मंगोलियामा ८० दिनसम्म मृत मालिकलाई पर्खिरहेको कुकुर चर्चामा
-
२८ कार्तिक २०७५ काठमाण्डौ l
बीबीसी । मंगोलियाको एक व्यस्त सडकमा ८० दिनदेखि आफ्नी मृत मालिकलाई कुरेर बसेको एउटा कुकुरको भिडियोले सामाजिक संजालमा अहिले लाखौँको मन छोएको छ । मालिकको मृत्यु भएकै सडकमा दैनिक उभिएर शोक मनाउने गरेको यस इमान्दार कुकुरको भिडियो चिनियाँ सामाजिक संजाल वेइबोमा मात्र १४ लाख पटक हेरिएको बताइएको छ । वास्तवमा तिनको यसै अगस्ट २१ मा मृत्यु भएको थियो र त्यसै दिनदेखि सो कुकुर त्यही सडकमा कुरेर बस्ने गरेको बताइएको हो । यसबारे चीनको पियर भिडियो वेबसाइटले भिडियो बनाइ केही दिन अगाडि मात्र सामाजिक संजालमा शेयर गरेको हो ।
त्यहीँका एक ट्याक्सी चालकले बताए अनुसार सडकका अन्य यात्रुहरुले उसलाई खानेकुरा दिन र मद्दत गर्ने प्रयास गरिसकेका छन् । तर अरु मान्छे नजिक आउनासाथ ऊ परपर भाग्ने गरेको उनले बताए । यस घटनाबाट सो कुकुर र त्यसको मालिकबीचको सम्बन्ध वास्तवमै अत्यन्तै गहिरो रहेको पुष्टि हुन्छ । उनले भने, “म सधैँ यसलाई त्यहिँ देख्छु । ऊ सधैँ सडकमै हुन्छ । साँच्चिकै मानिसप्रति जनावरको लगाव हामीले साचेभन्दा धेरै गहिरो हुन्छ ।” अहिले वेइबोमा भइरल बन्न पुगेको यस इमान्दार कुकुरको भिडियोबारे लाखौँ मानिसले प्रतिक्रिया दिइसकेका छन् । धेरैले त्यसरी सडकमा उभिनु उसका लागि खतरनाक हुन सक्ने भन्दै चिन्ता समेत व्यक्त गरेका छन् ।
तर यसरी वास्तविक प्रेम र इमान्दारिताको प्रमाण दिएको यो पहिलो कुकुर होइन । अघिल्लो वर्षपनि चीनमै एउटा शिओङशिओङ नामक बूढो कुकुर आफ्नो मालिक घर फर्किने समय सधैँ ट्रेन स्टेसनमा कुरिरहने गरेको घटना चर्चामा आएको थियो । त्यसैगरी जापानको ‘हाचिको द आकिता’ ले पनि १९२० मा धेरै नाम कमाएको थियो । सधैँ ट्रेन स्टेसनमा आफ्नो मालिकलाई भेट्न आउने सो कुकुरले मालिकको मृत्यु भएको नौ वर्षसम्म तिनलाई त्यसरी नै स्टेनसन बाहिर पर्खिरहने गरेको थियो ।