महाराज परीक्षितको जन्मप्रसंग- महाभारतको रोचक कथा !

ऊ कुरुकुलको परिक्षीण (नाश) भएपछि उत्पन्न भएको थियो

मंसिर ०९,२०७५

-आस्था न्यूज

९ मंसिर २०७५ काठमाण्डौ l 

 

द्रौपदीलाई जब समाचार मिल्यो कि उसको पांचै पुत्रहरुको अश्वत्थामाले ह्त्या गरिदिएको छ, तब उनले आमरण अनशन गरिन् र भनिन् कि यो अनशन तबसम्म छोड्दिन, जबसम्म अश्वत्थामाको मस्तकमा सदैव रहीरहनेवाला मणि उसलाई प्राप्त हुँदैनl

 

तत्काल अर्जुन अश्वत्थामालाई समात्नको लागी निस्किएl अस्वत्थामा एवं अर्जुनबीच भीषण युद्ध प्रारंभ भयोl अश्वत्थामाले अर्जुनमाथि ब्रह्मास्त्रको प्रयोग गरे, यसको प्रतिकारस्वरूप अर्जुनलेपनि ब्रह्मास्त्र प्रहार गरेl नारद तथा महर्षि व्यासद्वारा सम्झाइंदा अर्जुनले आफ्नो ब्रह्मास्त्रको उपसंहार गरे, तर अस्वत्थामाले पांडवहरुलाई पूर्णरूपले नष्ट गर्ने उद्देश्यले अभिमन्युकी गर्भवती पत्नी उत्तरामाथि ब्रह्मास्त्र प्रहार गरेl

 

भगवान श्रीकृष्णले भन्नुभयो- “उत्तरालाई परीक्षित नामक बालकको जन्म हुने वर प्राप्त छl उसको पुत्र अवश्यनै जन्मिने छl नीच अस्वत्थामा यदि तेरो शस्त्रप्रयोगको कारण त्यो बालक मृत भएपनि म उसलाई जीवनदान दिनेछुl ऊ यस धराको सम्राट हुनेछ र तँ यति धेरै पापको भार बोकेर तीन हजार वर्षसम्म निर्जन स्थानहरुमा भट्किने छस्l तेरो शरीरबाट सदैव रगतको दुर्गन्ध नि:सृत हुनेछl तँ अनेक रोगहरुबाट पीड़ित हुनेछस्l”

 

महर्षि व्यासलेपनि भगवान श्रीकृष्णको यस कुरालाई अनुमोदन गरेl अर्जुनले अश्वत्थामालाई डोरीले बाँधेर द्रौपदीसामु ल्याएl द्रौपदीले दयार्द्र भएर उसलाई छोडिदिन आग्रह गरिन् तर भगवान श्रीकृष्णको प्रेरणा पाएर अर्जुनले उसको मस्तकबाट मणि निकालेर द्रौपदीलाई प्रदान गरेl

 

उत्तराको गर्भमा बालक ब्रह्मास्त्रको तेजले दग्ध हुन लाग्योl तब भगवान श्रीकृष्ण सूक्ष्मरूपले उत्तराको गर्भमा प्रवेश गरेl उनको त्यो ज्योतिर्मय सूक्ष्म शरीर बूढीऔंलाको आकार समान थियोl उनले चारै भुजामा क्रमशः शंख, चक्र, गदा, पद्म धारण गरेका थिएl कानमा कुंडल तथा नेत्र रक्तवर्णका थिएl हातमा प्रज्वलित अग्निसमान गदा लिएर त्यस गर्भस्थित बालकको चारैतर्फ घुमाइरहेका थिएl  

 

जुनप्रकार सूर्यदेव घना अन्धकारलाई हटाइदिन्छन्, त्यसैप्रकार त्यस गदालेपनि अश्वत्थामाद्वारा प्रहार गरिएको ब्रह्मास्त्रको अग्निलाई शांत गरिरहेको थियोl गर्भस्थित त्यो बालक त्यस ज्योतिर्मय शक्तिलाई आफ्नो चारैतर्फ घुमिरहेको हेरिरहेको थियोl उसले सोचीरहेको थियो कि यो के हो र कहाँबाट आएको हो? केही समयपश्चात् पांडव यज्ञको दीक्षानिमित्त राजा मरुतको धन लिनको लागी उत्तर दिशातर्फ गएका थिएl त्यसैबीच उनिहरुको अनुपस्थितिमा तथा भगवान श्रीकृष्णको उपस्थितिमा दस मासपश्चात् त्यस बालकको जन्म भयोl तर बालक गर्भबाट बहिर निस्कने बित्तिकै मृत भयोl बालकलाई मरेको देखेर रनिवासमा रुदन आरंभ भयोl शोकको समुद्र नै उम्लेर आयोl कुरु वंशलाई पिंडदान गर्नेवाला केवल एकमात्र यही बालक उत्पन्न भएको थियो, त्यो पनि रहेनl

 

कुंती, द्रौपदी, सुभद्राआदि सबै महान् शोक सागरमा डूबेर आँसू बगाउन लागेl उत्तराको गर्भबाट मृत बालकको जन्मको समाचार सुनेर भगवान श्रीकृष्ण तुरुन्तै सात्यकीलाई साथ लिएर अंत:पुरमा पुगेl त्यहाँ रनिवासमा करुण क्रंदन सुनेर उनको हृदयपनि पग्लेर आयोl यति धेरै करुण क्रंदन युद्धमा मारिएका पुत्रहरुका लागी सुभद्रा र द्रौपदीले गरेका थिएनन्, जति कि त्यस नवजात शिशुको मृत्युमा गरिरहेका थिएl

 

भगवान श्रीकृष्णलाई देख्नेबित्तिकै उनको चरणमा परी चीत्कार छोडेर विलाप गर्दै भनिन्- “हे जनार्दन! तिमीले यो प्रतिज्ञा गरेका थियौ कि यो बालक त्यस ब्रह्मास्त्रले मृत्युलाई प्राप्त हुँदैन तथा साट्ठी वर्षसम्म जीवित भएर धर्मपूर्वक राज्य गर्नेछl तर यो बालक त मृतावस्थामा छl यो तिम्रो पौत्र अभिमन्युको बालक होl हे अरिसूदन! यस बालकलाई आफ्नो अमृत भरिएको दृष्टिले जीवनदान देऊl”

 

भगवान श्रीकृष्णले सबैलाई सांत्वनाप्रदान गरी तत्काल प्रसूतिगृहमा गए र त्यहाँको प्रबंधको अवोकन गरेl चारैतर्फ जलले भरिपूर्ण घड़ा राखिएका थिए, अग्निपनि जलिरहेको थियो, घ्यूको आहुति दिइंदै थियो, श्वेत पुष्प र सर्सिऊँ झरेका थिए, चम्किरहेका अस्त्र-शास्त्र पनि राखिएका थिएl यस विधिले यज्ञ, राक्षस एवं अन्य व्याधिहरुसंग प्रसूतिगृहलाई सुरक्षित गर्नको लागी गरिन्छl उत्तरा भने पुत्रशोकको कारण मूर्छित भएकी थिइन्l

 

त्यसै समय द्रौपदीआदि रानीहरु त्यहाँ आएर भन्न लागिन्- “हे कल्याणी! तिम्रो सामुन्ने जगतको जीवनदाता साक्षात भगवान श्रीकृष्णचन्द्र, तिम्रो श्वसुर खड़ा हुनुहुन्छl होशमा आऊl” भगवान श्रीकृष्णले भन्नुभयो- “पुत्री! शोक नगरl तिम्रो यो पुत्र अहिले नै जीवित हुनेछl मैले जीवनमा कहिलेपनि असत्य बोलेको छैनl सबैको अगाडी मैले जे प्रतिज्ञा गरेको छु त्यो अवश्य नै पूरा हुनेछl झन् मैले तिम्रो यस बालकलाई गर्भमै रक्षा गरेको थिएं भला अब जन्मिसकेपछि उसलाई कसरी मर्न दिन्छु र?” यति भनिसकेपछि भगवान श्रीकृष्णले त्यस बालकमाथि आफ्नो अमृतमयी दृष्टि दिनुभयो र भन्नुभयो- “यदि मैले कहिलेपनि असत्य बोलेको छैन भने, सदा ब्रह्मचर्यव्रतको पालना गरेको भए, युद्धबाट कहिलेपनि पलायन नगरेको भए, मैले भूलले पनि अधर्म नगरेको भए अभिमन्युको यो मृत बालक जीवित हुनेछl”

 

भगवान श्रीकृष्णले यति भन्नासाथ मृत भएर लडिरहेको बालकले हातखुट्टा चलाउन थाल्यो र रुनपनि शुरू गर्योl भगवान श्रीकृष्णले आफ्नो सत्य र धर्मको बलले ब्रह्मास्त्रलाई पछाड़ी फर्काएर ब्रह्मलोकमा पठाइदिएl उनको यस अद्भुत कर्मले बालकलाई जीवित देखेर अंत:पुरकी सबै स्त्रीहरु आश्चर्यचकित भए र उनको वंदना गर्न लागेl  भगवान श्रीकृष्णले त्यस बालकको नाम ‘परीक्षित’ राखे, किनकी ऊ कुरुकुलको परिक्षीण (नाश) भएपछि उत्पन्न भएको थियोl

 

जब युधिष्ठिर फर्किएर आए र पुत्रजन्मको समाचार सुने तब उनी अति प्रसन्न भए र उनले असंख्य गाई, गाऊं, हात्ती, घोड़ा अन्नआदि ब्राह्माणहरुलाई दान दिएl उत्तम ज्योतिषीहरुलाई बोलाएर बालकको भविष्यको विषयमा प्रश्न गरेl ज्योतिषीहरुले बताए कि यो बालक अति प्रतापी, यशस्वी तथा इक्ष्वाकुसमान प्रजापालक, दानी, धर्मी, पराक्रमी र भगवान श्रीकृष्णचन्द्रको भक्त हुनेछl

 

एकजना ऋषिको श्रापको कारण तक्षक नामक नागद्वारा मृत्युभन्दा पहिले नै माया-मोहलाई त्यागेर गंगाको तटमा श्री शुकदेवजीसंग आत्मज्ञान प्राप्त गर्नेछl धर्मराज युधिष्ठिर ज्योतिषीहरुद्वारा बताइएको भविष्यफललाई सुनेर प्रसन्न भए र उनिहरुलाई यथोचित दान-दक्षिणा दिएर विदा गरेl त्यो बालक शुक्ल पक्षको चन्द्रमाको समान दिन-प्रतिदिन बढ़न लाग्योl धर्मराज युधिष्ठिरले राजा मरुतको जमीनमुनि गाड़िएको धन ल्याएर अश्वमेध यज्ञ गरेl भगवान श्रीकृष्णको देख-रेखमा यज्ञ निर्विघ्न संपन्न भयोl सबै कार्य पूर्ण भैसकेपछि भगवान श्रीकृष्ण द्वारिका फर्किएl