Trending :
 

भक्तपुर नगरपालिकाका उपमेयरको घरमा दिउसै चोरी

मंसिर ०६,२०७५

-

६ मंसिर २०७५ काठमाण्डौ l 
 
 
काठमाडौं । भक्तपुर नगरपालिकाका उपमेयरको घरमा दिउसै चोरी भएको छ  । भक्तपुर नगरपालिकाकी उपमेयर रजी जोशीको सूर्यविनायक नगरपालिका वडा नं. ८, नौडोल, चख्खु हाइटमा रहेको घरमा चोरी भएको हो । मंगलबार दिनको समयमा नै घरको ढोका तथा घर भित्रका भित्री ढोकाहरु तोड-फोड गरी दराज तोडफोड गरी नगद तथा जिन्सी सामान, गरगहना र नगद चोरी भएको हो । 
 
 
महानगरिय प्रहरी परिसर भक्तपुरका एसपी हिमालय श्रेष्ठले चोरीमा संग्लनहरुको खोजी कार्य जारी रहेको बताए । 
 
 
‘‘घर एकान्तमा थियो । बिहान १० बजेदेखि घरमा कोही रहेनछन् । प्रहरीलाई साँझ साढे ६ बजेतिर मात्रै खबर भएको हो,’’ एसपी  श्रेष्ठले भने । 
 
 
उपत्यकामै निर्वार्चित जनप्रतिनिधिको घरमा चोरी भएको घटनाप्रति मध्यपुर थिमि नगरपालिका, भक्तपुरका प्रमुख तथा उत्पत्यका नगरपालिका फोरमले आपत्ति जनाएको छ । 
 
 
जारी विज्ञप्तिमा भनिएको छ,‘‘उपत्यकाभित्रैका निर्वाचित स्थानीय सरकारका नगर प्रमुख तथा उपप्रमुखमाथि ज्यानै लिनेसम्मको सांघातिक आक्रमण हुने तथा घरहरु तोडफोड हुनुका साथै दिनदहाडै चोरीसमेत भएको घटनाले समग्र उपत्यका भित्रको सुरक्षा व्यवस्था तथा आम नागरिकको सुरक्षामाथि समेत प्रश्न चिन्ह खडा भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’’