छठपर्वको धार्मिक एवं संस्कृतिक महत्व

ऋग्वेदमा सविता अर्थात् सूर्यलाई नै सम्पूर्ण देवताहरुको स्रोत मानिएको छ

कार्तिक २७,२०७५

-आस्था न्यूज

२७ कार्तिक २०७५ काठमाण्डौ l 

 

वैदिक संस्कृतिको मुख्य सार सूर्य उपासना नै हो। वेदमा सूर्यलाई ऐश्वर्यको रूपमा र विशेष गरी ऋग्वेदमा सविता अर्थात् सूर्यलाई नै सम्पूर्ण देवताहरुको स्रोत मानिएको छ। सृष्टिका सबै सम्पूर्ण प्राणी एवं वनस्पति सूर्यको उत्तापबाटै जीवित छन्। ऋग्वेदमा भनिएको छ– ‘सूर्य आत्मा जगतस्तस्थुषश्च’ अर्थात् सूर्यदेव नै यस जगतको आत्मा हुन्l अर्थवेदमा पनि सूर्यलाई परब्रह्मको साकार स्वरूप नै भनिएको छ। साथै महाभारतमा पनि सूर्यलाई सम्पूर्ण जगतका प्राणीसित सम्बन्ध भएको उल्लेख गरिएको छ।

 

सूर्योपनिषद्मा सूर्यदेवलाई ब्रह्मा,विष्णु एवं रूद्रस्वरूप भनी उल्लेख गरिएको छl भगवान् श्रीकृष्णले आफ्ना इहलौकिक लीला समाप्त गरी अन्त्यमा सूर्यदेवमा नै विलिन हुनुभएको प्रसङ्ग पनि रहेको छ। वैदिक साहित्यमा सूर्यदेवलाई चौधवटा नामले सम्बोधन गरिएको छ। सूर्यको महात्म्यबारे यजुर्वेद,सामवेद,श्रीमद्भगवद्गीता,मार्कण्डेयपुराण, सूर्यपुराण आदि प्राचीन शास्त्रहरुमा विषद वर्णन गरिएको छl सूर्यकै उपासनाबाट महर्षि याज्ञवल्वयले ज्ञान प्राप्त गरेको प्रसंग समेत यिनै शास्त्रहरुमा उल्लेख रहेको छ।

 

सूर्यपुराणमा उल्लेखित प्रसंगअनुसार कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठपर्व सर्वप्रथम महर्षि अत्रिकी पत्नी सती अनुसूयाले सुख,शांति,समृद्धि एवं दाम्पत्य जीवनको निष्ठाका लागी गरेकी थिइन्। सोही समयदेखि यस पर्वको प्रारंभ भएको मानिन्छ। त्यस्तै द्वापर युगको महाभारतकालमा पनि पाण्डवहरु अज्ञात वासमा हुँदा उनकी पत्नी द्रौपदीले आफूहरूको अज्ञात वास सफल होस् भनी सूर्यदेवको उपासना गरेको कथा महाभारतमा उल्लेख गरिएको छ। श्रापबाट पीडित प्रसिद्ध संस्कृत कवि मयूर भट्टले सूर्यको उपासनाबाट सुन्दर कञ्चन शरीर पुनःप्राप्त गर्नुभएको प्रसंग पनि रहेको छ शास्त्रमा उल्लेख छl

 

सूर्यषष्ठी (छठ) निकै कठिन पर्व हो। धार्मिक एवं सामाजिक संस्कृतिका अभिन्न अङ्ग मानिएको छठ पर्वमा सत्य एवं अहिंसाप्रति मानवहरुको रुचि बढाउने र सबै प्राणीहरुप्रति सहानुभूति एवं प्रेम राख्न अभिप्रेरित गर्ने विशेषता पनि रहेको छl

 

छठ पर्व चार‌‌ दिनसम्म मनाइन्छ। यो‌‌ पर्व कार्तिक शुक्ल चतुर्थीको‌‌ दिनदे‌‌खि प्रारम्भ हुन्छ। पहिलो‌‌ दिनलाई ‘अर‌‌बा–अर‌‌बाइन’ भनिन्छl  यस दिन पवित्र‌‌ भएर‌‌ लौ‌‌काको‌‌ तर‌‌कार‌‌ी र‌‌ भात खाने‌‌ प्रचलन रहेको छ l यसमा तामसिक मानिने लसुन,प्याज पूर्णत: वर्जित हुन्छ। पञ्चमीका दिनलाई खर‌‌ना (पाप–क्षय) भनिन्छ। व्रतालुहरु दिनभर‌‌ी उपवास बसे‌‌र‌‌ बे‌‌लुका चन्द्र उदयपछि के‌‌र‌‌ाको‌‌ पातमा रोटी र सख्खर‌‌बाट पकाएको‌‌ चामलको‌‌ खीर‌‌ पूजा पश्चात् ग्रहण गर्दछन्। षष्ठिको‌‌ दिन अर्थात् ते‌‌श्रो‌‌ दिन गहुँ र‌‌ चामल ओ‌‌खल जाँतो‌‌ वा ढिकीमा पिसाएर‌‌ त्यसबाट एक विशेष प्रकारको मिष्ठान्न जसलाई ‘ठ‌‌कुवा र भुसुवा’ भनिन्छ, प्रसाद तयार‌‌ गरि‌‌न्छ। छठ पर्वको‌‌ पूजा सामग्री तयार‌‌ गर्दा विशे‌‌ष चो‌‌खो‌‌ नितो‌‌मा ध्यान दिनुपर्दछ। प्रसाद अपवित्र अथवा जुठो‌‌ भएमा अनिष्ट एवं चर्मरोग हुने‌‌ जनविश्वास पनि रहेको छ l

 

भगवान सूर्यदेवलाई अर्घ्यप्रदान गर्ने मंत्र निम्नलिखित रहेको छ-

नमोऽस्तु सूर्याय सहस्रभानवे।

नमोऽस्तु वैश्वानरजातवेदसे।।

त्वमेव चार्घ्यं प्रतिगृहाण देव।

देवाधिदेवाय नमो नमस्ते।।

नमो भगवते तुभ्यं नमस्ते जातवेदसे।

दत्तमर्घ्यं मया भानो त्वं गृहाण नमोऽस्तु ते।।

ज्योतिर्मय विभो सूर्य तेजोराशे जगत्पते।

अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकर।।

एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते।

अनुकम्पय मां भक्त्या गृहाणार्घ्यं दिवाकर।।

एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते।

गृहाणार्घ्यं मया दत्तं संज्ञया सहित प्रभो।।

 

सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको हुनाले सूर्य प्रति कृतज्ञताको अभिव्यक्ति पनि छठ पर्वले दिन्छ। यसका साथै आफ्नै खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो। जातीय, सामाजिक र सामुदायिक सद्भावमा छठको विशेष भूमिका पाइन्छ। छठको सबैभन्दा महत्वपूर्ण पक्ष यसले सबैलाई समाहित गर्छl कुलीन भनिएको परिवारका बुहारीले छठको आशीर्वाद स्वरूप प्रसादका निम्ति थापेको आँचलमा कुनै दलितको अर्घ्यको ठकुवा आए पनि सहर्ष स्वीकार्ने यसको विशिष्ट पक्ष मानिन्छ।