मंगल ग्रहमा 'इनसाइट' यानको सफल अवतरणपछि छायो खुशीको लहर
-
११ मंसिर २०७५ काठमाण्डौ l
बीबीसी। अमेरिकी अन्तरिक्ष निकाय नासाले पहिलो पटक मंगल ग्रहको भित्री भागसम्म अनुसन्धान गर्न एक अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गराएको जनाएको छ। 'इनसाइट' नाम दिइएको अन्तरिक्ष यानले निकै जोखिमपूर्वक रातो ग्रहको वायुमण्डलभित्र प्रवेश गरेको थियो। अवतरण गर्नुअघि त्यो यान प्रतिघन्टा २० हजार किलोमिटरसम्मको गतिमा अघि बढेको थियो।
सो रोबोट जडित यानको सहायताले मंगल ग्रहको भित्री भागको अध्ययन गर्ने योजना छ। त्यो सफल भएमा मंगल ग्रह, पृथ्वीपछि त्यस्तो अध्ययन गरिने दोस्रो ग्रह हुनेछ। 'इनसाइट' रोबोट ग्रेनिच समयानुसार १९स्५३ मा रातो ग्रहमा ओर्लिएको थियो। त्यो सफलताले चिन्ताजनक प्रतीक्षाको अन्त्य गराएको थियो जसमा रोबोटले जानकारीहरू श्रंखलाबद्ध रूपमा वैज्ञानिकहरुलाई प्रसारण गरिरहेको थियो।
मंगल ग्रहमा इनसाइट सफलतापूर्वक अवतरण गरेको र त्यो ठिकठाक रहेको पुष्टि भएपछि क्यालिफोर्नियास्थित नासाको प्रयोगशालामा वैज्ञानिकहरूले खुसीयाली व्यक्त गरेका थिए।
'इनसाइट' का परियोजना प्रमुख टम होफम्यानले अन्तरिक्ष यान अवतरण गर्ने बेला आफ्नो सासै रोकिएला जस्तो भान भएको प्रतिक्रिया दिए।
"यो एकदमै अविश्वसनीय रूपमा भावुक बनाउने क्षण थियो। म र यहाँ भएका हामी सबैजसो व्यक्तिले सात वर्षदेखि यो काममा लागिरहेका छौँ। 'इनसाइट' अवतरण गर्ने सात मिनेटको अवधिमा त मेरो मुटु नै रोकिए जस्तो भयो।"
अवतरण भएलगत्तै त्यो अन्तरिक्ष यानले मंगलग्रहको सतहको आफ्नो पहिलो तस्बिर पठाइसकेको छ। तस्बिरमा मंगल ग्रहको अव्यवस्थित भूबनौट देखिएको थियो।
उपकरण
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वैज्ञानिकहरूलाई बधाई दिएको बताइएको छ। 'इन्साइट' रोबोट यतिबेला मंगल ग्रहको भूमध्यरेखा नजिक रहेको फराकिलो समथर भूभाग एलिसियम प्लानिसियामा रहेको बताइएको छ।
अवतरण गर्नु अघि इनसाइट २० हजार किलोमिटर प्रतिघन्टा सम्मको गतिमा उडेको थियो। त्यो यान प्यारासुट र रेट्रो रकेटको सहयताले उत्रिएको थियो। त्यसमा भूकम्प र जमिनमुनीको तापक्रम नाप्ने कैयौँ युरोपेली उपकरणहरू समेत रहेका छन्।