यमपंचकको पांचौंदिन,आज हर्षोल्लासपूर्वक भाईटिका लगाईंदै

दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीयता र पवित्र स्नेह सदा अटल रहोस्

कार्तिक २३,२०७५

-माधव प्रसाद गर्तौला

२३ कार्तिक २०७५ काठमाण्डौ l 

 

यमपञ्चकको पांचौं दिन आज भाईटिका। हिन्दू परंपरामा मनाइने दोस्रो ठूलो पर्व तिहार हो। कार्तिक महिनाको कृष्णपक्षको त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया (पाँच दिन) सम्म यो पर्व मनाइन्छ। यो पाँच दिनको अवधिलाई ‘यमपञ्चक’ पनि भनिन्छ। यमपञ्चक प्रारंभ भएपछि भगवान् सूर्यका पुत्र एवं मृत्युका अधिदेवता यमराज यमलोकबाट आफ्नी भगिनी यमुनाको घर मर्त्यलोक (पृथ्वी) मा आएर यमपञ्चकभरि विराजमान भई भगिनीको हातबाट टिका लगाएपछि यमलोक फर्कन्छन् भन्ने पौराणिक आख्यान रहेको पाइन्छ।

 

सूर्यपुत्र यमराजले आफ्नी बहिनी यमुनाको निमंत्रण स्वीकार गरी बहिनीका घरमा गई रमाइलो गरी यस सृष्टिको अति महत्वपूर्ण कार्यसम्पादक हुँदा पनि अवकास लिई आफ्ना आत्मीयहरुप्रति देखाएको स्नेहलाई अभिव्यक्त गर्ने यो पर्वलाई यमपञ्चकको नामले पनि चिनिन्छl यसरी रहँदा–बस्दा यमुनाको व्यवहारले निकै प्रसन्न भई यमराजले बहिनी यमुनालाई “इच्छित वर माग“ भन्दा बहिनी यमुनाले “हरेक वर्ष आजकै दिन मलाई भेट्न आउनुपर्ने, साथै दिदी–भाइ दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु भाइको आयू, कीर्ति सदा वृद्धि होस्” भन्ने वरदान मागिन् l

 

सूर्यपुत्र यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा भ्रातृपूजा गर्ने गराउनेहरूको सदा उन्नति हुने तथा यश, कीर्तिपनि फैलिने वरप्रदान गरी आफ्नी बहिनी यमुनासंग बिदा भई यमलोक फर्किएको कुरा शास्त्रमा उल्लेख गरिएको छ र यस कथालाई हामी सबैले बुझी तथा जानिराखेका पनि छौंl यसरी प्राचीन कालदेखि अहिलेसम्म पनि अविच्छिन्नरूपले यो पर्व मानिँदै आएको परम्परा हामीले सजिलै देख्न सक्छौं। तिहारले एकातिर मानव तथा पशुपक्षीबीचको प्रगाढ सम्बन्धको चित्रण प्रस्तुत गर्दछ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको आत्मीयता र पवित्र स्नेह एवं सम्बन्धलाई पनि यसले उजागर गर्दछ। तिहारका पाँचै दिन उत्तिकै महत्त्वपूर्ण हुने भएपनि लक्ष्मीपूजाको दिनदेखि यो पर्व विशेष हर्षोल्लासपूर्वक मनाउने गरिएको छ।

 

दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै दाजुभाईलाई सप्तरङ्गी टिका एवं फुलको माला लगाई सेलरोटी लगायत विभिन्न प्रकारका मिष्ठान्न प्रदान गरी भाईटिका लगाई दिन्छन्। टिका लगाई सकेपछि दिदीबहिनीलाई सामर्थ्यअनुसार दक्षिणा दिने प्रचलनपनि रहीआएको छ।

 

दाजुभाई नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाईहरूले काठमाडौँको रानीपोखरीको बीचमा अवस्थित महादेवको मन्दिरको एक कुनामा रहेको गोपालेश्वर महादेवको दर्शन गरी एक अर्कामा टिका लगाउने प्रचलन छ। सुरुमा ‘न्हुः पुखु (नयाँ पोखरी)’ भनिने उक्त पोखरी राजा प्रताप मल्लले विसं १७२७ मा आफ्ना माहिला छोरा चक्रवर्तेन्द्र मल्लको स्मरणमा निर्माण गरेका थिएl

 

यसर्थ दिदीबहिनीले दाजुभाईको र दाजुभाईले दिदीबहिनीको पूजा गर्दा यसको अर्थ यो हुन आउँछ कि यस जगतमा रहेका हर-एक मनुष्यप्रति मैत्रीपूर्ण, करुणापूर्णहृदय राखी “वसुधैव कुटुम्बकम्” को अत्यंत महत्वपूर्ण संदेश प्रदान गरिरहेको छl

 

यो पनि पढ्नुहोस्- यमपंचकको चौथो दिन,आज गोवर्धनपूजा गरी मनाइँदै