उत्किआग्भीक शहरमा अबको ६५ दिनसम्म घाम नलाग्ने
-
६ मंसिर २०७५ काठमाण्डौ l
एजेन्सी । अमेरिकाको सबैभन्दा उत्तरी भेगमा रहेको अलस्काको उत्किआग्भीक शहरमा अबको ६५ दिनसम्म घाम नलाग्ने भएको छ । यसरी स्थानीय समयअनुसार आइतबार दिउँसो १ः४३ मा अस्ताएको सूर्य अब २०१९ जनवरी २३ मा मात्र उदाउने सीएनएनले जनाएको हो । यस्तोमा ४ हजार मानिसको बसोबास रहेको उत्किआग्भीक सहरले केही महिनासम्मका लागि आइतबार अन्तिम सूर्य देखेको हो । यस अन्धकारमय समयलाई ‘पोलार नाइट’ भन्ने गरिएको छ भने यो शहरलाई चाहिँ ‘ब्यारो’ नाम दिइएको छ ।
वास्तवमा २४ घण्टा भन्दा लामो समयसम्म सूर्योदय नहुने ठाउँहरुमा पोलार नाइटलाई सामान्य मानिन्छ । यसबारेमा मौसमविद् जड्सन जोन्सले भनेका छन्, “यो हरेक वर्ष हुने कुरा हो । यदि तपाईँ आर्टिक सर्कल भन्दा माथि बस्नु हुन्छ भने जाडोयाममा यस्तो दिन अवस्य आउनेछ जब एकपटक सूर्य अस्ताएपछि महिनौँसम्म घाम देख्न पाइँदैन भने फेरि गर्मी सुरु भएपछि चाहिँ हप्तौँसम्म सूर्य अस्ताउने छैन ।”
यसरी जाडोयाम अन्धकारमय भएपनि गर्मीमा भने यसको ठीक विपरित हुने गर्दछ । मानव वस्ती रहेको पृथ्वीकै सबैभन्दा उत्तरी भेगमा पर्ने भएकाले पनि उत्किअग्भीगमा सबैभन्दा पहिले पोलार नाइट सुरु हुने गरेको छ । किनकी महिनौँ घाम नदेख्ने यो एक्लो सहर होइन ।
अर्को सहर काक्तोभिकका वासिन्दाहरु पनि अन्तिम नोभेम्बरदेखि दुई महिना सूर्य बिना नै बिताउने गर्दछन् । तर सूर्योदय नभएपनि सो ठाउँ पूर्ण रुपमा अन्धकारमय नहुने बताइएको छ । सूर्यको किरण ६ डिग्री तल पर्ने हुँदा घाम नलागेपनि बाहिरका वस्तुहरु मजाले देख्न सकिने हुनाले मानिसहरुको दैनिकीमा धेरै ठूलो असर नपार्ने गरेको बताइन्छ ।
अधिकतम ताप्रक्रम समेत शून्य डिग्री भन्दा कम रहने गरेको यो अत्यन्तै चिसो ठाउँमा खानेकुराहरु ज्यादै महङ्गो भएपनि सबै स्थानीय रोजगार हुने र पर्याप्त पारिश्रमिक पाउने हुँदा दैनिकीमा कुनै समस्या नहुने गरेको बताइएको छ ।