इङ्लिस प्रिमियर लिगमा सिटी र लिभरपुल विजयी
-
मंसिर ९, २०७५
इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेका म्यानचेस्टर सिटी र लिभरपुलले सहज जित हात पारेका छन् । शनिबार राती भएको खेलमा सिटीले वेष्टहाम युनाइटेडलाई ४–० गोलले हराएको छ ।
अर्को खेलमा लिभरपुलले वाटफोर्डलाई ३–० गोलले पराजित गर्यो ।
वेष्टहामको मैदानमा सिटीले एकपक्षीय खेल खेलेको थियो । सिटीको जितमा लोरी सानेले दुई तथा डेभिड सिल्भा र रहिम स्ट्रर्लिङले एकएक गोल गरे ।
सिटीले खेलको ११औं मिनेटमा सिल्भाको गोलबाट अग्रता बनाएको थियो । १९औं मिनेटमा स्ट्रर्लिङले सिटीको अग्रता दोब्बर बनाए । ३४ औं मिनेटमा सानेले तेस्रो गोल गरे ।
दोस्रो हाफको इन्जुरी समयमा सानेले व्यक्तिगत दोस्रो गोलगर्दै साविक विजेता सिटीलाई फराकिलो जित दिलाए । शिर्ष स्थानमा रहेको सिटीले जितसँगै १३ खेलबाट ३५ अंक बनाएको छ । १२ अंक बनाएको वेस्टहाम १३ औं स्थानमा छ ।
यसैगरी १० खेलाडीमा समेटिएको लिभरपुलले पनि आफ्नो घरेलु मैदानमा वाटफोर्डमाथि दवदवा नै कायम गर्यो । लिभरपुलको जितमा मोहमद सलाह, एलेक्जेन्डर आर्नोल्ड र रोबर्टो फिर्मिन्होले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेल दोस्रो हाफमा लिभरपुलको कब्जामा परेको थियो ।
६७ औं मिनेटमा सलाहको गोलबाट लिभरपुलले अग्रता लियो । ७६औं मिनेटमा आर्नोल्ड र ८९ औं मिनेटमा फिर्मिन्होले गोल गरे ।
८२औं मिनेटमा जोर्डन हेन्डरसनले दोहोरो पहेंलो ९रातो कार्ड० खाँदै बाहिरिएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो । तरपनि वाटफोर्डले गोल फर्काउन सकेन । लिगको दोस्रो स्थानमा रहेको लिभरपुलले १३ खेलबाट ३३ अंक जोडेको छ । २० अंक बनाएको वाटफोर्ड नवौं स्थानमा छ ।
अर्को खेलमा टोट्नहामले चेल्सीलाई ३–१ गोलले हरायो । टोटेनह्यामको जितमा डेल अलीले आठौं, हेरी केनले १६औं र हियुङ मिनसनले ५४औं मिनेटमा गोल गरे ।
चेल्सीका ओलिभर गिरोडले सान्तवना गोल फर्काएका थिए । गिरोडले ८५औं मिनेटमा गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरेपनि चेल्सीले थप गोल गर्न सकेन । चेल्सीमाथिको जितसँगै टोट्नहाम १३ खेलबाट ३० अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
लिगमा पहिलो हार खेपेको चेल्सी २८ अंकका साथ चौथो स्थानमा छ । एजेन्सी ।