तुलसी विवाह

हरिबोधिनी एकादशी एवं तुलसी विवाहको धार्मिक महत्व

एकादशी तिथिलाई भगवान् विष्णुको उपासना गर्ने महत्त्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ

मंसिर ०२,२०७५

-माधव प्रसाद गर्तौला

२ मंसिर २०७५ काठमाण्डौ l 

 

कार्तिक शुक्लपक्षको एकादशी तिथिलाई 'हरिबोधिनी' या 'हरिप्रबोधिनी' एकादशी भनिन्छ। ‘हरि’ शब्दले भगवान् विष्णुलाई जनाउँछ भने ‘बुध्’ धातुबाट निर्मित ‘बोधिनी’ शब्दले निद्राबाट जागरण हुने भन्ने जनाउँछ। पौराणिक एवं धार्मिक ग्रंथहरुमा उल्लेख भएअनुसार भगवान् विष्णु आषाढ शुक्ल एकादशीदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरूपी शय्यामा विश्राम गर्नुहुन्छ l भाद्र शुक्ल एकादशीमा दायाँतर्फ कोल्टो फर्किनुहुन्छ र आजकै दिन जाग्नुहुन्छ।

 

भगवान् विष्णु शयन गर्नुहुने तिथिलाई 'हरिशयनी' एकादशी भनिन्छ भने कोल्टो फेर्ने तिथिलाई 'हरिपरिवर्तिनी' एकादशी र शयनावस्थाबाट जागा हुने तिथिलाई ‘हरिबोधिनी’ एकादशी भनेर पौराणिक एवं धर्मशास्त्रहरुमा उल्लेख रहेको छ। भगवान् विष्णुले निद्राबाट जागरण गर्ने दिन भएकाले ‘हरिबोधिनी’ या ‘हरिप्रबोधिनी’ एकादशी भनिएको हो। भगवानका विशेष क्षणहरू परं कल्याणदायी मानिन्छन्। इतिहास, पुराण एवं धर्मशास्त्रहरूमा भगवानको शयन, परिवर्तन र जागरण हुने समयलाई उत्सवका रूपमा मनाउन निर्देश गरेको पाइन्छ। यसर्थ एकादशी तिथिलाई भगवान् विष्णुको उपासना गर्ने महत्त्वपूर्ण पर्वका रूपमा लिने गरिन्छ। सम्पूर्ण मानव जातिलाई भगवानका यी क्षणहरु परम कल्याणदायी मानिन्छन्l

 

तसर्थ इतिहास, पुराण एवं धर्मशास्त्रहरुमा यी क्षणहरुलाई उत्सवका रूपमा मनाउन निर्देश गरिएको होl स्कन्दपुराणमा कार्तिक शुक्लपक्षको एकादशीमा भगवानको जागरणउत्सव मनाउनुपर्छ भनिएको छl ब्रह्मपुराण, भविष्यपुराण र वराहपुराणमा पनि भगवानको शयन, परिवर्तन र जागरण हुने समयमा उत्सव मनाउनु पर्ने वचनहरु पाइन्छन्l

 

ब्रह्मवैवर्त पुराणमा एकादशीको महात्म्य एवं व्रत गर्ने व्रतीले पालना गर्नु पर्ने विधिविधान उल्लेख गरिएको छl व्रत गर्ने व्यक्तिले विशेष रूपले शरीर शुद्धिका साथै आहार-व्यवहारमा पनि शास्त्रोक्त विधिको परिपालना गर्नुपर्छl यस एकादशीमा निराहार उपवासलाई उत्तम मानिएको छl

 

तर फल-फुल, तिल, दूध, दहि, मोही, पानि, घ्यू आदि खाएर पनि उपवास गर्न सकिन्छl यस व्रतमा अन्न भने खान निषेध गरिएको छl व्रत गर्दा मुख्यरूपले शारीरिक अवस्थालाई महत्व दिनुपर्छl एकादशी व्रतलाई नित्यकर्मका रूपमा पालना गर्नुपर्ने हुन्छl नगर्दा दोष लाग्ने र गर्दा विशेष कामना पूर्ति नहुने कर्म नित्यकर्म होl

 

गर्दा फलप्राप्ति हुने तर नगर्दा दोष लाग्ने कर्मलाई नैमित्तिक कर्म भनिन्छl साथै गर्दा फलप्राप्ति हुने र नगर्दा दोष नलाग्ने कर्म काम्य हुन्छl एकादशी व्रत पालना नगर्दा भगवानको उत्सव प्रति बेवास्ता र धर्मशास्त्रहरुकै अवज्ञाहुने हुँदा यो नित्यकर्म नै हुन जान्छl विधिपूर्वक व्रत बस्दा विभिन्न फल प्राप्त हुने शास्त्रवचन रहेकोले यो व्रत काम्यकर्म पनि होl

 

भगवान् विष्णुको शयन अवस्थामा सम्पूर्ण जगतनै तंद्रिल अवस्थामा हुने हुनाले यस अवधिमा विशेष माङ्गलिक कार्यहरू जस्तै- विवाह, व्रतबन्ध, चूडाकर्म, गृहनिर्माणलगायत कृत्यहरू भने गरिँदैनन्। भगवानको शयन अवस्थामा गरिएका कुनैपनि कार्यहरूमा भगवानको दृष्टिगोचर नहुने हुँदा उक्त नगर्दा नै शुभ हुन्छ। तसर्थ यस अवधिमा शुभकर्म गर्न निषेध गरिएको होl

 

नित्य एवं नैमित्तिक कर्म भने चतुर्मासअवधिमा पनि गर्न हुने  शास्त्रवचन रहेको छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिकशुक्ल एकादशीसम्म भगवान् विष्णुको शयनअवस्था हुने भएकाले कार्तिक शुक्ल द्वादशीका दिन भगवानलाई जगाउने शास्त्रोक्त विधान रहेको छ। चतुर्मासभरि शयन गर्नुभएका भगवान् विष्णुलाई कार्तिक शुक्ल द्वादशीतिथिमा निम्नलिखित मन्त्रद्वारा जगाउनुपर्दछ–

 

उत्तिष्ठोत्तिष्ठ गोविन्द त्यज निद्रां जगत्पते।

त्वयि सुप्ते जगत्सुप्तमुत्थिते चोत्थितं जगत्।।

अर्थात्- हे गोविन्द! उठ्नुहोस्, हे जगत्पते! निद्रा त्याग्नुहोस्, किनकी हजुर सुत्दा सारा जगतनै सुत्छ, हजुर जाग्नाले सारा जगतनै जाग्दछ तसर्थ हे भगवन्! जाग्नुहोस्l

 

भगवान् दामोदर एवं भगवती तुलसीको विवाह

कार्तिक महिनामा भगवान् विष्णु जागा भएपछि सर्वप्रथ भगवान् विष्णुकै अपर नाम दामोदरसँग भगवती तुलसीको विवाह गर्ने विधान पनि रहेको छ। यथासम्भव कार्तिक शुक्ल द्वादशी तिथिमै सम्भव नभए त्यसपछि भगवान् ‘दामोदर–तुलसी’ विवाह गर्नुपर्दछ।

 

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले चातुर्मास भरी भगवती तुलसीको विशेष पूजा-अर्चना गर्दछन्। हरिशयनी एकादशीका दिन घर-घरमा रोपेर विशेष पूजा गरिएको भगवती तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर विविध प्रकारका अलंकारहरुले श्रृंगार गरी भगवान् दामोदर-तुलसीको विवाह संपन्न गरिन्छ।

 

भगवती तुलसी विष्णुप्रिया भएकीले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो। यसैदिन तुलसीको मठ नजिकै भगवान् विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा-आराधना गरिन्छ।

 

तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भैसकेको छ। यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ। तुलसीको सुगन्धले दसै दिशा पवित्र हुन्छ। तुलसीको पूजा-आराधना गरिएको घरमा यमदूत पनि पस्न सक्दैनन् भन्ने आस्थाका रहेको छl तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ। तुलसीको रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन।

तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैनन्। मठको वरपर बहने हावाले विषालु किटाणुहरुलाई समेत नष्ट गर्दछ। तुलसीलाई महाऔषधि मानिन्छ।

 

यसैदिन काठमाडौं उपत्यकाका चार नारायण-  भक्तपुरको चाँगुनारायण, काठमाडौंका शेष नारायण, इचँगुनारायण र विशङ्खुनारायण स्थानमा विशेष मेला लाग्दछ। यहाँ जान नसक्नेले काठमाडौंको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास पनि रहेको छ।

 

यो पनि पढ्नुहोस्- हरिशयनी एकादशी एक परिचय