पत्नीसँग आलिंगन गर्नासाथ पाण्डुको मृत्यु, महाभारतको रोचक कथा

मंसिर ०४,२०७५

-

४ मंसिर २०७५ काठमाण्डौ l 

 

प्राचीन धर्मग्रन्थहरु मध्येको सबैभन्दा ठूलो विशालकायग्रन्थ महाभारत हो। जसलाई पंचम वेदसमेत भनेर महत्वप्रदान गरिएको छ। महाभारतलाई आर्य संस्कृतिको अनुपम ग्रन्थ, पौराणिक ऐतिहासिक तथा दार्शनिक ग्रन्थको श्रेणीमा लिइन्छ । विश्व प्रसिद्ध श्रीमद्भगवद्गीता पनि यसैग्रंथको अंश हो।

 

कौरव र पाण्डवबीच कुरुक्षेत्रमा भएको युद्धको प्रारंभमा नै भगवान श्रीकृष्णले पाण्डुपुत्र अर्जुन मार्फत सम्पूर्ण मनुष्यजातीलाई दिएको उपदेश नै श्रीमद्भगवद्गीताको रूपमा आजसम्म पनि हामीहरुबीच उपलब्ध रहेको छ, जसमा आदि शंकराचार्य, श्रीरामानुजाचार्य, निम्बार्काचार्यजस्ता उद्भट विद्वानहरुले आफ्नो लेखनी चलाएका छन्।

 

महाभारतमा विभिन्न प्रसंगहरु पाइन्छन्। यस्तै एक प्रसंग यहाँ प्रस्तुत गर्न लागिएको छ।

 

हस्तीनापुरको सीमा क्षेत्रलाई राजा पाण्डुले निकै बिस्तार गर्दै चक्रवर्ती सम्राट बनेका थिए। काशी, अंगदेश, मगध लगातका धेरै राज्यहरुलाई उनले हस्तिनापुरमा गाभेका थिए। आफ्नो राज्यको सीमा बिस्तार गरेर राजकाज सम्हाल्न आएका राज पाण्डु युद्धको थकान मेट्नका लागि रानीहरुलाई लिएर वनमा जान्छन्। राजा पाण्डुका दुई पत्नी थिए। जेठी कुन्ती र कान्छी माद्री।

 

राजकाजको जिम्मा आफू फर्केर नआउने बेला सम्मका लागि दाजू धृतराष्ट्र (जो आँखा देख्दैन थिए, जसका कारण राजा बन्ने अवसर पाएका थिएनन्, कुरु वंशमा जेठो भएपनि उनी राजा बन्नबाट वंचित थिए)। लाई दिएका थिए। वनमा आराम गर्न गएका पाण्डु एउटा समस्यामा पर्छन्।

 

वन विलासमा गएका समयमा कान्छी पत्नी माद्रीले मृगको आवाज सुन्छिन् र पती राजा पाण्डुलाई मृग मारेर ल्याउन आग्रह गर्छिन्। पाण्डुले पनि मृगमाथी शब्दभेदी बाण चलाउँछन्। तर उक्त मृगको जस्तो आवाज किन्दम नाम गरेका ऋषिले आफ्नी पत्नीसँग सहवासका क्रममा निकालेका आवाज थियो। ऋषि किन्दम मृगको रूप धारण गरी आफ्नी पत्नीलाई पनि मृगीको रूप धारण गराई सहवास गर्दै थिएl शब्दभेदी बाणका कारण ऋषि पतिपत्निको निधन हुन पुग्यो। जसका कारण ऋषिले राजा पाण्डुलाई श्राप दिँदै भने- “जसरी म आफ्नी पत्नीसंग सहवासमा रत भई आनंद लिंदै थिएं र तिमीले मेरो प्राण हर्यौ त्यस्तै गरी तिमीपनि आफ्नी पत्नीको नजिक सहवास गर्ने मनसायले गयौ भने तिम्रोपनि तत्कालै मृत्यु हुनेछ”l  

 

त्यतिबेलासम्म पाण्डुका कुनै सन्तान थिएनन् । उनी चिन्तामा परे । तर कुन्तीले उपाय निकालिन् । कुन्तीले दुर्वासा ऋषिबाट आफूले चाहँदा जुन भगवान पनि उपस्थित हुने वर पाएकी थिइन् । त्यसको प्रयोग गर्दै पाँच छोराहरुको जन्म गराइन् ।

 

एक दिन राजा पाण्डु ध्यान गरिरहेका समयमा झरनामा पानी लिन गएकी कान्छी पत्नी माद्रीलाई कामुक अवस्थामा देखेपछि आफू सम्हालिन सक्दैनन् र उनले नमान्दा नमान्दै आलिंगन गर्न पुग्छन् । तत्कालै उनको निधन हुन्छ ।