कार्तिक २८,२०७५
-आस्था न्यूज
२८ कार्तिक २०७५ काठमाण्डौ l
मीराबाई (सन् १५०४-१५६०) कृष्ण-भक्ति संगीतकी प्रमुख कवयित्री थिइन्। उनको जन्म भारतको जोधपुरको नजीकै मेड्ता ग्राममा भएको थियो। उनको पिताको नाम राणा रत्नसिंह थियो। उनको पति कुंवर भोजराज उदयपुरको महाराणा सांगाका छोरा थिए। विवाहको केही समय नबित्दै उनको पतिको मृत्यु भयो। पतिको मृत्युपछि उनलाई पतिसंगै सती जान कर गरियो तर उनी यसका लागि तयार भइनन्। त्यसपछि संसारदेखि विरक्त भएर साधु-सन्तको संगतमा हरिकीर्तन गर्दै समय व्यतीत गर्न थालिन्। केही समयपछि उनी घर त्यागेर तीर्थाटनमा निस्किइन्। उनी लामो समयसम्म वृन्दावनमा बसिन् र फेरि द्वारिका गइन् जहाँ उनले बाँकी जीवन व्यतित गरिन्। मीराबाईले कृष्ण-भक्तिको स्फुट पदको रचना गरेकी छन्।
एकदिन छिमेकी कहाँ भएको विवाहमा भव्य जन्ती आएको थियो। सबै केटाकेटी, आइमाइहरू घरको छतमा गएर त्यो भव्य जन्ती हेरिरहेका थिए। मीरापनि त्यही विवाह हेर्न भनी छतमा गइन्। जन्तीलाई हेरेर उनले आफ्नी आमासँग सोधिन् कि “आमा मेरो दुलहा को हुन्”? यस्तोमा उनकी आमाले भगवान श्रीकृष्णको प्रतिमातर्फ इशारा गरेर भनेकी थिइन् कि “यही तिम्रा बेहुला हुन्”। यही कुरा उनका बालह्रदयमा गाँठो भएर बाँधिएर रह्यो।
केही समयपछि मीराबाईको विवाह महाराणा साँगाका पुत्र राणा भोजराजसँग भयो। राणा भोजराज पछि गएर महाराणा कुंभा नामले प्रसिद्ध भए। पहिले त यस विवाहका लागी मीरावाईले अस्वीकार गरिन्। राणा कुंभाले मीराबाईसँग विवाह गर्नेबेला मीराबाईलाई बाहिर सांसारिकरूपले जेजस्तो व्यवहार गरिए तापनि उनलाई स्पर्शसम्मन् नगरीकन उनलाई उचित सम्मान दिई रात्रीविश्राम समेत पृथकरूपले गर्ने तथा उनको भगवान श्रीकृष्णप्रतिको प्रेम एवं समर्पणलाई उनले मृत्युपर्यन्त साथ दिने वचन दिएका थिए।
यस्तोमा प्रतिदिन राजमहलको सामान्य गृहिणीको काम सकिसकेपछि उनी भगवान श्रीकृष्णको मन्दिरमा जान्थिन् र उनको पूजा-आराधना गर्थिन्। भगवान श्रीकृष्णको प्रतिमा अगाडि गाउँथिन् र भक्तिपूर्वक नृत्यपनि गर्थिन्l तर अन्य राजपरिवारका समस्त सदस्यहरु भने भगवती दुर्गालाई आफ्ना कुलदेवी मानी उनकै पूजा-आराधना गर्दथेl तर मीराबाईले भगवती दुर्गालाई आफ्नी इष्टदेवी स्वीकार गर्न अस्वीकार गरिन्l उनका पति राणा कुंभा बाहेक परिवारका अन्य सबै सदस्यहरुले उनको कृष्णप्रतिको भक्ति-भावलाई कहिल्यैपनि स्वीकार गर्न सकेनन्।
मीराबाईको देवरानी उदाबाईले उनलाई बदनाम गर्न उनका विरुद्ध विविध प्रकारका योजनाहरु बनाउने काम गर्थिन्l यसैक्रममा उनले एकदिन आफ्नो भ्राता राणा कुंभासंग मीराबाईको कसैसँग गुप्त प्रेम छ र मीराबाईले मन्दिरमा अरूसँग प्रेम गरेको देखेकी छन् भनेर भनिन्। राणा कुंभा आफ्नी बहिनी उदाबाईसँग आधारातमा मन्दिर गए। उनीहरूले राणा कुंभालाई मंदिरभित्र प्रवेश गर्न लगाए। त्यहाँ मीराबाई भगवान श्री कृष्णको प्रतिमासामु भावविह्वल हुँदै वार्तालाप गरिरहेकी थिइन्l
यसैप्रकार राणा कुंभाका स्वजनहरूले मीराबाईलाई अनेकौं प्रकारले सताउन थाले। भगवान श्रीकृष्णप्रति मीराबाईको प्रेम एकदम नैसर्गिक एवं प्रगाढ़ थियोl समयको गतिसंगै त्यो प्रेम झंन्-झंन् उत्कट हुँदै मीराबाईको व्यक्तित्वबाट नृत्य एवं गायनको रूपमा बाहिर प्रगट हुनथाल्योl
राणा कुंभाको असामयिक निधनपछि उनको अनुज विक्रमादित्य राजसिंहासनमा विराजित भएका थिएl उनी अत्यन्तै कठोर स्वभावका थिए। उनले मीराबाईको भक्ति एवं उनको सामान्य व्यक्तिहरूसँगको घुलमिललाई लिएर उनको सतीत्वमाथि प्रश्नचिन्ह लगाई कडा विरोध गरे। उनले धेरैपटक मीराबाईको हत्या गर्ने प्रयत्नसमेत गरे, तर सफल भने हुन सकेनन्।
जब यातना अति नै कठोर एवं पीड़ादायी हुन थाल्यो तब मीराबाईले चित्तौड़ अर्थात् राजमहल त्याग्ने विचार गरिन् र प्रख्यात आध्यात्मिक कवी तुलसीदासलाई पत्र लेखी उचित परामर्श मागिन्। तुलसीदासले पनि राजमहल त्याग्ने नै सुझाव दिए परिणामस्वरूप उनले चित्तौड़को महल त्यागि मेवाड़ गइन्। त्यहाँ पनि उनले शांतिपूर्वक निवास गरी भगवान श्रीकृष्णको आराधना गर्न सकिनन्l
त्यसपछि उनी कृष्णभक्तिको केन्द्र मानिने श्रीधाम वृन्दावन गइन्। मीराबाईले आफुलाई गोपीललिता नै मान्थिन्। ललिता भगवान श्रीकृष्णको प्रेममा समर्पित नारी थिइन्। मीराबाईले कृष्णप्रेममा सराबोर हुँदै तीर्थयात्राको क्रम जारी नै राखिन्। उनले अपूर्व कृष्णभक्तिको रसले सबैलाई मंत्रमुग्ध पार्थिन्। उनको कृष्णभक्ति राधाको भन्दा कयौं गुणा उच्च आदर्शको थियो। मानिन्छ कि उनले जीवनको अन्तिम समयको केही समय भारतको गुजरातस्थित द्वारिकापूरीमा गुजारिन् र यहीं उनले आफ्नो इहलीला समाप्त गरी भगवान द्वारिकाधीशमा अंतर्धान भइन्।
प्रमुख समाचार
सम्वन्धित समाचार