्थित द्वारिकानगरीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो गोवर्धन पर्वतलाई उठाएर त्यसमुनी द्वारिकावासीलार्इ ओत लागाएर बचाएको कथा श्रीमद्भागवतमहापुराणमा उल्लेख गरिएको छ। भगवान श्रीकृष्णसंग आजकै दिन देवराज ईन्द्रले आफ्नो अभिमानयुक्त व्यवहारप्रति खेद प्रगट गरी क्षमायाचना मागेको समेत उल्लेख गरिएको छ। आजको दिन, भगवान श्रीकृष्णले उठाउनुभएको त्यही गोवर्धन पर्वतको पूजा-आराधना गर्ने परंपरा छl यसरी गोवर्धन पर्वतको पूजा-आराधना गर्दा गार्इवस्तुको गोबरलाई नै गोवर्धन पर्वतको प्रतीकको रूपमा पूजन गर्ने गरिन्छ।

 

यस्तो पनि मान्यता रहेको छ कि भगवान श्रीकृष्णले देवराज इंद्रको मान-मर्दनको पछाड़ी एउटा ख़ास उद्देश्य थियो कि ब्रजवासी गौधन एवं पर्यावरणको महत्वलाई बुझून् र तिनको संरक्षण गरून्l यस दिनले यो संदेश पनि दिन्छ कि हाम्रो जीवन प्रकृतिको हर-एक चीजहरुप्रति निर्भर गर्दछ, जस्तै- रुख-बिरुवा, पशु-पक्षी, नदी-नाला आदिl यसैले हामी सबैले पनि यी सबै वस्तु तथा प्राणीहरुलाई कृतज्ञता ज्ञापन गर्नुपर्दछl हाम्रो देश नेपालमा जलवायु संतुलनको विशेष कारक तत्व पर्वत श्रृंखला एवं नदीहरु नै हुन्l यसप्रकार यो दिन सबैखालका प्राकृतिक संपदाप्रति हामी सबैको दायित्व एवं कर्तव्यप्रति ध्यानाकर्षण गर्नेगर्दछl

 

आजकै दिन गाईको समेत पूजा गर्ने विधान रहेको छl प्राचीन वैदिक सनातन कालदेखि नै यो परंपरा रही आएको होl गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी संमान गरिन्छl स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा प्राप्त गरी दूध, मूत्र र गोबरका माध्यमबाट मनुष्यलाई शक्ति प्रदान गर्ने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरिसकेको छl

 

यो पनि पढ्नुहोस्यमपंचकको तेस्रो दिन,आज हर्षोल्लासपूर्वक लक्ष्मीपूजा गरिँदै