Trending :
 

युगांडाको एउटा विद्यालयमा भएको आगलागीमा ११ जनाको मृत्यु, २० घाइते

कार्तिक २७,२०७५

-

२७ कार्तिक २०७५ काठमाण्डौ l 
 
 
कम्पाला । युगाण्डाको एउटा विद्यालयको छात्रावासमा भएको आगलागीमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । सुतिरहेका बेला भएको आगलागीका कारण अरु २० जना जलेर घाइते पनि भएको प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । 
 
 
विद्यालयका प्रधानाध्यापक हेनरी सुबुगाले घटनामा दोषी भएको आशङ्कामा केही विद्यार्थीहरुलाई नियन्त्रणमा लिइएको बताए ।  
 
 
युगाण्डाको दक्षिणी क्षेत्रमा पर्ने राकैमा रहेको सेन्ट बर्नाड सेकेन्डरी स्कुलको छात्राबासमा आगलागी भएको हो । गत आइतबार राती आगलागी भएको समाचारमा जनाइएको छ । 
 
 
आगलागी गराउनेले बाहिरबाट ढोका बन्द गरिदिएर विद्यार्थीहरुलाई भित्र थुनेर बाहिर निस्कन नमिल्ने बनाएर आगलागी गराएको प्रहरीले जनाएको छ । 
 
 
बाहिरबाट ढोका बन्द गरिदिएकाले उद्धार गर्न पनि कठिनाई भएको प्रहरी अधिकारीहरुको भनाई छ । ढोका नलगाइएको भए मानवीय क्षती पनि कम हुने प्रधानाध्यापक सुबेगाले बताए ।  
कतिपय शवहरु अत्यधिक जलेर पहिचान गर्न गाह्रो भएकाले प्रहरीले डिएनए परिक्षण गर्न लगाइएको उनले जानकारी दिए । क्षेत्रीय प्रहरी प्रमुख बेन नुवामान्याले एएफपीसँगको कुराकानीमा ११ जना विद्यार्थीको जलेर मृत्यु भएको पुष्टी गरेका छन् । 
 
 
आगलागीमा परेर जलेर घाइते भएका २० जनाको अस्पतालमा उपचार भइरहेको छ र उनीहरु अधिकांशको अवस्थार गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् । 
 
 
घटना भएको ठाउँ राखै जिल्ला देशको राजधानी काम्पाला देखि २८० किलोमिटर टाढा पर्दछ । रासस/एएफपी