Trending :
 

पत्रकार जमाल खसोग्जीको हत्या सम्बन्धी टेप रेकर्ड सुन्दिन: डोनाल्ड ट्रम्प

मंसिर ०३,२०७५

-

३ मंसिर २०७५ काठमाण्डौ l 
 
 
 
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी पत्रकार जमाल खसोग्जीको हत्या सम्बन्धी टेप रेकर्ड आफूले नसुन्ने बताएका छन् । उनले आइतबार फक्स न्यूजसँगको कुराकानीमा आफूले सो टेप दर्दनाक भएको सुनेकाले प्रत्यक्ष रुपमा सुन्न मन नलागेको बताएका छन् । 
 
 
उनले भनेका छन्,‘‘त्यो एक भयानक टेप हो । कष्टदायी टेप हो ।’’ अमेरिकी गुप्तचर संस्था सीआईएले सो हत्याकाण्डमा साउदी युवराज मोहम्मद बिन सलमानको हात रहेको जनाएपनि ह्वाइट हाउसले भने त्यसबारेमा केही पनि बताउन चाहेको छैन । ट्रम्पले सोमबार वा मंगलबार सम्ममा त्यसबारेमा अमेरिकाले विस्तृत रिपोर्ट सार्वजनिक गर्ने बताएका छन् । 
 
 
साउदी अरेबियाले भने सिआइएको भनाइलाई झूठो भएको बताएको छ । विवाह सम्बन्धी कागजात बनाउन जाने क्रममा इस्तानबुलस्थित साउदी दूतावासमा पत्रकार खसोग्जीको गएको अक्टोबर २ तारेखमा हत्या भएको थियो । साउदी युवराजको निर्देशनमा नै पत्रकारको हत्या भएको भन्ने सिआइएको भनाइले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि अहिले अप्ठेरो परेको छ  । अमेरिका र साउदी अरेबिया विश्व मामिलामा अहिले रणनीतिक साझेदारका रुपमा चिनिन्छन् । एजेंसी